‘चेम्बर एक्स्पोले सुस्ताएको उद्योगी व्यवसायीलाई हौसला प्रदान गर्छ’ « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

अन्तर्वार्ता:

‘चेम्बर एक्स्पोले सुस्ताएको उद्योगी व्यवसायीलाई हौसला प्रदान गर्छ’



  • निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूलाई सरकारले सहज रूपमा चल्न सक्ने वातावरण आवश्यक छ ।
  • घरजग्गा क्षेत्रलाई चलायमान बनाउन सकियो भने सङ्कुचित अर्थव्यवस्थालाई तुरुन्तै ठुलो योगदान पुग्छ । 
  • मेलाले व्यापार प्रवर्द्धन गर्ने हो, नाफा कमाउने उद्देश्य बोकेका छैनौँ ।
  • एक्पोमा भारत, दक्षिण कोरिया र पाकिस्तानका नयाँ उत्पादनहरू प्रदर्शन हुनेछ ।

दीपक श्रेष्ठ
उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

संयोजक, नेपाल चेम्बर एक्स्पो २०२४

यस पल्ट पनि चेम्बर एक्स्पो आयोजना हुँदै छ । यसको उद्देश्य के हो ? 

नेपाल चेम्बर अफ कमर्सले विगतका दिनहरूमा पनि आयोजना गर्दै आएको नेपाल चेम्बर एक्स्पोको सातौँ संस्करण यही चैत २४ देखि २८ गतेसम्म आयोजना हुँदै छ । काठमाडौँको भृकुटीमण्डप हलमा यो एक्स्पो आयोजना हुन्छ । विशेषतः अहिलेको शिथिल अर्थतन्त्रको अवस्थामा उद्योगी व्यवसायीहरूलाई केही सम्भाव्यताको आशा जगाउने उद्देश्यले यो व्यापार एक्स्पोको आयोजना भइरहेको छ । 

अहिले आन्तरिक र बाह्य लगानीकर्ताहरू नेपाली बजारमा आकर्षित हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय आर्थिक माहोल पनि मजबुत छैन । यस्तो बेला यस एक्स्पोबाट के अपेक्षा गर्न सकिन्छ ? 

यो एक्स्पोको उद्देश्य नै हामीले हाम्रा स–साना उद्योगहरूलाई प्रवर्द्धन गर्ने, नेपाली ब्रान्डलाई बचाउने, नपाली सीपलाई जोगाउने नै हो । हामी जहिले पनि विदेशी लगानीको कुरा गर्छौँ । विदेशी लगानीको सम्भाव्यता नेपालमा छ । तर नेपाली उद्योगहरूले गरेको प्रगति हेरेर नै बल्ल विदेशीहरू आकर्षित हुने हो । 

त्यसै कारणले हामी जहिले पनि भन्छौँ, सर्वप्रथम नेपालमा भएका स्वदेशी लगानीकर्ता, सीप भएका व्यक्तिहरू र उद्योगीहरूलाई नै बचाउनु पर्‍यो । उनीहरूलाई काम गर्ने वातावरण बनाइदिनु पर्‍यो । हाम्रो प्रयास त्यसैमा छ । 

आन्तरिक उत्पादन बढाउने भनेर चेम्बरले लामो समयदेखि आवाज उठाउँदै आएको छ । देशकै सबैभन्दा पुरानो व्यावसायिक संस्थाको हैसियतले पनि ठुलो वर्चस्व राख्छ । तर यस्ता एक्स्पो सातौँ संस्करणमा आउँदा उद्यमशीलता विकासमा कस्तो प्रगति भएको छ ? 

चेम्बर एक्लैको प्रयासले सबै कुरा सम्भव छैन । चेम्बर एक्स्पोले पनि सबै कुरा पुर्‍याइदिने होइन । यस्ता आयोजनले हामीजस्ता उद्योगी व्यवसायीलाई राम्रोसँग काम गर्न हौसला प्रदान गर्ने मात्रै हो । 

अहिलेको हाम्रो देशको परिस्थिति अनुसार काम गर्ने सबै मानिसहरूको हौसला बुलन्द राख्नु नै सबैभन्दा ठुलो चुनौती भएको छ । अहिलेको यो एक्स्पोका चहलपहलले त्यस प्रकारको ऊर्जा प्रदान गर्ने छ भनेर हामी आशा गर्न सक्छौँ । 

आगामी एक्स्पोमा पनि भारतदेखि कोरियासम्मबाट सहभागिता हुने भनिएको छ । यस्तो विदेशी सहभागिताको जरुरत किन हो ? 

