बीमा समितिको निर्देशनले यी ४ बीमा कम्पनी दबाबमा « Arthapath.com
२४ पुष २०७८, शनिबार

बीमा समितिको निर्देशनले यी ४ बीमा कम्पनी दबाबमा



काठमाडौं । कुनै पनि बीमा कम्पनीमा ३ महिना भन्दा लामो सयम प्रमुख कार्यकारी अधिकृत विहीन राख्न नपाइने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पहिलो संशोधन २०७८ जारी गर्दै बीमा समितिले बीमकमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले ३ महिनाभित्र नियुक्त गरिसक्न निर्देशन दिएको हो । पद रिक्त भएको लामो समयसम्म नयाँ नियुक्ति हुन नसक्दा बीमकको व्यवस्थापन तथा सञ्चालनमा असर पर्ने भएकाले यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ ।

बीमा समितिले उक्त निर्देशिका जारी गरेपछि विभिन्न चार बीमा कम्पनी दबाबमा परेका छन् । जसमा हाल विभिन्न ४ कम्पनी नेपाल लाइफ, रिलायन्स लाइफ, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीमा सीईओ पद रिक्त रहेको छ । बीमा समितिले जारी गरेको निर्देशन अनुसार अब यी कम्पनीले ३ महिनाभित्रमा सीईओ नियुक्ति गरिसक्नुपर्नेछ । 

नेपाल लाइफ इन्स्योरेन्सका तत्कालीन सीईओ सन्तोष प्रसाईँले राजीनामा दिएपछि २१ कात्तिकदेखि सीईओ विहीन छ । कम्पनीले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुशील कुमार चौधरीलाई दिएको छ । नेपाल लाइफले सीईओ पराजुलीलाई तान्ने प्रयास गरिरहेको छ । तर उक्त प्रयास असफल हुने देखिएको छ । पराजुलीको ६ महिना कुलिङ पिरियड हुन्छ । ६ महिनापछि मात्रै उनले कुनै पनि कम्पनीको सीईओको रुपमा काम गर्न पाउनेछन् । नेपाल लाइफले पराजुलीलाई ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा नियुक्त गरेर पछि सीईओ बनाउने योजना थियो । बीमा समितिको निर्देशनले उक्त योजना पनि सफल नहुने भएको हो । नेपाल लाइफको सञ्चालक समितिले कात्तिक २१ गते कार्यवाहक कार्यकारी अधिकृतमा चौधरीलाई नियुक्त गरेको थियो । 

त्यस्तै, नेपाल इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीर कृष्ण महर्जन कार्यरत छन् । कम्पनीको सीईओ बन्नको लागि महर्जनले प्रुडेन्सियल इन्स्योरेन्सबाट कार्यकाल सकिन दुई महिना बाँकी रहँदा राजिनामा दिएर नेपाल इन्स्योरेन्समा आएका थिए । सीईओमा बिकेलाई नियुक्त गर्ने सञ्चालक समितिको तयारी छ । निवर्तमान सीईओ विजय बहादुर शाहले ८ साउनमा कार्यकाल सकिएको थियो । कुलिङ पिरियड नसकिदै महर्जनलाई कम्पनीले कात्तिक ७ गते कामु सीईओ जिम्मेवारी दिएको थियो । 

यता रिलायन्स लाइफ इन्स्योरेन्सबाट आफ्नो कार्यकाल सकेर प्रविण रमण पराजुली बिदा भएका छन् । पराजुली बाहिरिएपछि कम्पनी सीईओ विहीन छ ।  निरज कँडेललाई कामु सीईओको जिम्मेवारी दिइएको छ । 

यता, राष्ट्रिय बीमा कम्पनीमा पूर्व प्रमुख कार्यकारी अधिकृत डिल्ली राज अर्याल भदौ महिनामा बाहिरिएका थिए । उनको बिदा पछि सुवास कोइराला निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिस्टमा छ । कम्पनीको पौष ९ गते बसेको पदपूर्ति सिफारिस उपसमितिको बैठकले सीईओ पदका लागि आवेदन दिएकाहरुमध्येबाट ५ जनालाई सर्ट लिस्टमा सार्वजनिक गरेको थियो । सीईओ पदका लागि १५ दिनभित्र आवेदन दिन भन्दै कम्पनीले मंसिर १२ गते विज्ञापन खुलाएको थियो । उक्त पदका लागि विभिन्न ११ जनाले आवेदन दिएका थिए । कम्पनीले छिट्टै सीईओ पाउनेछ । 

बीमा समितिका अनुसार बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार नै बीमा कम्पनीहरूले ३ महिनाभित्र सीईओ नियुक्ति गरिसक्नुपर्नेछ । उक्त निर्देशन कार्यान्वयन नगरेमा कारवाही गर्ने बीमा समितिको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्