एक कम्पनीलाई सिङ्गो जीवन समर्पण गरेका सुरेश खत्रीको ‘सन्देश’ « Arthapath.com
१० फाल्गुन २०८०, बिहीबार

एक कम्पनीलाई सिङ्गो जीवन समर्पण गरेका सुरेश खत्रीको ‘सन्देश’



सुरेश खत्री, सीईओ, नेशनल लाइफ इन्स्योरेन्स ली.

आफ्नो जीवनको अधिकांश ऊर्जाशील समय एउटै कम्पनीका लागि खर्चने व्यक्तिहरूलाई सम्मान गर्ने कर्पोरेट संस्कार अचेल संस्थागत हुन थालेको छ । अधिकांश कम्पनीले यस्तो सम्मानलाई ‘दीर्घ सेवा पदक’ वा यस्तै नाम दिने गरेका छन् । तर कतिपय पात्र यस्ता हुन्छन्, जो यस प्रकारको श्रेष्ठ पदक होइन, कम्पनीको श्रेष्ठतम् पद नै हासिल गर्छन् । 

सुरेश खत्री तिनै पात्रमध्येका एक हुन् । उनले नेशनल लाइफ इन्स्योरेन्समा तीन दशक गुजारे र अहिले उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् । ‘मेरो जीवनको पहिलो र अन्तिम जागिर यही हुने छ’ उनी भन्छन् । उनीजस्ता कयौँ व्यक्तिले सिङ्गो जिन्दगी समर्पित गरिदिएको यो कम्पनी आज ३७ औँ वार्षिकोत्सव मनाउँदै छ । 

२०४४ साल फागुन १० गते स्थापना भएको यो कम्पनीले ३६ वर्ष पुरा गरेको छ । कम्पनी स्थापनाको ६ वर्षपछि ‘एजुकेटिभ असिस्टेन्ट’ पदमा प्रवेश गरेका खत्री अहिले सीईओ बनेका छन् । यसबिच उनले र कम्पनीले पनि थुप्रै उतारचढाव भोगे । 

काठमाडौँको विशाल नगरमा जन्मिएका खत्रीका लागि पक्कै पनि बीमा क्षेत्र ‘पहिलो रोजाइ’ होइन । उनी त बन्न चाहन्थे नेपाली सेनाको जर्नेल । ‘जय महाकाली, आयो गोर्खाली’ भन्दै युद्ध मोर्चामा हुँकार भर्न चाहन्थे । संसारका कुनाकुनामा शान्ति स्थापनाका लागि योगदान गर्न चाहन्थे । परिआए देशका लागि बलिदान गर्न चाहन्थे । 

तर काठमाडौँमै जन्मेहुर्केका उनको परिवारमा अनौठो ‘करियर प्लानिङ’ भयो । चार दाजुभाइ भएको यो परिवारमा हरेक छोराहरू अलग अलग पेसामा लाग्ने वातावरण बन्यो । ‘मेरो जेठो दाइ इन्जिनियर, माइलो दाइ डाक्टर, साइँलो दाइ नेपाली सेनामा कर्णेल हुनुहुन्छ’, उनी भन्छन्, ‘म कान्छो हुँ । म कानुनी आधारबाट यो कम्पनीमा छिरेको थिएँ ।’ उनीहरूकी एक बहिनी छन्, उनी डाक्टर छिन् । 

‘बुबाले मलाई वकिल लाइनतिर पठाउन चाहनु भएको थियो । मलाई त्यो क्षेत्र खासै राम्रो लागेन’ खत्रीले भने, ‘मेरो प्रबल चाहना सेनामा भर्ती हुने थियो । तर साइँलो दाइले आइएससी पढेको थियो । पछि ऊ सेनामा भर्ती भएपछि म त्यो सोचबाट पछि हटेँ ।’ ‘कान्छो छोरो, आमाको प्यारो’ भनिन्छ । तर कहिलेकाहीँ कान्छो हुनुका बेफाइदा पनि छन्, जुन खत्रीले भोगे । 

आफूले खुट्टा उचाल्न नपाउँदै दाइले सेनाको फुली लगाएपछि उनी स्नातक पढ्दापढ्दै तत्कालीन ‘नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीमा जागिरे भए । त्यस बेला जीवन र निर्जीवन दुवै खाले व्यवसाय एउटै कम्पनीले गर्थ्यो । 

