जापानबाट अर्थपथका पत्रकार विक्रम सुनारको सांगीतिक धमाका: समीक्षासँग मिलेर ल्याए ‘देशै छोडेर’ « Arthapath.com
२ असार २०८३, मंगलबार

जापानबाट अर्थपथका पत्रकार विक्रम सुनारको सांगीतिक धमाका: समीक्षासँग मिलेर ल्याए ‘देशै छोडेर’



काठमाडौं । देशमा व्याप्त चरम बेरोजगारी, राजनीतिक अस्थिरता र भविष्यप्रतिको अन्योलताका कारण दैनिक हजारौँ नेपाली युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘डिपार्चर गेट’ बाट आँसु लुकाउँदै बाहिरिन बाध्य छन्।

युवाहरूको यही बाध्यता, देश छोड्दाको पीडा र घरमा रोइरहने परिवारको मर्मस्पर्शी कथालाई समेटेर नयाँ गीत ‘देशै छोडेर’ बजारमा आएको छ।

अहिलेका युवापुस्ताको वास्तविक अवस्थालाई चित्रण गरिएको यस गीतमा चर्चित गायिका समीक्षा अधिकारी र गायक विक्रम सुनारको सुमधुर तथा भावुक स्वर रहेको छ। विशेष कुरा के छ भने, गीतका गायक विक्रम सुनार स्वयं पनि पत्रकारिता र रोजगारीको सिलसिलामा अहिले प्रवासी जीवन बिताइरहेका छन्।

उनी विगतमा आर्थिक अनलाइन ‘अर्थपथ डटकम’ मा वरिष्ठ संवाददाताका रूपमा कार्यरत थिए भने हाल जापानमा रहेर पनि सोही अनलाइनका लागि विशेष योगदान दिँदै पत्रकारिता र कला क्षेत्रलाई सँगसँगै अगाडि बढाइरहेका छन्।

परदेशिने नेपालीहरूको वास्तविक व्यथालाई शब्द र संगीतको माध्यमबाट जीवन्त उतार्ने काम बहुप्रतिभाशाली सर्जक भुवन बिकले गरेका छन्। यस गीतको मर्मस्पर्शी शब्द रचना, संगीत संयोजन (एरेन्ज) र संगीत भर्ने काम भुवन स्वयंले गरेका हुन्। गीतको भावना अनुसारको न्याय भिडियोमा पनि देख्न सकिन्छ। भिडियोमा भुवन बिक र अनिता नेपालले मुख्य भूमिकामा रहेर जीवन्त अभिनय गरेका छन्।

गोविन्द विवशको उत्कृष्ट निर्देशनमा तयार भएको यस भिडियोलाई सौगात थापाले कलात्मक रूपमा छायांकन गरेका हुन् भने असिमचन्द्र विश्वकर्माले चुस्त सम्पादन गरेका छन्। एउटा आम नेपालीको घर-घरको कथा बोकेको यो मार्मिक भिडियो गायक विक्रम सुनारकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्नका लागि यो लिङ्क https://www.youtube.com/watch?v=gs41WNQGh_0 मा क्लिक गर्नुहाेस् ।


प्रतिक्रिया दिनुहोस्