मागभन्दा बढी आवेदन परेपछि सानिमा इक्विटी फण्ड २ को निष्कासन आजै बन्द हुँदै
काठमाडाैं । सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज (जेठ ४ गते) अन्तिम दिन हाे ।
सानिमा क्यापिटलले बैशाख २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि जेठ ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएपनि मागभन्दा बढी आवेदन परेका कारण सोभन्दा अगावै निष्काशन बन्द हुन लागेकाे हाे ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने याे १० वर्षे बन्दमुखि योजनाको इकाई हो। सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ।
निष्काशन गरिएको कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन्।