‘त्यसपछि यहीँ (जागिर) निरन्तर भयो । मैले ३० वर्षको करियरमा अर्को संस्थामा जागिर खोजिन’, उनले भने । बरु यसबिचमा कम्पनी चाहिँ छुट्टा भिन्न भयो । तर २०६३ सालमा कम्पनी छुट्टियो । जीवन र निर्जीवन बीमा गर्ने अलग अलग कम्पनी बने । त्यस बेला पुराना र वरिष्ठ कर्मचारीहरू निर्जीवन बीमामा बढी अनुभवी भएका कारण त्यतैतिर लागे । 

जीवन बीमातिर वरिष्ठ कर्मचारीको कमी थियो । त्यसै अवसरको लाभ उठाउन खत्री सफल भए । ‘म त्यस बेला नै एक विभागीय प्रमुखका रूपमा जीवन बीमातर्फ आएँ’, उनी भन्छन्, ‘त्यसले गर्दा मेरो ग्रोथ (वृत्ति विकास) चाँडो भयो ।’ 

सफलताको सिँढी 

३० वर्षअघि मासिक २५०० तलब लिने खत्री अहिले सीईओ बनेजस्तै कम्पनीले पनि लगातार सफलता प्राप्त गरिरहेको छ । अनेक खुट्किला पार गर्दागर्दै यहाँसम्म पुगेको छ । खत्री आफ्नो स्वच्छन्द निर्णयलाई होइन, संस्थाको संस्कार र अग्रजहरूको मार्गदर्शनलाई ‘आदर्श’ मान्छन् । ‘उहाँहरूले जे सिकाउनु भयो, म आज पनि त्यसकै परिपालना गरिरहेको छु । उहाँहरू निकै अनुभवी हुनुहुन्थ्यो । उहाँहरूले कम्पनीलाई एकदम परिपक्व हिसाबले अघि सारिसक्नु भएको थियो’, उनी भन्छन् ।  

‘सेट’ भइसकेको कम्पनीमा आएर नेतृत्व गरेका उनलाई खासै अप्ठेरो परेन । प्रणालीहरू स्थापित भइसकेको र उनी आफैँ पनि ३० वर्षको अनुभव बोकेर नेतृत्वमा आउँदा कम्पनी हाँक्न कुनै समस्या हुने कुरै थिएन । फेरि पनि उनी भन्छन्, ‘म त पछि आएको मान्छे हो ।’ एक आदर्श छोराले आफ्ना मातापितालाई गर्ने सम्मान, अपनत्व र कर्तव्यनिष्ठ व्यवहार जस्तो हुन्छ, उनले कम्पनी र अग्रजहरुलाई गर्ने सम्मान उस्तै छ । यसैलाई उनी आफ्नो संस्थाको ‘संस्कार’ भन्छन् । 

‘हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण भनेको अनुशासन हो । अनुशासन हरेक व्यक्तिमा हुनुपर्छ । त्यो संस्कारबाट हुर्किएका कारण हामीलाई काम गर्न असाध्यै सहज छ । सबै कर्मचारी अत्यन्त सहयोगी हुनुहुन्छ । यो संस्कारको प्रभाव कर्मचारी मात्रै होइन, अभिकर्ताहरूमा पनि परेको छ’ उनी भन्छन् । उनको नजरमा कम्पनीका लगानीकर्ताहरू सबैभन्दा परिपक्व छन् । जसले गर्दा कम्पनी ‘आजभन्दा भोलि राम्रो, भोलिभन्दा पर्सि राम्रो’ भइरहेको उनको बुझाइ छ । 

प्रतिस्पर्धाको रणनीति

एउटा बीमालेखको औसत अवधि १५ वर्ष मान्ने हो भने कम्पनीले ‘दुई साइकल’को अनुभव हासिल गरेको छ । यो अनुभव मात्रै होइन, समग्र बीमा उद्योगप्रति नै जनविश्वास जागृत गर्ने योगदान पनि हो । कम्पनीले अहिले मासिक ३० देखि ४० करोडको नयाँ बीमा गर्नमा सबैभन्दा बढी भूमिका ‘अभिकर्ताहरूको रहेको’ सीईओ खत्री बताउँछन् । 

‘उहाँहरू (अभिकर्ता)ले हामीलाई व्यवसाय दिइरहनु भएको छ । साँच्चै बीमा गर्ने ग्राहकलाई हाम्रो कम्पनीमा तानिरहनु भएको छ । यसले कम्पनीलाई स्थिर वृद्धिमा लैजान भूमिका खेलेको छ’, उनी भन्छन् । तर उनी आफ्नो कम्पनी प्रतिस्पर्धाको दौडमा नरहेको बताउँछन् । 