यसपालि विशेषतः हामीले राजदूतावास मार्फत नै सहभागीलाई निम्त्याएका छौँ । एक्स्पोमा कतिपय राजदीताबासहरुको ‘इन्फरमेसन डेस्क’ पनि रहने छ । जुन नेपाल चेम्बर अफ कमर्सले विभिन्न दूताबासहरुलाई नि:शुल्क उपलब्ध गराएको हो । 

ती दूतावासहरूले हाम्रा स्टलमा रहेर दुई पक्षीय व्यापारको सम्बन्धमा सूचना आदानप्रदानमा सघाउने छन् । साथै, भारत, दक्षिण कोरिया र पाकिस्तान लगायत मुलुकहरूले राजदूतावासकै पहलमा विभिन्न किसिमका सामग्रीहरू र उद्यमीहरूलाई ‘नेपाल चेम्बर एक्स्पो २०२४’ मा प्रस्तुत गर्न लाग्नु भएको छ । 

यो एक्सपोको मुख्य आकर्षण के हो ? विदेशी उद्यमी र नेपाली व्यवसायीले गर्ने प्रदर्शन के कस्तो हुन्छ ? 

यो एक्स्पो एउटा पुल (साँघु) हो । यसमा उद्यमीले पनि सम्भाव्यता खोज्न सक्छन् । सम्भावित ग्राहकले पनि उद्यमी फेला पार्न सक्छन् । यसले उद्यमी र ग्राहकलाई जोड्ने बजारका रूपमा विकास गर्न खोजिएको हो । 

आजको भोलि नै अर्थात् मेलामा जानेवित्तिकै झोला भरी सामान किनेर लाने अवस्था बनाउनु हाम्रो उद्देश्य होइन । भारतबाट आउन लागेका स्वास्थ्य एवम् आयुर्वेद सम्बन्धी जति पनि सामग्रीहरू मेलामा ल्याइन्छ, उहाँहरू मेलामा आएर सामाग्री बेच्ने मात्रै होइन । यहाँ भएका हाम्रा उद्यमीहरूलाई ती सामग्रीहरूको विकास क्रमको अध्ययन गर्न र सम्भाव्यता अध्ययन गर्न यस मेलाले सहयोग गर्छ । 

कोरियाको हकमा पनि हामीले विभिन्न कोरियाली कम्पनीका नयाँ उत्पादनहरू भित्र्याउने प्रयास गरेका छौैं । त्यहाँबाट के कस्ता कम्पनीको सहभागिता हुन्छ भन्ने जानकारी हालसम्म राजदूतावासले विस्तृत रूपमा जानकारी दिएको छैन । यद्यपि, उहाँहरूले केही नौलो उत्पादनहरू लिएर आउँदै हुनुहुन्छ । कोरियासँग नेपालको दुई पक्षीय व्यापारलाई कसरी बढाउने भनेर पनि उहाँहरूले नयाँ सम्भाव्यता देखाउन सक्नुहुन्छ । 

यो एक्स्पोमा नीतिगत बहसहरू पनि हुन्छन् की प्रदर्शनी मात्रै हुन्छ ? 

नीतिगत बहसभन्दा पनि विभिन्न राजदूतावासमा भएका काउन्सिलर शाखाहरूले यहाँ व्यवसाय गर्नका लागि सम्भाव्यता खोज्नमा सघाउँछन् । उदाहरणका लागि हामीले दक्षिण कोरियामा के सामान निर्यात गर्न सक्छौँ ? आयात वा निर्यातको व्यापार गर्न कसरी सकिन्छ ? भन्ने खालले व्यापार र उत्पादनको विधि सामान्य जनमानससम्म पुर्‍याउने मुख्य लक्ष्य रहन्छ । 

एक्स्पोको लगानी व्यवस्थापन कसरी गरिरहनु भएको छ ? 

यस वर्ष हामीलाई एक्स्पो गर्नका लागि नेपाल सरकारको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी)ले पनि आर्थिक सहयोग गर्ने भएको छ । हाम्रा विभिन्न प्रायोजकहरूले पनि आर्थिक सहयोग गर्नुभएको छ । सहभागी (स्टल राख्ने)हरूबाट पनि हामी आर्थिक क्षमता प्राप्त गर्छौँ । यो मेलाले व्यापार प्रवर्द्धन गर्ने हो । हामी यसबाट नाफा कमाउने उद्देश्यमा छैनौँ । 

राज्यबाट सहयोग भएन भनिरहनु भएको छ । राज्यबाट के अपेक्षा गर्नुभएको छ ? 

