पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान हुने, खुल्याे टिकट बुकिङ
काठमाडौँ । पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि इच्छुक यात्रुहरूले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट तथा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्ने गरी बुकिङ खुला गरिएको छ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा १ जनवरी २०२३ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान भने हुन सकेको थिएन। यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडानहरू मात्र सञ्चालन भएका थिए।
नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई सेवा सुरु हुन नसक्दा विमानस्थलको प्रभावकारी उपयोगबारे निरन्तर प्रश्न उठ्दै आएको थियो। अब दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन लागेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवाको ढोका खोल्न सफल भएको छ।
लामो पर्खाइपछि दुबईका लागि नियमित उडान सुरु हुन लाग्नु पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन, व्यापार तथा आर्थिक विकासका लागि एउटा ऐतिहासिक उपलब्धि मानिएको छ।