‘मेरो विचारमा १ नम्बर र २ नम्बर भनेर प्रतिस्पर्धाको नम्बरिङ गर्नु जरुरी होइन’ उनी भन्छन्, ‘हामीले सही किसिमले बीमित र अभिकर्ता साथीहरूलाई समेट्न अधिकतम प्रयास गर्ने हो । त्यसले कुनै न कुनै दिन कम्पनीलाई ‘नम्बर १’ बनाउँछ । त्यो क्षणिक अवधिका लागि होइन, दीर्घकालसम्मै कायम रहने छ ।’

अहिले नै नम्बरको प्रतिस्पर्धामा होमिएर पहिलो र दोस्रोको होडबाजीमा लागियो भने त्यसैले बेथिति भित्र्याएर भविष्यमा खराब परिणाम आउन सक्ने उनी बताउँछन् । ‘त्यो भने त्यसले कुनै अर्थ राख्दैन । त्यस कारण सही किसिमले बिस्तारै बढ्दै गयो भने एक दिन चुचुरोमा पुगिन्छ भन्ने हाम्रो बुझाइ छ’, उनी थप्छन् ।  

विगतमा यस्तै अस्वस्थ प्रतिस्पर्धाबाट प्रभावित रहेर सही एवम् दिगो व्यवसायमा ध्यान दिएका कारण आज आफूहरू राम्रो हालतमा पुगेको उनको बुझाइ छ । ‘अहिले हामी २–४ वर्षदेखि प्रिमियमका आधारमा दोस्रो स्थानमा छौँ’, उनी भन्छन्, ‘तर यसबाट हौसिएर हामीले आवश्यक प्रत्याभूति (अन्डरराइट) गर्न सकेनौँ, दाबी भुक्तानीलाई सही समयमा दिन सकेनौँ भने दीर्घकालमा त्यसको ‘ब्याक फायर’ पछि हुन्छ ।’ 

विगत र वर्तमान

‘जीवन बीमा व्यवसाय भनेको अल्पकालीन व्यवसाय होइन । यो दीर्घकालीन व्यापार हो । यस्तो कम्पनीमा जो कोही नेतृत्वमा आउँदा चमत्कार हुँदैन’, उनले भने, ‘आज कम्पनी राम्रो स्थितिमा पुगेको छ भने त्यसको श्रेय हिजोको नेतृत्वलाई जान्छ ।’  

विगतका नेतृत्व र कर्मचारीको सुझबुझ एवम् कुशल व्यवस्थापनले गर्दा नै कम्पनीले आज राम्रो परिणाम दिन सकिरहेको उनले बताए । त्यसलाई निरन्तरता दिने प्रयत्न मात्रै आफूले गरिरहेको उनको तर्क छ । एउटै बीमितको १५–२०–२५ वर्षसम्मको बीमा हुने कारणले गर्दा जीवन बीमा कम्पनीहरूले दीर्घकालीन रणनीतिहरू बनाएर काम गर्नुपर्छ ।  

त्यसो त, उनी आफैँ भन्छन्, ‘म त अझ पनि प्राविधिक रूपमा असाध्यै दक्ष व्यक्ति होइन । मेरो विशेषज्ञता प्रशासनिकतर्फ हो ।’ यद्यपि उनको दक्षताले होइन, अहिले समयले नै केही अप्ठेरा परिस्थिति जन्माइरहेको छ । आर्थिक मन्दीका अभिकर्ताहरूले व्यवसाय विस्तारमा लगानी गर्न सकेका छैनन् । 

अभिकर्ताको पुरानो पैसा नउठेका कारण अहिले थप लगानी गर्न असहज भएको छ । कतिपय पुराना ग्राहकले बीमा सरेन्डर गरेका कारण अभिकर्ताको आम्दानी खुम्चिएको छ । अर्कातर्फ सहकारीहरूमा समस्या हुँदा बीमा कम्पनी बढी प्रभावित बनेका छन् । 

‘अभिकर्ता र बीमिति ग्राहकले सहकारीमा पैसा जम्मा गरेर त्यसको सावाँ ब्याजबाट बीमा गर्ने, गराउने काम गर्थे’, उनी भन्छन्, ‘अभिकर्ताहरूले ग्राहक बनाउने, बीमाका लागि केही रकम सापट दिने जस्ता लगानीको बन्दोबस्त गर्दै आएका थिए । त्यसमा पनि मन्दी आएको छ ।’

