शिवरात्रिमा गाँजाः ‘शिबबुटी’ कि लागुपदार्थ ? « Arthapath.com
६ फाल्गुन २०७९, शनिबार

शिवरात्रिमा गाँजाः ‘शिबबुटी’ कि लागुपदार्थ ?



आरजी बिद्रोही

आज शिवरात्री । हिन्दूहरुका लागि महादेव, पशुपतिनाथ अर्थात् शिवको उच्च आस्थाले भरिएको दिन । जिवनमा कहिल्यै गाँजा नतान्नेहरु पनि यसदिन ‘शिबबुटी’ का नाममा त कोही यसैका निहूँ र बहानामा गाँजामा लठ्ठिरहेका भेटिन्छन् भने कतिपय यसमै बेग्लै मज्जाको स्वर्ग देख्न चाहनेहरुका लागि एउटा उत्सवको समय । धार्मिक आस्था र विश्वासमा जिवन देख्नेहरुका लागि एउटा विषेश पवित्र पर्व । यी इत्यादी जे भनेपनि हामी आम नेपालीहरुका मन मस्तिष्कमा भने शिवरात्री भन्नेबित्तिकै गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवन गर्नेदिन अर्थात् गर्नैपर्ने विषेश चाड भन्ने आम धारणा नै बनिसकेको छ ।

गाँजाको असर
कानुनले गाँजा सेवनलाई अवैध मानेको छ तरपनि शिवरात्रीको दिन गाँजा सेवन गर्नेमा साधु सन्तदेखि सर्वसाधारण पर्छन् । नशालु पदार्थ भाङ, गाँजा धेरै सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । धेरै सेवन गरे स्मरण क्षमता कम हुने मात्र हैन मस्तिष्कमा समेत गम्भीर असर गर्ने चिकित्सकहरु बताउँछन् । गाँजा, भाङमा ६० भन्दा धेरै प्रकारका क्यानाबिनोइड हुने गर्दछन् । गाँजा सेवन गर्दा यस्ता रसायनहरू हाम्रो मस्तिष्कमा पुग्ने हुँदा यसले हाम्रो शरीरलाई नै असर पुरयाउने गर्छ ।

गाँजा, भाङजस्तो पदार्थ सेवनपछि मानिसले एक किसिमको अनौठो व्यवहार देखाउँछन् । त्यसैले गाँजा सेवनपछि कोही हाँसेको हाँस्यै गर्छन् भने कोही रोएको रोयै । चिकित्सकीय भाषामा यसलाई युफोरिया भन्ने गरिन्छ । नियमित गाँजा सेवनको शरीर लठ्ठ हुने गर्छ भने कहिले काहीँ मात्र सेवनलाई विनाकारण नै रमाइलो लाग्ने हुँदा मानिसहरू हाँसिरहने रहने गर्छन् । कोही भने विनाकारण रुने गर्छन् ।

बैधानिकताको बहस

सरकारद्वारा गाँजा प्रतिबन्धित भएका कारण यसको ओसारपसार लुकीछिपी हुन्छ । नेपालमा कति मानिसले गाँजा खान्छन् भन्ने कुनै अभिलेख छैन, तर हरेक गाउँमा रैथाने गाँजाका अम्मलीहरू थुप्रै भेटिन्छन् । बिक्रीमा घोषित प्रतिबन्ध छ तर सहरमा किनबेच रोकिएको छैन । यसको खेती गर्नु गैरकानुनी हुन्छ । त्यसकारण प्रहरीले बेला–बेला गाँजा नष्ट अभियान चलाउँछ ।
पछिल्ला दिनमा गाँजामाथि लगाइएको कानुनी प्रतिबन्ध फुकाउने–नफुकाउनेबारे बहस बढ्दो छ । संसददेखि सामाजीक सञ्जालसम्म यसको बहसले प्राथमिकता पाएको छ । सामाजीक सञ्जालमा पनि निकै पहिलेदेखि अभियान नै चलेको छ । नेपाल गाँजा वैधानिक महाअभियानका नाममा जय देश, जय चरेश जस्ता नाराले नेपालमा गाँजालाई खुला गर्न दबाब र प्रेरित दुवै गरिरहेको पाइन्छ ।

