चर्चा ज्यादा, भोट कमः सामाजिक सञ्जालले ‘हिरो’ बनाएका उमेद्वार कसरी भए चुनावमा ‘जिरो’? « Arthapath.com
११ मंसिर २०७९, आईतवार

चर्चा ज्यादा, भोट कमः सामाजिक सञ्जालले ‘हिरो’ बनाएका उमेद्वार कसरी भए चुनावमा ‘जिरो’?



काठमाडौं । मकवानपुरका दीपककुमार उर्फ युग पाटकले केपी ओलीलाई टक्कर दिन भनेर झापा ५ बाट स्वतन्त्र उमेदवारी दिए । तर ५२ हजार ३१९ मत ल्याएर केपी ओली निर्वाचित हुँदा पाठकको चुनाव चिन्ह पुतलीमा केवल ३ सय ५६ वटा स्वस्तिक छाप लाग्यो । उनी भोटका आधारमा आठौं नम्बरमा पुगे ।

दासढुंगा, खाग, बधशाला, ग्रेटरनेपालजस्ता फिल्म बनाएका निर्देशक मनोज पण्डित सुरुमा त केपी ओलीलाई नै चुनौति दिन चाहन्थे । युग पाठकले नै ओलीलाई भ्याइदिन्छन् भन्ने बुझाइ भएपछि उनी ओलीका प्रिय एवम् ७० करोड भ्रष्टाचारको आरोप खेपेर चुनावी मैदानमा होमिएका गोकुल बास्कोटालाई सजिलै हराउन सकिने मनस्थितिमा पुगे । यसरी काभ्रे २ बाट प्रतिस्पर्धा गरेका उनले १ सय ७३ मत पाए । गोकुलले ४५ हजार ३ सय ४५ मत ल्याएर चुनाव जितेका छन् ।

बौद्धिक वर्गको ठूलै सहानुभूति बटुलेका र राजनीतिक विश्लेषककै छबि बनाएका साझा पार्टीका मीलन पाण्डे काठमाडौं ९ बाट प्रतिस्पर्धा गरेका थिए । उनले पनि जित्ने त टाढाको कुरा, जमानत गोगाउन पनि सकेनन् । झण्डै १२ हजार भोट ल्याएर एमालेका कृष्णगोपाल श्रेष्ठले चुनाव जित्दा पाण्डेको भागमा २३ सय २७ मत पर्यो । उनी बढी मत पाउने उमेदवारको सूचीमा पाँचौं भए ।

सामाजिक सञ्जालमा सबैभन्दा धेरै पैसा खर्च गरेर प्रचार गरेका स्वतन्त्र उमेदवार श्रीराम गुरुङले काठमाडौं ५ मा २७ सय ६१ मत पाए । कांग्रेस नेता प्रदीप पौडेलले जितेको यो क्षेत्रमा गुरुङ पाँचौं स्थानमा रहे । बाजुराबाट काठमाडौं आएर सामाजिक सञ्जालमा भाइरल भएका हेमराज थापा पनि चर्चित युवा उमेदवार थिए । काठमाडौं ५ मै स्वतन्त्र उमेदवारी दिएका उनले २४ सय ४६ मत पाएर छैटौं भए ।

६ वर्षअघि नवगठित विवेकशील नेपाली पार्टीबाट काठमाडौं महानगरको प्रमुख पदमा प्रतिस्पर्धा गरेकी रञ्जु दर्शना (न्यौपाने)ले २३ हजार ४ सय ३९ मत पाएकी थिइन् । चुनाव हारेपछि सेल पकाएर बेच्न थालेकी उनी सेललाई नै चुनाव चिन्ह बनाएर काठमाडौं ५ मा स्वतन्त्र उमेदवार बनेकी थिइन् । तर उनलाई यो पल्ट काठमाडौंले पत्याएर । केवल ६ सय भोट पाएर उनी नवौं उमेदवार बन्न पुगिन् ।