जीवन बीमा कम्पनीको मेरुदण्ड नै अभिकर्ता हुन् । तर अहिले अभिकर्ताहरूले परीक्षा दिनुपर्ने नयाँ व्यवस्थाका कारण पनि केही अड्चन आउन सक्ने आङ्कलन धेरैले गरेका छन् । ‘त्यसले प्रोफेसनल एजेन्ट उत्पादन हुने अवस्था छ । तर त्यो व्यवस्था कार्यान्वयन गर्नका लागि केही समयावधि लाग्छजस्तो देखिएको छ’, खत्री भन्छन् । 

यसै पनि अहिले बीमा कम्पनीहरूलाई एजेन्ट (अभिकर्ता) बनाउन गाह्रो थियो । अब झनै परीक्षा दिनुपर्ने भनेपछि त ‘समातेरै ल्याउनु पर्ने’ अवस्था आएको उनले बताए । त्यो गर्दा पनि ‘भाग्ला की’ भन्ने डर भयो । यस्तो अवस्थाले कम्पनीहरूलाई बजारमा पुग्न र मानिसहरूलाई बीमाको पहुँचमा जोड्न सुरुआत दिनमा केही अप्ठेराहरू देखा पर्न सक्ने आङ्कलन उनको छ । 

पुराना एजेन्टहरू ‘स्याचुरेटेड’ भएर जान्छन् । नयाँ एजेन्ट बनाउन अलि गाह्रो हुन्छ  । यद्यपि, पहिलेभन्दा अहिले परीक्षा दिनेहरूको सङ्ख्या बढ्न थालेको उनी बताउँछन् । तसर्थ, मन्दीको कारण पर्ने केही अप्ठेरालाई छाड्ने हो भने अहिले कुनै समस्या नभएको उनको बुझाइ छ । 

बीमा व्यतीत र समर्पण 

आर्थिक मन्दी र सहकारी समस्याका करण भने अहिले बीमा क्षेत्रले ठुलै धक्का सहनु परेको छ । ‘यति ठुलो अनुपातमा बीमा समर्पण (सरेन्डर)भइरहेको यो पहिलो घटना हो’, खत्री भन्छन्, ‘यसअघि हुने सरेन्डरका घटनामा कतिपय व्यथितिहरु थिए । केही कम्पनीले गलत अभ्यास गरेको पनि देखिएको थियो । तर अहिले तिनै कम्पनीमा बढेको सरेन्डरमा पनि उनीहरूको गल्तीभन्दा समग्र आर्थिक परिदृश्यमा देखिएको समस्या नै मुख्य कारण भएको छ ।’

सहकारीहरूमा देखिएको समस्या र निक्षेपकर्ताको पैसा फिर्ता हुन नसक्नुले अहिले मन्दीको स्थिति बनेको हो भन्ने उनलाई लाग्छ । बचतकर्ताहरूले सावाँ ब्याज नै नपाएपछि बीमाको प्रिमियम तिर्नुको साटो उल्टै आफ्नो घर व्यवहार चलाउन पैसा निकाल्ने अवस्था बनेको छ । यही क्रममा आफ्नो पैसा कहाँकहाँ छ भनेर खोज्दै जाने अवस्था छ । ‘बीमामा पनि पैसा छ’ भनेपछि बीमितहरुले सरेन्डर गर्ने परिपाटी बढेको हो । 

‘कि बीमालेखको जमानतमा ऋण निकाल्ने, नभए बीमालेख नै समर्पण गरेर पैसा लिने परिपाटी बढी भएको छ’, उनी भन्छन्, ‘समयमै प्रिमियम नतिर्ने अर्थात् व्यतीत (ल्याप्प) बीमालेखको सङ्ख्या पनि केही हदसम्म बढेको देखिन्छ ।’ तर आफ्नो कम्पनीमा त्यस प्रकारको समस्या नभएको उनी बताउँछन् ।  

यसो हुनुमा कम्पनीहरूको बीमा रणनीति पनि जिम्मेवार रहेको उनी मान्छन् । कतिपय कम्पनीले ठुलो रकमको बीमालेखलाई मात्रै बढी ध्यान दिएका थिए । त्यस्तो अवस्थामा बीमा व्यतीतको घटना बढी देखिएको उनको बुझाइ छ । 

