कृषि बीमाको ७५ करोड अनुदान वितरण: दोस्रो चरणमा ४० करोड भुक्तानी हुने, स्थगित सेवा पनि सुरु « Arthapath.com
५ असार २०८०, मंगलवार

कृषि बीमाको ७५ करोड अनुदान वितरण: दोस्रो चरणमा ४० करोड भुक्तानी हुने, स्थगित सेवा पनि सुरु



काठमाडौं । कृषि तथा पशुपक्षी बीमाको अनुदान रकम वितरण भएको छ । सरकारले उलपब्ध गराउने कृषि तथा पशुपक्षी बीमाको अनुदान रकम नेपाल बीमा प्राधिकरणले वितरण गरेको हो ।

प्राधिकरणले पहिलो चरणमा ७५ करोड रुपैयाँ सो अनुदान बापत निर्जीवन बीमा कम्पनीहरुलाई वितरण गरेको छ । सो रकममध्ये कृषि बाली तर्फ ५ करोड रुपैयाँ र पशुपक्षी बीमातर्फ ६९ करोड रुपैयाँ वितरण भएको हो ।

प्राधिकरणका अनुसार ६० हजार बीमालेखलाई सो रकम भुक्तानी गरिनेछ । अघिल्ला वर्षको असारमसान्तसम्म जारी भएका बीमालेखहरुलाई भुक्तानी भएको हो । सरकारबाट भुक्तानी हुने कृषि तथा पशुपक्षी बीमाको अनुदान रकम पहिलो चरण ७५ करोड दिइएको नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक राजुरमन पौडेलले बताए ।

उनका अनुसार जसमध्ये ६९ करोड ८८ लाख पशुपक्षी तर्फ र ५ करोड १२ लाख रुपैयाँ कृषि बाली तर्फ वितरण हुनेछ । उनले भने,– कृषि बीमाको अनुदान बापत पहिलो चरणमा ७५ करोड रुपैयाँ वितरण भएको छ । दोस्रो चरणमा ४० करोड रुपैयाँ वितरण गर्ने तयारी छ, अब छिट्टै भुक्तानी हुनेछ ।’

प्राधिकरणका अनुसार बाँकी रकम चरणवद्ध रुपमा वितरण हुने भएको हो । अहिले डेटा भेरिफीकेशन भईरहेको प्राधिकरणले जनाएको छ । कृषि बीमाको अनुदान बापत ३ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

सरकारले लामो समयदेखि कृषि बीमाको अनुदान नदिएपछि निर्जीवन बीमा कम्पनीहरुले गत जेठ ७ गतेबाट यसको कारोबार स्थगित गरेका थिए । यसमा नयाँ बीमापोलिसी पनि जारी गरिएको छैन । साथै, दावी भुक्तानी पनि रोकिएको थियो । अनुदान भुक्तानी हुन् थालेपछि निर्जीवन बीमा कम्पनीहरुले बीमा सेवा पनि सुरु गरेका छन् । असार मसान्तभित्र कृषि बीमाको अनुदान रकम उपलब्ध गराउन बीमक कम्पनीहरुले माग गरेका छन् । सो अवधिसम्म अनुदान रकम प्राप्त नगरे फेरि पनि कृषि बीमाको पोलेसी बन्द गर्ने उनीहरुको भनाई छ ।

सरकारले कृषि तथा पशुबीमामा लाग्ने शुल्कमा ८० प्रतिशत अनुदान दिने गर्छ । त्योअनुसार कम्पनीले सम्बन्धीत ग्राहक (किसान) बाट २० प्रतिशत मात्रै शुल्क उठाउछन्, बाँकी पैसा सरकारले नै दिनुपर्ने हुन्छ । तर, त्यसबापतको रकम सरकारले लामो समयदेखि भुक्तानी गरेको छैन । नेपाल बीमक संघका अनुसार सरकारले अनुदान बापत २ अर्ब ९४ करोड ५८ रुपैयाँ दिनुपर्नेछ ।

कसले कति पाउन बाँकी ?

नेपाल बीमक संघका अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले पाउनुपर्ने देखिएको छ । शिखरले कृषि बीमाको दावी बापत सरकारबाट पाउनुपर्ने रकम ५९ करोड ३८ लाख रुपैयाँ बढी देखिएको छ ।

आइजीआई प्रूडेन्सियलको ४९ करोड ८७ लाख रुपैयाँ पाउनुपर्ने देखिएको छ । यस्तै, एनएलजी इन्स्योरेन्सको ३३ करोड ७७ लाख, नेको इन्स्योरेन्सको ३० करोड १९ लाख, सगरमाथा लुम्बिनी (सलिको) को २३ करोड ३४ लाख रुपैयाँ सरकारबाट पाउनुपर्नेछ ।

त्यसैगरि हिमालयन एभरेष्टले १६ करोड ५६ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर १५ करोड ९६ लाख, साविकको अजोडले १५ करोड ९२ लाख, नेपाल इन्स्योरेन्सले ११ करोड १६ लाख र ओरिण्टलले १० करोड ६८ लाख रुपैयाँ रकम पाउनेपर्ने देखिएको छ ।

यता, सानिमा जिआईसीले ९ करोड ७७ लाख, साविकको युनाईटेड इन्स्योरेन्सले ९ करोड २ लाख, प्रभुले ६ करोड ४२ लाख र राष्ट्रिय बीमा कम्पनीले २ करोड ५० लाख रुपैयाँ कृषि बीमा अनुदान बापतको भुक्तानी पाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्