सञ्जय राजभण्डारीः ब्राण्डिङमा साढे दुई दशकको ‘रोलर-कोस्टर करियर’ « Arthapath.com
१५ माघ २०८०, सोमबार

सञ्जय राजभण्डारीः ब्राण्डिङमा साढे दुई दशकको ‘रोलर-कोस्टर करियर’



सञ्जय राजभण्डारी
सीएमओ, डिश मिडिया नेटवर्क लि.

करिब ३ वर्षअघि फाइबर इन्टरनेटको सेवा व्यापारमा प्रवेश गरेको डिशहोम चालु आर्थिक वर्षको पहिलो महिनामै देशको दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक बनेको छ । कोभिडको बेलामा डीटीएच टेलिभिजनको व्यापार खुम्चिँदै गएपछि कम्पनीलाई रूपान्तरण गर्ने गरी इन्टरनेट सेवा सुरु गर्ने डिशहोमको निर्णय वास्तवमै ‘सही थियो’ भन्ने अहिलेका तथ्याङ्कले देखाएका छन् ।

त्यसमाथि अहिले देशकै सबैभन्दा सस्तो इन्टरनेट सेवाको रूपमा डिशहोम उदाएको छ । संस्थागत क्षेत्रमा धेरै बाक्लो उपस्थिति नभए पनि उसको ग्राहक आधार असाधारण रूपमा बढेको छ । एक वर्ष अघि पुरा इन्टरनेट बजारको ६ प्रतिशत हिस्सा ओगट्ने डिसहोम अहिले करिब १२ प्रतिशत हिस्सामा फैलिएको छ । कम्पनीले यति तीव्र वेगमा छलाङ मार्ने अवस्था आउनुका पछाडि सञ्चालक र व्यवस्थापनमा रहेका धेरै जनाको महत्त्वपूर्ण भूमिका छ । त्यसमध्ये एक हुन्, सञ्जय राजभण्डारी ।

उनी अहिले डिश मिडिया नेटवर्कको प्रमुख बजार अधिकृत (सीएमओ) छन् । तीन लाखभन्दा बढी ग्राहक बनाइसकेको डिशहोम फाइबर नेट र आइपि टिभीसहित त्यहाँका सबै ‘प्रडक्ट’को बजार व्यवस्थापनमा उनले  राम्रो सफलता पाएका छन् । सर्वाधिक नयाँ कम्पनीलाई सबैभन्दा तीव्र विस्तारमा पुर्‍याउन यसको ‘ब्राण्डिङ’, प्रवर्द्धन, उपस्थिति, विज्ञापनजस्ता कयौँ पाटामा ध्यान दिनु पर्ने हुन्छ ।

साख विस्तार

‘आज हामी सबैभन्दा तीव्र विस्तार भइरहेको कम्पनी बनेका छौँ । ग्राहकको अत्यधिक साथ, समर्थन र विश्वास जित्न सकेका छौँ’, उनी भन्छन् । यो सफलतामा उनी र उनको टिमको योगदान असाध्यै ठुलो छ । ‘डिजिटल मार्केटिङ, डिजिटल कम्युनिकेसनमा जसरी हामीले ब्रेक थ्रु गर्‍यौँ, आज अरू धेरै प्रतिस्पर्धी कम्पनी (आईएसपी)हरुले यसलाई पच्छ्याएका छन्’, उनले थपे ।

घरको छानोमा सानो छाता राखेर टिभी चलाउने ब्रान्डको रूपमा परिचित डिसहोम अहिले फिक्स्ड इन्टरनेट बजारको दोस्रो ठुलो कम्पनी बनिसकेको छ । मान्छेको मानसपटलमा डिसहोमको साखलाई यसरी परिमार्जित र परिष्कृत ढाँचामा ढाल्न राजभण्डारीको ज्ञान र अनुभवको कम्ता योगदान छैन । जीवनको २४–२५ वर्षदेखि ‘ब्रान्ड’ (साख) र यसको प्रवर्द्धनमै तपस्यारत उनी त्यही साखको परिभाषा दिन्छन्, ‘ब्रान्ड भनेको एउटा कसम (प्रतिज्ञा) हो । विश्वास हो । यो एउटा प्रडक्ट मात्रै होइन ।’

उनी ब्रान्डलाई लस्सीसँग तुलना गर्छन् । ‘लस्सी बनाउँदा सबै चिज राम्रो र सही मात्रामा राखियो भने मात्रै त्यो स्वादिष्ट र राम्रो बन्छ । ब्रान्ड पनि त्यस्तै हो’, उनी भन्छन्, ‘प्रचार प्रसार मात्रै राम्रो भएर ब्रान्ड बन्दैन । सबैभन्दा पहिले त प्रडक्ट नै राम्रो हुनुपर्छ । त्यसलाई विक्री गर्ने बजार राम्रो हुनुपर्छ । मूल्य प्रतिस्पर्धी हुनुपर्छ र प्रवर्द्धन सशक्त हुनुपर्छ ।’ उनी यसलाई ‘फोर पी’ भन्छन् । यिनै चार चिजको सम्मिश्रणपछि हरेक उपभोक्ताको मन मस्तिष्कमा कुनै प्रडक्टका बारेमा एक प्रकारको छाप (धारणा) तयार हुन्छ । त्यही छापको नाम हो– ब्रान्ड ।