विभिन्न सङ्क्रमण कालमा सबै निकायहरूले आफूसँग भएको खर्चलाई सङ्कुचित रूपमा निकास दिनुपर्ने परिस्थिति बनेको जस्तै नेपाल चेम्बर अफ कमर्सले पनि केही समय पाउँदै आएको सहयोग बिचमा रोकिएको थियो । यो वर्ष त्यो सहयोग पुनः सुचारु हुने हामीले अपेक्षा गरेका छौँ । 

कुनै नीतिगत अपेक्षा पनि छन् की ? 

नीतिगत रूपमा हामीसँग सम्बन्ध भएका विविध मन्त्रालयहरू, त्यहाँ भएका मन्त्री र सचिव ज्यूहरू सबैलाई हामीले निमन्त्रणा पठाएका छौँ । हामीले चैत २४ गते यो मेलाको उद्घाटन हुन्छ । हामी सम्पूर्ण सरकारी निकायमा हुनुभएका राष्ट्र सेवकहरू, व्यापारीहरू र यसबाट ज्ञान प्राप्त गर्न सक्ने सबैलाई मेलामा सहभागी हुन अनुरोध गर्छौँ । 

मेलामा नि:शुल्क प्रवेश गर्न पाइने सुविधा छ । सबै जनालाई हामीले मेलामा उपस्थित हुन आग्रह गरेका छौँ । सकेसम्म बढीभन्दा बढी मानिसहरू मेलामा उपस्थित हुनुभयो भने हामी अहिलेको नैराश्यजनक स्थितिमा धेरथोर सकारात्मक सन्देश प्रवाह गर्न सक्छौँ । 

थोरै प्रसङ्ग बदलौँ । तपाईँ निर्माण क्षेत्रसँग पनि जोडिएको उद्योगी हुनुहुन्छ । अहिले देशमा निर्माण उद्योग अत्यन्त पीडादायी हालतमा छ । यसलाई उकास्न र चल्न सक्ने अवस्थामा ल्याउन केके गर्‍यो भने अलि सहज हुन्छ ? 

निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूलाई नेपाल सरकारले सहज रूपमा चल्न सक्ने वातावरण तयार पारिदिनु आवश्यक भएको छ । निजी क्षेत्रका लागि प्रयोग हुने संरचना पनि हुनसक्छ र अन्य विकास निर्माणका संरचनालाई पनि बढीभन्दा बढी प्राथमिकतामा राखेर नेपाल सरकारले पुँजीगत खर्च बढाइदिनु पर्छ । 

भइसकेको काम छ भने भुक्तानीको व्यवस्था मिलाइदिनु पर्‍यो । निजी क्षेत्रका उपभोक्ताले घर बनाउनका लागि सहज रूपमा  बैङ्कबाट ऋण सुविधा प्राप्त गर्नुपर्‍यो । मासिक रूपमा किस्ता तिर्नुपर्ने हुन्छ । त्यस्तो किस्ताका लागि एक जना व्यक्तिले उसको कुल आयस्रोतको कम्तीमा पनि ८० प्रतिशतसम्म किस्ता भुक्तानी गर्ने क्षमताका रूपमा बुझेर ऋण प्रवाह गरिदिनु पर्छ । 

अहिलेको समस्या खासमा कहाँ हो त ? बैङ्कमा हो की, राष्ट्र बैङ्कमा हो की, सरकारमा हो की, घरजग्गामा हो की ? के देख्नुभएको छ ? 

हामीकहाँ सधैँभरि घरजग्गालाई ‘स्थिर सम्पत्ति’ मानेर यसले उत्पादकत्व वृद्धि गर्दैन भन्ने मानसिकता राखिन्छ । घरजग्गा क्षेत्रलाई अगाडी बढाउन सकियो भने हालको सङ्कुचित अर्थव्यवस्थालाई तुरुन्तै प्रस्फुटित हुन ठुलो योगदान पुग्छ । 

अहिले काठमाडौँ महानगर लगायत ठुला सहरमै आवादी घट्न थालेको छ । यो अवस्थामा निजी घर बनाउन धेरै ठुलो पैसा प्रवाह हुने अवस्था छ र ? 

हाल पनि नेपालीहरू अध्ययन गर्नका लागि विदेश जान्छन् । ती विद्यार्थीहरू स्वयम्लाई पनि विशेष सुविधा दिएर नेपालमा फ्ल्याट वा घर किन्न सक्ने वातावरण बनाइदियो भने अध्ययन गर्न गएका व्यक्तिले पनि नेपालमा घरजग्गामा लगानी गर्छन् । 

त्यस्तो ‘विशेष सुविधा’ भनेको के हुनसक्छ ? 