तीन वर्षअघि त प्रतिनिधिसभाका ५० जना सांसदले गाँजामा लगाइएको कानुनी प्रतिबन्ध फुकुवा गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरे । यसपछि गाँजा–बहसले सार्वजनिक छलफलको विषय बन्ने मौका पायो । प्रस्तावक रहेका तत्कालिन सत्तारुढ दल नेकपाका सांसद् तथा हाल नेकपा (एकिकृत समाजवादी) का विरोध खतिवडाले प्रतिनिधिसभामा बोल्दै गाँजालाई वैधानिकता दिनुपर्ने माग गरेका थिए । नेपालको आर्थिक तथा सामाजिक विकासका लागि गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर व्यावसायिक खेती गर्नुपर्ने उनको जिकिर थियो ।

एमालेका अर्का नेता केशव स्थापित पनि लामो समयदेखि गाँजामाथि प्रतिबन्ध फुकुवा माग गर्दै आएका छन् । स्थापितले त यसलाई समृद्धिको मुद्दासँग जोडेर चर्चा गर्दै आएका छन् । उनी भन्छन्, ‘कुनै समय एक अमेरिकी डलर बराबर नेपाली ६ रुपैयाँ हुन्थ्यो । आज १ सय ३५ रुपैयाँ पुगेको छ । उनीहरूले हामीसँग भएको प्राकृतिक स्रोतमाथि प्रतिबन्ध लगाएर त्यसको उत्पादन आफैंले गरिरहेका छन् । यसरी हामी झन्पछि झन् गरिब र उनीहरू धनी भइरहेका छन् ।’

२०३३ सालअघि नेपालमा गाँजाको कारोबार खुला थियो । त्यसपछि कानुन बनाएर लगाएको प्रतिबन्धको ४३ वर्षपछि गाँजा फुकुवाको आवाज संसदमा उठेको हो, जसको खुलेर विरोध गर्नेहरू खासै देखिएका छैनन् । प्रतिपक्ष कांग्रेसले आधिकारिक धारणा व्यक्त नगरे पनि केही नेता गाँजा फुकुवा गर्नुपर्ने पक्षमा देखिएका छन् । त्यसैमध्येका एक हुन् कांग्रेस नेता ऋषिकेशजंग शाह । उनी गाँजा प्रतिबन्ध फुकुवा गर्नुपर्छ भनेर खुलेरै लागेका छन् । ‘यस विषयमा खुलेरवकालत गर्नेमा पार्टीमा अहिले एक्लोजस्तै छु’ उनी भन्छन्, ‘संसदमा उठेको गाँजा फुकुवाको मुद्दामा कांग्रेसले सहमति जनाउनुपर्छ भन्ने मेरो धारणा छ । त्यतिबेला नेकपाले संसदमा कुरा उठायो भन्दैमा यसलाई उसको मात्र मुद्दा सम्झिएर राम्रो काममा साथ दिनबाट हामी पछि हट्नु हुँदैन ।’

नेपाली गाँजा बजार
‘यहाँ गाँजा र चरेस पाइन्छ ।’ प्रतिबन्ध हुनुअघिसम्म वसन्तपुर, झोंछे एवं ठमेल क्षेत्रमा यस्तै साइनबोर्ड देखिन्थे । त्यतिबेला पान–सुपारी जस्तै गाँजाको बेचबिखन हुन्थ्यो । खुलमखुला, निर्वाध । गाँजाको धुँवामा मन–मग्न हुनकै लागि पश्चिमा मुलुकका तन्नेरीहरू नेपाल भित्रिन्थे । त्यससँगै जिन्स, गिटार र पप संगीत भित्रियो, जो हिप्पी संस्कृतिका रूपमा परिचित छ ।