‘लस्सी बनाउँदा सबै चिज राम्रो र सही मात्रामा राखियो भने मात्रै त्यो स्वादिष्ट र राम्रो बन्छ। ब्रान्ड पनि त्यस्तै हो प्रचार प्रसार मात्रै राम्रो भएर ब्रान्ड बन्दैन।

व्यावसायिक यात्रा

जीवनको लामो कालखण्ड ब्राण्डिङ र कर्पोरेट कम्युनिकेसनमा बिताएका राजभण्डारीले विगतमा बारम्बार एनजिओ, आइएनजीओ र औद्योगिक क्षेत्रमा काम गरेका छन् ।

असनमा जन्मिएर २०४५ मा सिद्धार्थ वनस्थलीबाट एसएलसी सकेका उनले देशमा प्रजातन्त्र पुनः बहाली हुँदासम्म वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तहको पढाइ सकिसकेका थिए । २०५४ मा त डिग्री नै हात पारे । आमसञ्चार तथा पत्रकारिता पनि एक वर्ष पढे । पढाइको यो सिलसिलासँगै उनले आफ्नो भविष्य कतातिर डोर्‍याउने भनेर पनि अनेकौँ विकल्प खोजिरहे ।

एसएलसी पछि नै उनी विभिन्न जागिर व्यापारको छनोटमा लागे । बागबजारका इन्स्टिच्युटमा कम्प्युटर सिकाउनेदेखि असनका दोकानहरू चाहारेर नयाँ पसल खोल्ने योजना पनि बनाए । आइकमको पढाइ सकेपछि त उनी दिल्ली, बम्बई पुगेर व्यापार गर्ने योजना पनि बनाए । उनका दाइ इन्जिनियर छन् । तर उनलाई डक्टर, इन्जिनियर, पाइलटजस्ता प्राविधिक बन्न कहिल्यै मन लागेन ।

व्यापारमा लाग्ने कोसिसलाई बाबाआमाले खासै मन पराउनु भएन । नेवार समुदाय नै भए पनि उनी प्राज्ञिक परिवारमा जन्मिएकाले पसल चलाएर बस्ने कुरामा परिवारले खासै रुचि देखाएनन् । आमा टियूको प्रोफेसर र बुवा नेपाल राष्ट्र बैंकको जागिरे भएको शिक्षित परिवारमा हुर्केर पनि उनी ब्राण्डिङमै भविष्य देख्न थाले । यसरी ५–६ वर्षको भाग दौडपछि उनलाई भाग्यले आफ्नो भविष्यको ‘लिक’मा लगेर उभ्याइदियो । उनी मिडिया, सञ्चार, ब्रान्डजस्ता क्षेत्रमा आइपुगे र त्यसमै हुर्किए ।

उनको पूर्णकालीन व्यावसायिक करियरको सुरुवात चाहिँ २०५२ बाट भयो । उनले २०५२ साल असारमा जोन्स हकिन्स युनिभर्सिटीको नेपालस्थित कार्यालयमा जागिर सुरु गरे । आमा पनि विकास साझेदारहरूसँगै काम गर्ने भएकाले आमाकै सिफारिसमा उनी त्यहाँ पुगेका थिए । त्यही विन्दुबाट सुरु भएको उनको ‘कर्पोरेट कम्युनिकेसन’को करियर यात्रा अहिले पनि निरन्तर जारी छ ।

त्यो संस्थाले परिवार नियोजन र रेडियो कार्यक्रमहरु मार्फत् ‘फेमिलि प्लानिङ’ सम्बन्धी सचेतना जगाउने काम गर्थ्यो । सानैदेखि अङ्ग्रेजी भाषामा दक्खल र बोल्नमा उम्दा हुनाले उनी सुरुवाती दिनबाटै सफलता यात्रामा अघि बढे । त्यहाँ चार वर्ष काम गरेपछि उनी मेट्रो एफएममा ५–६ वर्ष अङ्ग्रेजी समाचारको सम्पादन, वाचन र अङ्ग्रेजी कार्यक्रमहरू प्रस्तोताको रूपमा काम गरे । त्यहाँ पनि उनले मार्केटिङलाई सँगसँगै अघि बढाउन भुलेनन् ।

रेडियोको जागिर छाडेर उनी विज्ञापन एजेन्सीहरूमा काम गर्न पुगे । प्रिज्मा, थम्सन, एएनएसजस्ता संस्थामा विभिन्न भूमिकामा काम गरे । २०६५ असोजबाट उनी चौधरी ग्रुपको इलेक्ट्रोनिक डिभिजनमा ‘मार्केटिङ कम्युनिकेसन एन्ड ब्रान्ड म्यानेजमेन्ट’को प्रमुखको रूपमा काम गरे । करिब साढे दुई वर्ष त्यहाँ रहँदा उनले इलेक्ट्रोनिक डिभिजनका सबै ब्रान्डको प्रवर्द्धन, खुद्रा विक्री व्यवस्थापन र सञ्चार, लगायतका जिम्मेवारी सम्हाले ।

