ग्लोकलद्वारा प्रस्तुत ‘एनसेल ट्वेल्थ पास: द ग्लिच’ को पहिलो ब्याच सफलतापूर्वक सम्पन्न
काठमाडाैं । ग्लोकलद्वारा प्रस्तुत एनसेल ट्वेल्थ पास: द ग्लिचको पहिलो ब्याच सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई सशक्त बनाउँदै यो तीन दिने गेमिफाइड बुटक्याम्प हालै काठमाडौँमा आयोजना गरिएको थियो।
इम्बार्क कलेजद्वारा सञ्चालित यो कार्यक्रम सिकाई, रचनात्मकता, नवप्रवर्तन र व्यक्तिगत विकासका तीन रूपान्तरणकारी दिनहरूपछि सफलतापूर्वक सम्पन्न भएको हो।
यस बुटक्याम्पमा भर्खरै कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका ५० जना विद्यार्थीहरूलाई एकसाथ ल्याइएको थियो। उनीहरूलाई वयस्क जीवन र व्यावसायिक यात्रामा प्रवेश गर्न मद्दत गर्ने उद्देश्यले खेलमा आधारित तरिकाबाट भविष्यका लागि आवश्यक सीप र व्यावहारिक अनुभवहरू प्रदान गरिएको थियो।
यो अनौठो तीन दिने बुटक्याम्पलाई एक इमर्सिभ फ्लाइट प्लान अर्थात् उडान योजनाको रूपमा डिजाइन गरिएको थियो। यसले सहभागीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई, व्यक्तिगत ब्रान्डिङ, सामग्री लेखन तथा सिर्जना अर्थात् कन्टेन्ट क्रिएसन, वित्तीय साक्षरता, सञ्चार र करियर विकासमा आवश्यक क्षमताहरू प्रदान गर्यो।
पहिलो दिनको कार्यक्रम ‘चेक-इन र आइडेन्टिटी एभटार क्रिएसन’ थिममा सुरु भएको थियो। कार्यक्रमको सुरुवातमा सहभागीहरूले आफ्नो डिजिटल यात्राको सुरुवात स्वरूप आधिकारिक एनसेल सिम कार्ड र हाई-स्पीड डेटा प्याकहरू प्राप्त गरे।
एआई नीति अनुसन्धानकर्ता तथा प्रशिक्षक श्री चन्दन गुप्ताको नेतृत्वमा सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, प्रम्प्ट इञ्जिनियरिङ र डिजिटल पहिचान निर्माणको अन्वेषण गरे। नवीनतम एआई उपकरणहरूमार्फत सहभागीहरूले आफ्नै एन्टी-बायो विकास गरे र आफ्नो भविष्यको प्रतिनिधित्व गर्ने व्यावसायिक डिजिटल एभटारहरू सिर्जना गरे।
पहिलो दिनको समापन ‘प्रोफाइल शोकेस’ सँगै भयो, जहाँ सहभागीहरूले आफ्नो प्लेयर प्रोफाइलहरू प्रस्तुत गरे, जसले उनीहरूको आत्म-जागरूकता, आत्मविश्वास र एआई साक्षरतालाई बढावा दियो।
दोस्रो दिनको कार्यक्रम ‘द कनेक्सन – एनसेल डे’ थिममा सञ्चालन भएको थियो। नीरज न्यौपानेको सहजीकरणमा भएको उक्त दिनको सत्र डिजाइन थिङ्किङ, कन्टेन्ट क्रिएसन र भिजुअल ब्रान्डिङमा केन्द्रित थियो। सहभागीहरूले ‘एनसेल कनेक्टिभिटी च्यालेन्ज’ मा भाग लिए, जहाँ विभिन्न टोलीहरूले क्यापकट र एआई-सहायता प्राप्त रचनात्मक उपकरणहरू प्रयोग गरेर कन्टेन्टहरू अर्थात् सामग्रीहरू तयार गरे।
सहभागीहरूले आफ्ना सिर्जनाहरू सामाजिक सञ्जालमा प्रदर्शन र प्रकाशित गरे, जसले उनीहरूको व्यक्तिगत ब्रान्डिङ र डिजिटल स्टोरीटेलिङ सीपलाई बलियो बनाउँदै ठूलो संख्यामा अर्गानिक भिजिविलिटी अर्थात् प्राकृतिक पहुँच उत्पन्न गरायो।
तेस्रो तथा अन्तिम दिनको कार्यक्रम ‘द भल्ट एण्ड डिपार्चर’ थिममा वित्तीय साक्षरता, बजेटिङ, पब्लिक स्पिकिङ अर्थात् सार्वजनिक भाषण र करियर योजनामा केन्द्रित थियो। जस्वी श्रेष्ठ र ग्लोकल टोलीको सहजीकरणमा सहभागीहरूले ‘द काठमाडौँ सर्भाइभर एण्ड प्लान ट्रिप टु बाली’ नामक एक अन्तरक्रियात्मक रोल-प्लेइङ चुनौतीमा भाग लिए।
यसका साथै सहभागीहरूले एनसेल एपमार्फत सुरागहरू पत्ता लगाउँदै ट्रेजर हन्ट अर्थात् खजाना खोजी खेल पनि खेलेका थिए। यस आकर्षक सिमुलेसनले सहभागीहरूलाई बजेट व्यवस्थापन गर्न, डिजिटल घोटालाहरू पहिचान गर्न र एनसेल एपमार्फत एकीकृत गरिएका कार्यहरू सहित ट्रेजर हन्टको सुरागहरू समाधान गर्न चुनौती दिएको थियो। यस अनुभवले उनीहरूमा आलोचनात्मक सोच र समस्या समाधान गर्ने क्षमतालाई प्रोत्साहन गर्दै व्यावहारिक वित्तीय व्यवस्थापन सीपहरू प्रदान गर्यो।
यो कार्यक्रम एक विशेष दीक्षान्त समारोहका साथ समापन भयो, जहाँ सहभागीहरूले भविष्यका अवसरहरूका लागि आफ्नो तत्परता र उपलब्धिलाई प्रतिनिधित्व गर्ने ‘स्किल भिसा ग्रान्टेड’ को छापसहितको स्किल पासपोर्ट प्राप्त गरे।
भविष्यका लागि तयार युवाहरूको निर्माण गर्ने लक्ष्य बोकेको यस तीन दिनको अवधिमा सहभागीहरूले सेल्फ-अवेरनेस अर्थात् आत्म-जागरूकता, पर्सनल ब्रान्डिङ अर्थात् व्यक्तिगत ब्रान्डिङ, एआई मास्टरी, डिजाइन थिङ्किङ, कन्टेन्ट क्रिएसन, वित्तीय साक्षरता, बजेटिङ र पब्लिक स्पिकिङ जस्ता महत्वपूर्ण सीपहरू हासिल गरे।
अन्तिम दिन करियर मार्गदर्शन सत्र र ग्लोकल टिन हिरो साउथ एसिया २०२६ को परिचय पनि गराइएको थियो, जसले योग्य सहभागीहरूलाई अर्थपूर्ण सामाजिक प्रभाव र नेतृत्वका अवसरहरू पछ्याउन प्रोत्साहित गर्यो।













