सेयर लगानीकर्तालाई भ्रामक हल्लाको पछि नलाग्न अर्थमन्त्रीको सचिवालयको आग्रह « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

सेयर लगानीकर्तालाई भ्रामक हल्लाको पछि नलाग्न अर्थमन्त्रीको सचिवालयको आग्रह



काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारसम्बन्धी भ्रामक तथा प्रायोजित हल्लाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गरेको छ।

यसैबीच सचिवालयले आज एक अपील जारी गर्दै बजारमा नियमनकारी निकायलाई प्रभावित पार्ने प्रयास गर्ने तथा कृत्रिम रूपमा भ्रम सिर्जना गर्ने गतिविधिमाथि अनुसन्धान भइरहेको जनाएको छ।

बजारमा केही व्यक्तिलाई पक्राउ गर्न लागिएको वा अनुसन्धान भइरहेको भन्ने हल्ला निराधार रहेको पनि सचिवालयले स्पष्ट पारेको छ। नयाँ सरकार बनेयता सेयर बजारमा भइरहेको गिरावट र लगानीकर्तामा देखिएको आक्रोशलाई सम्बोधन गर्दै बजारको अवस्था ठिक नभएको भनी गलत भाष्य निर्माण गर्न खोजिएको सचिवालयको दाबी छ।

सचिवालयले सेयर बजार सुधारका लागि नियामक निकायमार्फत योजनाबद्ध कामहरू अघि बढेको जनाएको छ।

यस्तै, आधिकारिक जानकारीका लागि सामाजिक सञ्जाल, क्लब हाउस, ह्वाट्सएप वा अन्य अनौपचारिक समूहको भर नपर्न पनि आग्रह गरिएको छ। लगानी निर्णय गर्दा सरकारी स्रोतबाट जानकारी लिएर पर्याप्त अध्ययन गर्न पनि सचिवालयले सुझाव दिएको छ।

त्यसैगरी, अर्थतन्त्रका प्रमुख सूचकहरू सुधारोन्मुख रहेको, बजारमा पर्याप्त तरलता, घट्दो ब्याजदर, स्थिर सरकार तथा नियामक निकायमा सक्षम नेतृत्वले लगानी वातावरण सकारात्मक बन्दै गएको सचिवालयको दाबी छ।

Tags :

प्रतिक्रिया दिनुहोस्