निर्जीवन बीमाको अन्तर्राष्ट्रिय दाबी भुक्तानीमा डेढ अर्ब नाफा, साढे पाँच गुणा बढ्यो नेपाल भित्रने रकम « Arthapath.com
४ चैत्र २०८०, आईतवार

निर्जीवन बीमाको अन्तर्राष्ट्रिय दाबी भुक्तानीमा डेढ अर्ब नाफा, साढे पाँच गुणा बढ्यो नेपाल भित्रने रकम



काठमाडौं । निर्जीवन बीमा भुक्तानी मार्फत नेपाल भित्रने रकम उल्लेख्य वृद्धि भएको छ । यस्तो रकममा साढे ५ गुणा बढेको देखिन्छ । 

नेपाल राष्ट्र बैङ्कबाट प्राप्त एक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा निर्जीवन बीमा दाबी भुक्तानी बापत नेपालमा १ अर्ब ४५ करोड ११ लाख रुपैयाँ भित्रिएको छ । यो गत आवको माघ मसान्तसम्मको तुलनामा ५.६१ गुणा बढी हो । गत आवको सोही अवधिमा भने यस्तो रकम २५ करोड ८३ लाख रुपैयाँ मात्रै थियो ।  ७ महिनामा भित्रिएको रकम अमेरिकन डलरमा भने १ करोड ९ लाख हो । 

नेपालका निर्जीवन बीमा कम्पनीहरूले विदेशका पुनर्बीमा कम्पनीमा आफ्नो व्यवसायको पुनर्बीमा गरेका हुन्छन् । नेपालको पुनर्बीमा कम्पनीले पनि विदेशी पुनर्बीमा कम्पनीमा रेट्रोसेसन गर्ने गरेको हुन्छन् । यसैगरी कतिपय एयरलाइन्स कम्पनी, ठुला–ठुला जलविद्युत् आयोजनाले सिँधै विदेशी बीमा कम्पनीमा बीमा गरेका हुन्छन् । त्यसमा दाबी परेमा विदेशबाट पैसा आउँछ, यो सोही बापत आउने दाबी रकम हो । 

यसैगरी नेपालमा सञ्चालित पुनर्बीमा कम्पनीहरूले विदेशी कम्पनीहरूको पुनर्बीमा गरिरहेका हुन्छन् । त्यस्ता बीमाको दाबी परेमा नेपाली पुनर्बीमा कम्पनीले विदेशमा दाबी भुक्तानी दिनुपर्ने हुन्छ, सोही मार्फत बाहिरिने पैसा पनि यसमा समावेश गरिएको छ । 

चालु आवको ७ महिनामा निर्जीवन बीमा दाबी भुक्तानी मार्फत कुल ६ करोड ११ लाख रुपैयाँ बाहिरिएको छ । जुन, गत आवको माघ मसान्तसम्मको तुलनामा १५.६६ गुणा बढी हो । गत आवको सोही अवधिमा ३९ लाख रुपैयाँ मात्रै नेपालबाट बाहिरिएको छ । ७ महिनामा भएको अन्तर्राष्ट्रिय निर्जीवन दाबी भुक्तानीमा १ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ नाफा भएको तथ्याङ्कले देखाउँछ । 

तथ्यांकअनुसार गत आव भरमा भने निर्जीवन बीमा दाबी भुक्तानी बापत १ अर्ब ३ करोड ३९ लाख भित्रिएको थियो । गत आवमा मार्फत भने ८४ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो । समग्रमा गत आवमा अन्तर्राष्ट्रिय निर्जीवन दाबी भुक्तानीमा १९ करोड ९ लाख रुपैयाँ नाफा भएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्