त्यस समयको आसपास नेपालमा उत्पादित गाँजा दक्षिण एसियाली मुलुकमा निर्यात हुने गरेका विभिन्न तथ्यांक उपलब्ध छन् । २००८ सालमा खाद्य तथा कृषि मन्त्रालयले प्रत्येक जिल्लामा १० विगाहा जग्गामा गाँजाको खेती गर्न आह्वान गरेको थियो । त्यसअघि नागरिकले आफ्नो इच्छाअनुरूप गाँजा खेती गर्दै आएका थिए । १८७५ मा फ्रान्सिस ह्यामिल्टनद्वारा लिखित पुस्तक ‘एन अकाउन्ट अफ द किङ्न्डम अफ नेपाल’ मा नेपालको गाँजा खेतीबारे पनि उल्लेख गरिएको छ । सो समयमा नेपालमा अत्यधिक मात्रामा गाँजा खेती हुन्थ्यो । यो नेपाली समाजको आर्थिक उपार्जनको एक माध्यम भएकोसमेत पुस्तकमा उल्लेख छ ।
नेपालको तराई–मधेशसँगै मध्य र पश्चिम पहाडका जिल्लामा प्रसस्त मात्रामा उत्पादन हुने गाँजा दोस्रो विश्वयुद्धदेखि विदेशमा ब्रान्डका रूपमा बिक्री वितरण सुरु भएको इतिहासमा उल्लेख छ ।

सन् १९६० को दशकमा स्वतन्त्रताको नारासहित हिप्पी युगको सुरुवात भयो । युरोप, ग्रीस, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, भारत हिप्पी यात्रा नेपाल आइपुग्यो । हिप्पी ट्रेलमा गाँजाको अत्यधिक व्यापार हुन थालेपछि पश्चिमा देशले हिप्पी ट्रेलका देशलाई गाँजामा कडाई गर्न निर्देशन दिए । त्यसपछि नेपालले पनि २०१७ सालमा आएको नार्कोटिक महासन्धिमा हस्ताक्षर गरेर गाँजामाथि प्रतिबन्ध लगायो । हिप्पी बनेर नेपाल आएका अमेरिकीहरू आलू औषधमा लठ्ठिएर यतै बस्न थालेपछि अमेरिकाले नेपालमाथि यस्तो प्रतिबन्ध लगाउन दबाब दिएको थियो ।

मर्सी कप्र्सले आफ्नो रिपोर्टमा गाँजामाथिको सरकारी प्रतिबन्धलाई माओवादी जनयुद्धको एउटा कारण भएको उल्लेख गरेको छ । गाँजामा निर्भर रहेका परिवारमाथि प्रतिबन्धले आर्थिक संकट आएको र उनीहरू जनयुद्धमा होमिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘३० वर्षअघिसम्म नेपालको पश्चिम पहाडी भाग सम्पन्न क्षेत्र थियो । उनीहरूसँग वर्षभरिलाई चाहिने खाद्यान्न, नुन, तेल र परिवारका हरेक सदस्यका लागि एक जोडीभन्दा बढी लत्ताकपडा, चाँदीको सिक्काले बनेका हार र बाला, सुनका आभूषण किन्न पर्याप्त पैसा हुन्थ्यो ।’ त्यो पैसा उनीहरूले गाँजाको कारोबारबाट प्राप्त गर्ने गरेको प्रतिवेदनमा लेखिएको छ ।

जसअनुसार सन् १९३० को सुरुवातदेखि १९७० सम्म रेड जोन नेपाली गाँजाको प्रमुख उत्पादनकर्ता थियो, जसको गुणको विश्वभर चर्चा हुन्थ्यो । दोस्रो विश्वयुद्धको दौरान नेपाली गाँजा भारतमा प्रमुख निर्यात बनिसकेको थियो । रेड जोनका जंगलहरूमा नै गाँजाका बोटहरू उम्रन्थे भने कम जनसंख्या भएको उत्तरी रुकुमका सबै भाग, उत्तरी रोल्पाका धेरै जसो भाग र पूर्वी सल्यान र सुर्खेतका केही साना क्षेत्रहरूमा गाँजाका बोटहरू पाइन्थे । बोटका बोक्राहरू पारम्पिरक रूपमा डोरी बनाउन प्रयोग गरिन्थ्यो भने त्यसबाट निस्कने खस्रो रेशमलाई झोला र राम्रो रेशमलाई मगरहरूको पारम्परिक पहिरन बुन्न प्रयोग गरिन्थ्यो । गाँजाको दाना चट्नी र अचारको मसला बन्थ्यो । आजभन्दा ४३ वर्षअघि गाँजामाथि प्रतिबन्ध लागेपछि औषधिहरूको उत्पादनसँगै यसको निर्यात पनि बन्द भयो । गाँजा खेती र उत्पादन हुन छाड्यो ।

