मुगु र बाजुराका विकट क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले मुगु र बाजुराका अति दुर्गम हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ।
कम्पनीले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ अन्तर्गत नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
सोरुकोटमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा पुगेकोलाई ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगोपना र आवश्यकता अनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाल टेलिकमका अनुसार बाजुराको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोला तथा आसपासका गुम्बा क्षेत्रसम्म नेटवर्क पुगेको छ। साथै बाजुराबाट रानिसैन जाने पदमार्ग र कुवाडी क्षेत्र हुँदै हुम्लाको ताँजाकोट–२ जाने मार्गसमेत फोरजी कभरेजमा समेटिएको कम्पनीले जनाएको छ।
फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस कल तथा एसएमएस सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन्। यसले सूचना, शिक्षा, स्वास्थ्य, सरकारी सेवा तथा स्थानीय आर्थिक–सामाजिक गतिविधिमा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।













