मौद्रिक नीतिको अन्तिम कसरतमा राष्ट्र बैंक, आगामी मंगलबारसम्म जारी हुने « Arthapath.com
२ श्रावण २०८०, मंगलवार

मौद्रिक नीतिको अन्तिम कसरतमा राष्ट्र बैंक, आगामी मंगलबारसम्म जारी हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । राष्ट्र बैंक आगामी आवको मौद्रिक नीति ल्याउने अन्तिम कसरतमा छ ।

साउन पहिलो साता जारी गर्ने भनिएता पनि राष्ट्र बैंकका उच्चपदस्थ टोली देश बाहिर रहेका केही ढिला हुने भएको छ । सम्भवत: आगामी मंगलबारसम्म आगामी मौद्रिक नीति जारी हुनेछ ।

राष्ट्र बैंकका संचालक समितिका अध्यक्ष तथा गभर्नर महाप्रसाद अधिकारी र व्यवस्थापन समितिका वरिष्ठ कार्यकारी निर्देशक देवकुमार ढकाल अहिले देश बाहिर छन् । गर्भनरसहित ३० जनाको टोली सम्पत्ति शुद्धीकरणका विषयमा जवाफ दिन क्यानडा मा छन् । उनीहरु फर्किएपछि मात्रै आवश्यक छलफलबाट नै आगामी मंगलबारसम्म मौद्रिक नीति जारी हुने बताइएको छ ।

राष्ट्र बैंक स्रोतले भन्यो,–‘गर्भननर सहितको टोलि यतिबेला देश बाहिर हुनुहुन्छ । आवश्यक छलफलको लागि समय चाहिने हुँदा केही ढिला हुने भएको छ । छिटोमा आइतबार र ढिलोमा मंगलबारसम्म मौद्रिक नीति जारी हुनेछ ।’ गभर्नर अधिकारीसहितको टोली भोलि अर्थात साउन ३ गते बुधबार मात्रै नेपाल फर्किँदै छन्। उनी बिहिबार नियमित काममा फर्किएपछि शुक्रबारसम्म आवश्यक छलफल हुनेछ । त्यसपछि नै मौद्रिक नीति जारी हुने राष्ट्र बैंकको भनाई छ ।

आगामी मौद्रिक नीतिका लागि निजी क्षेत्र, उद्योगि, बैंक तथा वित्तीय लगायतका सरोकारवाला क्षेत्रसंग पनि राष्ट्र बैंकले छलफल गरिसकेको छ ।

मौद्रिक नीतिमा वर्तमान आर्थिक संकट, उच्च ब्याजदर, कर्जाको न्यून माग लगायतका अवस्थालाई सम्बोधन गर्नुपर्ने बाध्यता छ । साथै, सरकारले हालै सार्वजनिक गरेको बजेटको कार्यान्वयनमा सघाउ पुग्नेगरि पनि मौद्रिक नीति ल्याउन आवश्यक देखिन्छ । समग्रमा अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीति आउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्