नेपालमा प्रतिबन्ध र विश्व अभ्यास
लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (क) मा गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार–पसार गर्न, सञ्चय गर्न वा सेवन गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ । जसअनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र दुई हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ । यसको व्यवसाय वा कारोबार गर्ने व्यक्तिलाई गाँजाको परिणामअनुसार हदसम्म जन्मकैद र ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
ऐनमा भाङ, गाँजा मूलका जुनसुकै बोट, पात, फूलका साथै बोटबाट आउने चोप, खोटो र चरेसलाई लागूऔषध किटान गरेको छ । यी चिज मिसाएर बनाइने औषधिलाई पनि ऐनमा लागू औषधकै श्रेणीमा राखिएको छ ।

तर, अहिले विश्वका ६५ भन्दा बढी देशले गाँजामाथिको प्रतिबन्ध हटाइसकेका छन् । छिमेकी देश भारतले गाँजा खेतीबाट वार्षिक ६ खर्ब आर्थिक उपार्जन गरिरहेको विभिन्न तथ्यांकले देखाएको छ । थाइल्यान्डमा पनि हालसालै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर औषधिका रूपमा प्रयोग गर्न तथा खेती गर्न खुला गरिएको छ । क्यानाडामा वि.सं. १९७९ मा प्रतिबन्धित गाँजा विं सं. २०५७ देखि औषधि प्रयोजनका लागि खुला गरियो । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले त हालसालै गाँजाको व्यक्तिगत प्रयोग र खेतीमा प्रतिबन्ध लगाउनु ‘नागरिकको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हुने’ फैसला गरेको थियो ।

नेपालले अमेरिका तथा युरोपेली देशको लहलहैमा लागेर यसरी गाँजामाथि प्रतिबन्ध लगाएको तर्क यतिबेला बहसमा छ । ती देशहरू आफैंले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुलाई त्यसको प्रमाण मानिएका छ । पश्चिमा देशहरूले गाँजामाथि प्रतिबन्ध लगाएर अन्य देशलाई दबाब दिएको नेकपा सांसद विरोध खतिवडाको तर्क छ । उनी भन्छन्, ‘अहिले उनीहरूले गाँजाखेती फुकुवा गरेर राम्रै आयआर्जन गरिरहेका छन् । हामी भने उनीहरूले देखाएको पुरानो बाटोमा हिँडेर राम्रै सम्भावना पनि गुमाइरहेका छौँ ।’

नेपालले राष्ट्रसंघको महासन्धि ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ मा हस्ताक्षर गरेको छ । जहाँ गाँजालाई हिरोइनजस्तै कडा लागूऔषधको दर्जा दिइएको छ । केही देशले गाँजाजन्य औषधि बनाउने शर्तमा सो महासन्धिमा हस्ताक्षर गरेका छन् । क्यानाडाले मेडिकल र गैरमेडिकल दुवै उद्देश्यमा गाँजाजन्य पदार्थको प्रयोगमा छुट पाउने सर्तमा सो सन्धिमा हस्ताक्षर गरेको थियो । नेपालले भने महासन्धिमा रहेका सबै शर्तहरू कबुल गरेको छ । त्यसैले, नेपालमा गाँजा फुकुवा गर्नका लागि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ परिमार्जन गरेर मात्र हुँदैन । नार्कोटिक महासन्धिमा पनि आवेदन दिनुपर्छ ।

नेपाललाई गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिएको संयुक्त राष्ट्रसंघले पछि गाँजालाई वैद्यानिकता दियो । कोफी अन्नान संयुक्त राष्ट्रसंघको महासचिव हुँदा २०६० सालतिर अन्तर्राष्ट्रिय रूपमा गाँजाको अनुसन्धान गर्न लगाएका थिए । त्यतिबेला विश्वको सबैभन्दा उच्चतम गाँजाको क्वालिटी नेपाल र थाइल्यान्डको गाँजामा भेटिएको थियो । सांसद खतिवडा भन्छन्, ‘त्यसपछि संयुक्त राष्ट्रसंघले नेपाललाई पत्र पठाएको रहेछ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदाको त्यो समयमा त्यसका लागि केही चहलपहल पनि सुरु भएको रहेछ । तर, छिमेकीहरू रिसाउँछन् भनेर हो कि किन हो प्रक्रिया अगाडि नबढेर थन्किएछ ।’ जानकारहरूका अनुसार त्यतिबेला नेपालमा गाँजामाथि प्रतिबन्ध लागेपछि भारतको गाँजाले बजार पाएको थियो । त्यसैले नेपालमा प्रतिबन्ध फुकुवा नगर्न भारतको दबाब थियो ।