‘तर हामीले १ लाख, २ लाखको ससाना बीमालेख पनि समेटेका छौँ । ५०–६० लाखका बीमालेख पनि समेट्ने र करोड–करोडका बीमालेख पनि समेट्ने रणनीति हामीले लिएका छौँ’, उनले भने । सानादेखि ठुलासम्म सबैलाई समानुपातिक रूपमा समेट्ने रणनीतिका कारण अहिले आफूहरूलाई व्यवसायको सन्तुलन मिलाउन सहज भएको खत्रीले बताए । 

भावी रणनीति

‘मेरो कम्पनीको मासिक तथ्याङ्क हेर्नुभयो भने त हामी अहिले पनि नयाँ बीमा व्यवसाय वृद्धि गर्न सक्षम भइरहेका छौँ’, उनले भने, ‘तर समग्र जीवन बीमा उद्योगको प्रथम प्रिमियम घटेको देखिएको छ ।’ यस्तो बेला तत्कालका लागि अहिलेकै ‘पोजिशन’लाई टिकाइराख्न प्रयत्न गर्नुपर्ने उनी बताउँछन् । ‘सेवालाई अझ परिष्कृत गरेर, प्रविधिलाई आत्मसात् गरेर अघि बढ्ने हो’, उनी भन्छन् । 

कम्पनीमा समग्र रूपले प्रविधिमैत्री बनाउने, नयाँ र व्यावसायिक एजेन्टहरू तयार पार्ने, नयाँ प्रडक्टहरूलाई अघि बढाउने र लगानीको विविधीकरण एवम् प्रतिफलको गुणात्मक वृद्धिमा ध्यान दिनु नै आफ्नो कम्पनीको भावी रणनीति रहेको उनले सुनाए । 

कम्पनीसँग भएको कोषको सही सदुपयोग गरेर आफ्नो सम्पत्ति पनि बढाउँदै लैजान लगानीको विविधीकरण गर्नुपर्नेमा उनको जोड छ । भन्छन्, ‘हामीले अहिले पोखरा, बिर्तामोड, इटहरी र बुटवलमा जग्गा खरिदको काम अघि बढाएका छौँ । नेपालगन्जमा ३५ करोड लागतको भवन आगामी जेठ–असारसम्ममा निर्माण सम्पन्न हुने अवस्थामा छ । त्यहाँ सजावटको कामहरू भइरहेको छ ।’

त्यसो त, जीवन बीमा कोषलाई कसरी प्रयोग गर्ने भन्ने ढाँचा बीमा प्राधिकरणले नै दिएको छ । कम्पनीहरूले त्यही ढाँचाअनुसार नै लगानी परिचालन गर्नुपर्ने हुन्छ । ‘विगतमा हामीले बैंकमा नै अधिकांश पैसा राख्ने गरेका थियौँ । आजभन्दा ५–६ वर्षअघि बीमा कम्पनीहरूले मुद्दती निक्षेपमा पनि १०–११ प्रतिशतसम्म ब्याज लिएका थिए’, उनी सम्झन्छन्, ‘त्यसले गर्दा पनि ब्याजले बीमा कम्पनीहरूको आम्दानी बढेको थियो । तर पछिल्लो समय ब्याजदर घट्न थाल्यो ।’ 

यही बेला बीमा प्राधिकरणले नयाँ निर्देशिकामार्फत लगानीको विविधीकरण गरिदिएपछि अहिले कम्पनीहरूलाई नयाँ क्षेत्रमा अघि बढ्न सहयोग मिलेको छ । अहिले जलविद्युत्, होटेल लगायत अन्य क्षेत्रमा बीमा कम्पनीहरुको लगानी बढ्न थालेको छ । 

अहिलेको विशेष परिस्थितिका कारण पनि कतिपय कम्पनीले प्रथम प्रिमियम अर्थात् नयाँ व्यवसाय बढाउन सकेका छैनन् । उनीहरूलाई सम्पत्ति र कारोबार बढाउने नयाँ विकल्पहरू लगानीको विविधीकरणले दिएको छ । मुलुकको सर्वाङ्गीण विकासका निम्ति पनि अब बीमा कम्पनीहरूले आफूसँग भएको कोषलाई उत्पादनमूलक र व्यावसायिक गतिविधि बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने जरुरत आएको उनको बुझाइ छ । आफ्नो कम्पनी त्यसका निम्ति तयार मात्र होइन, अग्रसर भइसकेको उनी बताउँछन् । 


प्रतिक्रिया दिनुहोस्