त्यसपछि उनी फेरि ‘फेमिलि प्लानिङ’मा काम गर्ने विकास साझेदार संस्थातिरै फर्किए । पपुलेशन सर्भिसेज इन्टरनेशनल (पीएसआई)मा उनको नयाँ जागिर सुरु भयो । परिवार नियोजनका साधनको प्रचारप्रसार गर्ने यो संस्थामा उनले मिडिया मार्केटिङ, सोसियल मार्केटिङमा काम गरे । यस्ता साधनहरू बेच्ने र बजारीकरण गर्ने काममा पनि उनको भूमिका थियो । १६ महिना जति त्यहाँ काम गरेपछि उनी फेरि चौधरी ग्रुप नै पुगे ।

२०६९ कात्तिकबाट उनी दोस्रो पटक सिजी छिरेपछि ७ वर्षभन्दा बढी त्यहाँ कार्यरत रहे । सीजीमा रहँदा उनले एलजी ब्रान्डलाई नेपालीमाझ लोकप्रिय बनाउन ठुलो मिहेनत गरे । एलजी स्मार्ट टिभी, रेफ्रिजेरेटरदेखि सीजीका घरायसी सामानको बजारीकरण, ब्रान्ड प्रवर्द्धन र बजार रणनीति तर्जुमामा उनले महत्त्वपूर्ण भूमिका खेले ।

सिजी टिभी र सिजी होम अप्लायन्सेसको ब्रान्ड निर्माण गर्न र त्यसलाई हुर्काउनमा राजभण्डारीको योगदान उल्लेख्य छ । उनले ‘ब्रान्ड शप’ सम्बन्धी तालिमहरू दक्षिण कोरिया र भारत पुगेर हासिल गरे । त्यसपछि नेपाल फर्किएर थुप्रै ब्राण्ड शपहरु खोल्ने काम गरे । २०० भन्दा धेरै यस्ता आउट लेटको संयोजन, सञ्चालन, प्रवर्द्धन र व्यवस्थापनमा उनी संलग्न थिए ।

डिशहोमको सहयात्रा

सीजीको लामो जागिर छाडेर उनी २०७६ मङ्सिरमा डिशहोममा जोडिन आइपुगे । डिशहोममा आएपछि पनि उनले कयौँ रणनीतिक कार्ययोजनाहरु तर्जुमा गर्न र बजार विस्तार एवम् साखको अभिवृद्धिमा महत्त्वपूर्ण दायित्वहरू पुरा गरेका छन् । उनले डिशहोमको प्रतिनिधित्व गर्दै भारत र सिंगापुरका टेलिभिजनहरूसँग हातेमालो गरेका छन् । डिसहोमको ‘ओभर द टप–ओटीटी’ मोबाइल एप्लिकेशन निर्माण, सञ्चालन र ब्राण्डिङ तथा प्रवर्द्धन गर्नमा उनको अखण्ड योगदान छ ।

डिशहोममा आइपी टिभी ल्याउनका लागि उच्च व्यवस्थापन र सञ्चालकहरूलाई तयार पार्न, यसका लागि आवश्यक प्रक्रिया र पूर्वाधार जुटाउन, यसको बजारीकरण गर्नमा पनि उनको लगनशीलता र मिहेनतले महत्त्वपूर्ण सहयोग पुगेको छ । आज डिस मिडियाको इन्टरनेट सेवा र एप टेलिभिजनले अहिले राम्रै लय समातेको छ । आउँदा दिनमा व्यावसायिक प्रतिष्ठानहरूमा आफ्नो आइएसपी विस्तार गर्ने योजना रहेको राजभण्डारी सुनाउँछन् ।

‘हामी सोल्टी होटेलदेखि ठुला मिडिया, स्कुल, बैङ्क तथा वित्तीय संस्थामा आफ्नो उपस्थिति बाक्लो बनाउँदै छौँ’ उनले भने, ‘घरायसी उपभोक्तामा हाम्रो पहुँच व्यापक मात्रामा बढिरहेको छ । अब हामी संस्थागत ग्राहक बढाउने रणनीतिमा अघि बढ्छौँ ।’ प्रविधिको बजार धेरै टिकाउयुक्त छैन । नवीन आविष्कारलाई तुरुन्तै समेटेर अघि बढ्न सकिएन भने छिट्टै नै पछाडि परिहाल्ने अवस्था छ । यस्तो परिस्थितिमा जेजस्ता नयाँ अवसर आउँछन्, त्यसलाई पनि समेट्दै र सहभागी बन्दै कम्पनीको दिगो वृद्धिमा ध्यान केन्द्रित गरेर काम गरिरहेको उनी बताउँछन् । ‘अव यसैमा लाग्ने हो र यसैलाई वृद्धि गर्दै लैजाने हो’, उनी भन्छन् ।


प्रतिक्रिया दिनुहोस्