गाँजा ः औषधि कि लागूऔषध ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरेको अनुसन्धानले गाँजालाई ९८ प्रतिशत औषधिजन्य वनस्पति हो भनेर प्रमाणित गरेको छ । यसको बोटानिकल नाम क्यानाबिस स्याटिवा हो । आयुर्वेदमा समेत गाँजाको औषधिय महत्व छ ।

आयुर्वेदका अनुसार गाँजालाई दुखाइ कम गर्ने, श्वास–प्रश्वास, दम, खोकी, नाकबाट पानी बगिरहने, पाचन प्रक्रियासम्बन्धी समस्याहरूमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । औषधि बन्ने क्रममा २५ सय बढी औषधिमा कुनै न कुनै प्रकारले गाँजाको प्रयोग भइरहेको छ ।

अथर्व वेदअनुसार पाँच आधारभूत वनस्पतिमा गाँजा पर्छ । यसले स्वतन्त्रता, खुसी र एकाग्रता प्रदान गर्छ । विभिन्न रोग लाग्दा गाँजाको पात, फूल र फल खुवाउने चलन पनि छ । गाँजाको फल भाङ्ग पनि स्वास्थ्यवद्र्धक मानिन्छ । कोलेरा, कोलाइटिज, मानसिक रोग, रुघाखोकी, ज्वरो आदिमा गाँजाको थोरै मात्रा हालेर औषधि बनाइन्थ्यो । गाँजा मानिसलाई मात्र नभएर जनावरका लागि पनि फाइदाजनक मानिन्छ । गाउँघरमा गाईवस्तु बिरामी हुँदा गाँजाको पात खुवाउने चलन छ । एक व्यक्तिले ६० देखि १ सय २५ एमजीसम्म गाँजा खाँदा स्वास्थ्यका लागि हानिकारक हुँदैन ।

सिंहदरबार वैद्यखानाको अभिलेखअनुसार आयुर्वेदमा गाँजालाई ‘विजया’ नामले चिनिन्छ । जसबाट बनेका औषधिको प्रयोगले मानसिक रोग, शीघ्र स्खलन, अनिद्रा, झाडापखाला, अत्यधिक पीडाजस्ता रोग तथा समस्याको निराकरण हुन्थ्यो । गाँजाको कण मिसाएर तयार पारिने ‘मोदनानन्द मोदक’ मानसिक रोग, ‘रातोबरी’ छाडापखाला, ‘त्रिभुवन कृति रस’ ज्वरो आएको, ‘नारदीय लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने र ‘सर्पगन्धा’ उच्च रक्तचापका बिरामीका लागि औषधि हुन् । शीघ्र स्खलन रोक्नका लागि ‘पूर्णचन्द्रोदय रस’ र ‘भोग सुन्दरीको टीका’ नामक औषधि विशेष महत्वका छन् ।

वैद्यखानाका प्रबन्ध निर्देशक वंशदीप खरेल २०३२ सालसम्म वैद्यखानाले गाँजाबाट बनेका थुप्रै औषधिहरू बनाउने गरेको भए तापनि प्रतिबन्धपछि त्यस्ता औषधिको उत्पादन बन्द भएको बताउँछन् । भन्छन्, ‘प्रतिबन्धपछि स्टोरमा बाँकी रहेका औषधि केही समय बिक्री भयो । रातोबरीले २०४६–४७ सालतिर छाडापखालाको प्रकोप फैलिएको बेला प्रकोप नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको वैद्यखानाको अभिलेखमा उल्लेख छ ।’ दुई चक्की प्रयोग गरेको खण्डमा यो औषधिमा कडा झाडापखाला तत्कालै रोक्नसक्ने क्षमता रहेको उनले जानकारी दिए । फ्लु चलेको बेलामा पनि गाँजाबाट बनेका औषधिको प्रयोग उत्तम रहेको अभिलेखमा उल्लेख छ ।