३६ वर्षे उमेरमै सर्लक्कै कपाल फुलिसकेकी मानुषी यमी भट्टराई अर्थात् अस्मिता सिंह अर्को चर्चित उमेदवार हुन् । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी भएकाले उनको चर्चा यसै थियो । पढेलेखेकी र दर्शनसम्बन्धि तर्क गर्न सक्ने उनलाई मिडियाले पनि खुबै रुचाएका थिए । बाबुरामले माओबादी अध्यक्ष पुष्पकमल दाहाललाई गोरखास्थित आफूले चुनाव जितेको क्षेत्र छाडेर छोरीलाई सट्टामा जिताउने प्रयास गरेपछि उनी सत्ता गठबन्धनको साझा उमेदवार बन्न पुगिन् । तर देशैभर सक्षम युवा नेतृत्वको लहर आउँदा यमी ४३ वर्षका गणेश पराजुलीमात्रै होइन, ६८ वर्षमा श्यामकुरमा घिमिरेभन्दा पनि पछि परिन् । उनलाई काठमाडौं ७ का मतदाताले ६ हजार ६३ भोट दिएर तेस्रो बनाइदिए ।

यो चुनावले जबरजस्त जिताएको चर्चित उमेदवार सागर ढकाल बन्न पुगे । प्रधानमन्त्री शेरबहादुर देउवालाई हराएर एक्लै प्रधानमन्त्री बन्छु भन्दै गुल्मीबाट डडेलधुरा पुगेका ढकाल चुनाव घोषणा भएयता निकै चर्चामा रहे । तीन महिनासम्म डडेलधुरामै बसेर ढाका टोपी ढल्काउने, ध्यान–तपस्या गर्ने, व्रत र पूजापाठ गर्ने, स्थानीय भाषा बोल्नेजस्ता भिन्न गतिविधीले उनलाई सधैं चर्चामा मात्रै राखेन, डडेलधुराजस्ता कांग्रेसको किल्लामा पुगेर उनले प्रधानमन्त्रीमाथि कडा टक्कर प्रस्तुत गरे । एमालेको समेत समर्थन पाएको विद्रोही कांग्रेस कर्णबहादुर मल्लभन्दा झण्डै दोब्बर अर्थात् १३ हजार ४३ मत पाएर उनी देउवापछि दोस्रो स्थानमा देखिएका छन् ।

आम रुपमा सरकार र राजनीतिक नेतृत्वप्रति असन्तुष्टि पोख्न अचेल सामाजिक सञ्जालको खुब प्रयोग हुन्छ । ठूला आमसञ्चार माध्यमहरुभन्दा सामाजिक सञ्जालहरु यस मानेमा निकै लोकप्रिय छन् । झ्वाट्ट हेर्दा सामाजिक सञ्जालले राज्य शक्तिलाई नै दवाबमा राख्न थालेको आँकलन हुन थालेको छ । ब्यापक अन्तरक्रिया र सशक्त प्रतिरोधका कारण सामाजि सञ्जालहरु राजनीतिक शक्तिमाथि ठूलो चूनौति बनेका छन् ।

यही सञ्जालहरु नागरिकलाई आफ्ना समस्या र गुनासो सरकारको उपल्लो स्तरसम्म पुर्याउने अवसर पनि भएको छ । राजनीतिक बृत्तमा यति ठूलो हस्तक्षेप गर्न पुगेको सामाजिक सञ्जाल र त्यसभित्र बहस छेड्ने बौद्धिक वर्गको ताकत बढेको देखिएको थियो । तर यस्तै प्लेटफर्महरुमा चर्चा बटुलेका केही उमेदवारलाई मतदाताले हिस्सा पारिदिएका छन् । जुन कुराले सामाजिक सञ्जालको चर्चामात्रै राजनीतिक नेतृत्वमा पुग्ने आधार हुन सक्दैन भन्ने दलिल यो पल्ट सबैले बुझ्ने गरी प्रस्तुत भएको छ ।


प्रतिक्रिया दिनुहोस्