ऋणमा सहजिकरण गरिदिनु पर्‍यो । आयकरमा छुट दिनु पर्‍यो । विदेशबाट घरजग्गा खरिद गर्नका लागि पैसा ल्याउन सुविधाजनक स्थिति तयार पारिदिनु पर्‍यो । अहिले ठुलो क्षेत्र यो पनि हो । यहाँ घरजग्गामा पैसा लगाउँदा आयकरमा छुट दिने हो भने नेपालमा पैसा आउँछ । तर अहिले विद्यार्थीले नेपालमा पैसा ल्याउनै छाडेका छन् । विदेश गएपछि उतै फ्ल्याट किन्ने, उतै बस्ने भएको छ । 

कम्तीमा युवाहरूले नेपालमा घरजग्गा किन्ने र यहाँ बस्ने वातावरण बनाइदिनु पर्छ । विद्यार्थीले कम्तीमा २५ वर्षको किस्ताको सुविधामा कर छुट पाउने व्यवस्था गरिदिन सकिन्छ । त्यसले यहाँ कमाएको पुँजीलाई घरजग्गामा लगानी गर्न उत्प्रेरणा मिल्छ । विदेशमा कमाएको पुँजीलाई यहाँ ल्याउने वातावरण पनि सहज पारिदिनु पर्छ । 

नेपालमा पनि दसौँ हजार मानिसहरू स्वदेशमा बसेर विदेशको काम गरेका छन् । उनीहरूले डलरमा पैसा लिइरहेका छन् । उतै पैसा राखेका छन् र उतै लगानी गरेका छन् । त्यो पैसा नेपालमै आओस् भन्ने उद्देश्यले पैसालाई आकर्षित गर्ने नीति अघि सारिनु पर्छ । 

नेपालमा एउटा घर किन्यो भने ऊ यहीँ फस्छ । त्यसको किस्ता तिर्नुपर्छ । नियमित पैसा यहीँ राख्न थाल्छ । त्यसले यहीँ बस्नुपर्छ भन्ने सोचको विकास हुन्छ । तर बीउ पुँजी नै बाहिर गयो भने उतै अपार्टमेन्ट किन्ने, उतै क्रेडिट कार्ड लिने हुन्छ । त्यसपछि अहिले नेपालमा बस्नेहरू पनि बिस्तारै विदेशतर्फ आकर्षित हुन थाल्छन् । जनसङ्ख्याको त्यस्तो बहिर्गमन रोक्नुपर्छ । त्यसले व्यापारिक चक्र बढ्न थाल्छ र अहिले थप लगानी हुने घरजग्गाको कारोबारमा पनि सुधार आउँछ । 

रोजगारीको सम्बन्धमा पनि अहिले निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरूको उपयोगिता घटेपछि रोजगारीमा पनि नकारात्मक असर परेको छ । यसको असर कति गहिरिएको छ ? 

अहिले रोजगारीमा पनि असाध्यै डरलाग्दो स्थिति छ । नयाँ उद्योग थपिने त टाढाको कुरा, भएकै उद्योगहरू पनि पूर्ण क्षमतामा चल्न नसक्दा मानिसहरूले रोजगारी गुमाउँदै गएका छन् । हरेक वर्ष आफूले पाइरहेको सेवा सुविधा बढ्दै जाओस् भन्ने मानवीय चाहना हुन्छ । तर अर्थतन्त्र सङ्कुचित हुँदै जाँदा अवसरको सिर्जना बढ्न सक्दैन । उद्योगीले पनि पहिलेजस्तै आवश्यकताको परिपूर्ति गरिरहन नसक्ने अवस्था आउँछ । नैराश्यता बढ्दै जान्छ । 

भएका मान्छेले काम छोड्दै जाने, नयाँ मान्छे नआउने, भएका उद्योग पनि पूर्ण क्षमतामा नचल्ने अवस्था बन्न थाल्छ । अहिले हाम्रो अर्थतन्त्र त्यही बाटोमा छ । कुनै पनि एउटा उद्योगको कामदार भनेको अरू कयौँ उद्योगको लागि उपभोक्ता हो । एउटा कामदारले आम्दानी गुमाउँदा कयौँ उद्योगको उपभोक्ता घट्छ । यही चक्रमा अहिले सिंगो अर्थतन्त्र परेको छ ।


प्रतिक्रिया दिनुहोस्