ऊर्जा क्षेत्रमा निजी लगानीको प्रवर्द्धन गर्न कांग्रेसले कसरी काम गरिरहेको छ ? सभापति देउवाको विचार
निजी क्षेत्रले जलविद्युत उत्पादनमा गरेको प्रगति र उपलब्धि प्रशंसनीय छ। निजी क्षेत्रले ऊर्जा उत्पादनमा गरेको योगदानका कारण अहिले मुलुकले लोडसेडीङको समस्या भोग्नु परेको छैन।
नेपाली कांग्रेस जलविद्युत उत्पादनमा पनि निजी क्षेत्रको लगानी आवस्यक छ भन्ने पक्षमा सुरु देखिनै छ।
नेपाली कांग्रेसको सरकारले तत्कालिन कांग्रेस नेतृ शैलजा आचार्य उपप्रधान एवं जलस्रोत मन्त्री भएका बेला जलबिद्युत उत्पादनमा निजि क्षेत्रको लगानी खुल्ला गर्नुभएको थियो ।
त्यही नीतिकै कारण आज निजि जलविद्युत उत्पादनमा झण्डै ८० प्रतिशत हिस्सा ओगट्दै अर्बौं लगानी गर्ने वातावरण बनेको हो।
ऊर्जा उद्यमीहरुले शेयर निष्काशनमा ढिलाई, विद्युत खरिद सम्झौता (पीपीए) नभएको, राष्ट्रिय निकुञ्जभित्र आयोजना निर्माण गर्न नपाएको, समयमै प्रसारण लाइन नबन्दा बिजुली खेर गएको, वन मन्त्रालय सरकारी निकायहरुमा प्रक्रियागत झन्झट रहेको र लामो समय लाग्ने गरेको लगायतका थुप्रै समस्याहरु उठाउँदै आएका छन् ।
यस्ता कुरामा सरकारले सहजीकरण गर्ने हो, दुःख दिने होइन। मुलुकलाई अहिले निजी क्षेत्रको लगानीको खाँचो छ। निजी लगानीविना देशको विकास सम्भव हुँदैन र देशले आर्थिक समृद्धि हासिल गर्न पनि सक्दैन भन्नेमा हामी पूर्ण विश्वास गर्छौं ।
नेपालले आर्थिक तथा सामाजिक विकासमा अहिलेसम्म प्राप्त गरेको उपलब्धिको पछाडी देशले अघि बढाएको उदारवाद र निजीकरणको नीति हो भन्नेमा दुई मत छैन। यसको कार्यान्वयनको क्रममा भएका कमीकमजोरी अन्त्य गरेर निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ।
विद्युत उत्पादन बढ्दै जानु खुशीको कुरा हो। आज देशभित्र लोडसेडिङ छैन। छिमेकी मुलुकहरुसँग विद्युत व्यापार पनि सुरु भएको छ।
अझै स्वदेशभित्र धेरै उद्योग व्यवसाय सञ्चालन गरेर बढीभन्दा बढी बिजुली खपत गराउनु पर्दछ।
म प्रधानमन्त्री भएका बेला पहिलोपटक ३९ मेगावाट विद्युत व्यापार सुरु भएको थियो। म प्रधानमन्त्री हुँदा नै भारतसँग संयुक्त सहकार्यका लागि समझदारी गरिएको थियो । त्यसकै जगमा अहिले भारतसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विद्युत व्यापार हुन थालेको छ।
अहिले उत्पादित बिजुली खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो। यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ। लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल विधि अपनाएर लगानी गर्ने वातावरण बनाउने हो।
(इप्पानको २३ औं साधारणसभाको उद्घाटन शत्रमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको मन्तव्यको अंश ।)












