‘चोभार सुख्खा बन्दरगाह’ पनि निजी क्षेत्रलाई नै चलाउन दिइने, ४५ दिने म्याद राखेर ग्लोबल टेन्डर आह्वान « Arthapath.com
९ श्रावण २०८०, मंगलवार

‘चोभार सुख्खा बन्दरगाह’ पनि निजी क्षेत्रलाई नै चलाउन दिइने, ४५ दिने म्याद राखेर ग्लोबल टेन्डर आह्वान



काठमाडौं । लामो समयदेखि प्रभावकारी रुपमा सञ्चालनमा आउन नसकेको चोभार सुख्खा बन्दरगाहा अन्तत: निजी क्षेत्रलाई जिम्मा लगाउने भएको छ ।

२०७८ चैत देखि सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहलाई हालसम्म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको नेपाल इन्टरमोडल यातायात विकास समिति सञ्चालन गरिरहेको छ । तर, त्यो प्रभावकारी देखिएको छैन । त्यसपछि सरकारले अन्य सुख्खा बन्दरगाहलाई जसरी चोभार सुख्खा बन्दरगाह पनि निजी क्षेत्रलाई नै सञ्चालन गर्न दिन लागेको हो ।

विकास समितिले यसका लागि सोमबार कम्पनी छनौट गर्ने सम्बन्धी अन्तराष्ट्रियस्तरको बोलपत्र (प्रस्ताव) आह्वानको सूचना गरेको छ । ४५ दिन (सेटेम्बर ८ तारिख) को म्याद राखेर विकास समितिले टेन्डर आह्वान गरेको हो । आर्थिक तथा प्राविधिक दृष्टिकोणले सक्षम ठहरिएका कम्पनी मार्फत बन्दरगाह सञ्चालन गराउनको लागि अन्तराष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको विकास समितिको भाइ छ ।

हाल देशका बिभिन्न ठाउँमा सञ्चालन रहेका अन्य ६ वटा सुख्खा बन्दरगाह निजी क्षेत्रले नै सञ्चालन गरिरहेका छन् । काकटभिट्टाको १, तातोपानीको १, बिरगञ्जको २, विराटनगरको १ र भैइरहवाको १ गरेर ६ वटा बन्दरगाह अहिले निजी क्षेत्रले नै सञ्चालन गरिरहेको छन् । सोही क्रममा चोभार सुख्ख बन्दरगाह पनि निजी क्षेत्रलाई नै जिम्मा दिन लागिएको हो । यसका लागि निजी क्षेत्रले निश्चित रकम सरकारलाई दिनुपर्छ । टेन्डर पेश गर्दा नै प्रस्तावक कम्पनीले दिने रकम बारे उल्लेख गर्नुपर्ने हुन्छ । त्यसको आधारमा पनि कम्पनी छनोट हुनेछ ।

बोलपत्रमा भाग लिनको लागि आवश्यक योग्यता पोर्ट मेनेजमेन्ट/कन्टेनर फ्रेट स्टेशन मेनेजमेन्ट/फ्रेट टर्मिनल मेनेजमेन्ट/वेयरहाउस/ट्रान्सपोर्टेशन/क्लियरिङ्ग एण्ड फरवार्डिङ्ग/फ्रेट फरवार्डिङ्गमा कम्तिमा ५ वर्षको अनुभव हुनु पर्नेछ । साथै, विगत ३ वर्षको औषत वित्तीय कारोवार कम्तिमा ६० लाख रुपैयाँ बराबरको हुनु पर्ने प्रावधान राखिएको विकास समितिको भनाइ छ ।यसअघि नै चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रलाई नै दिने नीति ल्याइसकिएको छ । त्यसअनुसार पनि निजी क्षेत्रलाई नै दिने गरि टेन्डर आह्वान गरेको विभागको भनाइ छ ।

चोभार सुक्खा बन्दरगाह सीमानाकाबाट टाढा रहेको सुक्खा बन्दरगाह भएकोले यहाँबाट हुने ट्राफिक फ्लो तथा वित्तीय कारोबारको विषयमा एकीन गर्न सकिने अवस्था छैन । सोही कारण २०७८ चैत्र २२ गते देखि समिति आफैले स्टप ग्याप अग्रिमेन्टको रुपमा यसको सञ्चालन गर्दे आएको छ । समिति एक नियमनकारी निकाय भएकोले सधैं भरि आफैले चलाउने कुरा आउदैन । सोहीअनुसार करीव १५ महिनाको अवधि आफैले सञ्चालन गरे पश्चात ट्राफिक फ्ला तथा वित्तीय कारोबारको विषयमा एकीन सहज भएको कारण चोभार सुक्खा बन्दरगाह पनि निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन गराउन लागिएको बताईएको छ ।

सुख्खा बन्दरगह/एकीकृत जाँच चौकी सञ्चालक कम्पनी छनौटको लागि समितिको छुट्टै टर्मिनल पट्टा वहालमा दिने सम्बन्धी नियमावली, २०७० रहेकोछ । उक्त नियमावली अनुसार सञ्चालक कम्पनीको छनौट प्रस्तावदाताहरुको प्रस्तावित प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कन विधिबाट गर्ने गरिएको छ ।

यस्तै, चोभार सुक्खा बन्दरगाहको लागि छनौट हुने कम्पनीको विज्ञता प्रयोग गरी यो सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन भएपछि सो सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउने र व्यापार सहजीकरण चुस्त, छिटो छरितो र किफायति हुने छ भन्ने विश्वास समितिले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्