नर्भिक अब ‘कोभिड अस्पताल’ « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

नर्भिक अब ‘कोभिड अस्पताल’



काठमाडौं । यस नर्भिक इन्टरनेशनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएको छ ।

नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको निकै दिन भइसकेको छ ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताउनुभयो । उहाँले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि गर्नुभएको घोषणाको सिंहले स्वागत समेत गर्नुभयो । नर्भिकले कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको थियो । उहाँले भन्नुभयोः सरकारले समेत सोहीअनुसारको घोषणा गरेकोमा हामी खुशी छौं । अब अरुले पनि आफ्नो सेवालाई कोभिड केन्द्रीत गर्नुपर्ने देखिएको छ ।

कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शैयामध्ये ९० शैया कोभिड शैयाको रुपमा रुपान्तरित भइसकेका छन् । ती ९० शैया कोभिडका बिरामीले भरिएका छन् ।

नर्भिकमा रहेका ३५ आइसियू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ । हाम्रो अस्पतालमा उपलब्ध बेडहरु अहिले भरिभराउ छन् । सिंहले भन्नुभयो ः हामीले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौं ।


प्रतिक्रिया दिनुहोस्