गाँजा रोप्ने कि मास्ने ?
गाँजाको सन्दर्भमा नेपाली समाज द्विविधाग्रस्त छ । एकथरी भन्छन्, यो औषधिय महत्वको वनस्पति हो । अर्काथरीले यसलाई लागूऔषधका रूपमा व्याख्या गर्छ । आयुर्वेद शिक्षण अस्पतालका प्रमुख डिबी रोका गाँजाको औषधिय महत्वमा जोड दिन्छन् । यसबारे नेपाली परम्परागत ज्ञान मासिने वा चोरिने अवस्थामा रहेक ाले व्यवस्थित गर्दै लानुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यस्तो मूल्यवान चिजको महत्व नबुझेर यसमाथि अझै पनि प्रतिबन्ध लगाइराख्ने हो भने हामीले समृद्धिको कल्पना नगरे पनि हुन्छ ।’

समाजमा यसले असर पु¥याउने अवस्थामा गाँजाको प्रयोगका सम्बन्धमा कानुनी रूपमा कडाइ गरेर जानुपर्ने उनको भनाइ छ ।
गाँजाका उपयोगिताबारे आयुर्वेद क्याम्पस कीर्तिपुरमा पढाइसमेत हुन्छ । स्नातक तहका दिर्देगुण विज्ञान र भाव प्रकाश किताबमा गाँजाको आयुर्वेदिक उपयोगिताबारे प्रष्टरूपमा लेखिएको छ । तर, उनीहरूले आफूले पढेका कुरालाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउन सकेका छैनन् । वैद्यखानाका प्रबन्ध निर्देशक खरेल फुकुवा भएको खण्डमा गाँजाको प्रयोग गरेर औषधिजन्य वस्तुको उत्पादन गर्न आफूहरू सक्षम रहेको बताउँछन् ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री भने गाँजा फुकुवा गर्दा औषध दुव्र्यसनीलाई सहजता हुने बताउँछन् । उनी दुव्र्यसनीका कारण थुप्रै अपराधका घटना भएको, परिवारमा विखण्डन आएको र युवा पुस्ता सामाजिक दायित्वबाट बिमुख भएकाले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्दा प्रशस्त गृहकार्य गर्नुपर्नेतिर औंल्याउँछन् । उनी भन्छन्, ‘फुकाउने नै हो भने नियन्त्रण कसरी गर्ने भन्ने कुरामा पहिल्यै प्रष्ट हुनुपर्छ र सोहीअनुसारको नीति–नियम पनि बन्नुपर्छ ।’

पशुपति विकास कोष भन्छ–‘शिवरात्रिमा गाँजा निषेध छ’

महाशिवरात्री पर्वका लागि काठमाडौँको पशुपति क्षेत्रमा आएका साधु सन्तहरु धुनी जगाएर बस्दै ।


पशुपति क्षेत्र धार्मिक एवं सांस्कृतिक महत्व बोकेकाले यहाँ लागूजन्य पदार्थको सेवनमा रोक लगाइएको छ । समाजलाई विकृत बनाउने किसिमका गाँजा, भाङ्ग धतुरोलाई वर्जित गर्नुपर्छ । सधैं जसो यो पटक पनि प्रतिबन्ध लगाइएको छ । पशुपति आसपासका क्षेत्रमा गाँजा किनबेच गरिएको भेटिएमा कारबाही हुनेछ ।

हुनसक्छ, भगवान शिवले भाङ्ग धतुरो सेवन गरे होलान् । भगवान् स्वयम् अग्नि हुन् त्यसैले भगवान्ले सबै कुरा पचाउनुहुन्थ्यो भन्ने धार्मिक मान्यता छ । शिवजी र भाङ्ग धतुरोबीच फरक ढंगले अर्थ खोजिनुपर्छ । तर, भगवान् शिवजीले भाङ र धतुरो खाए भन्दैमा हामीले त्यसलाई प्रसाद मान्नु गलत हो । किनभने हामीले गाँजाको औषधिय महत्व एवं मूल्यलाई बुझ्ने भन्दा पनि त्यसको नसामा डुब्ने प्रवृत्ति अपनायौं । गाँजा सेवन गर्नुपर्छ भनेर पुराण वा कहि कतै लेखिएको छैन ।


प्रतिक्रिया दिनुहोस्