आर्थिक संकट गहिरिएपछि अर्जेन्टिनाबाट सिक्ने की ? « Arthapath.com
६ पुष २०८०, शुक्रबार

आर्थिक संकट गहिरिएपछि अर्जेन्टिनाबाट सिक्ने की ?



काठमाडौं । केही समयअघि नेपालमा भटमासको उच्च आयात हुँदा ल्याटिन अमेरिकी देश अर्जेण्टिना हाम्रो चौंथो ठूलो ब्यापार साझेदार बनेको थियो । यही आर्थिक वर्षमा पनि साउनदेखि कात्तिकसम्मको ब्यापार आँकडाअनुसार नेपालले सामान आयात गर्ने प्रमुख १० देशको सूचीमा अर्जेन्टिना पनि परेको छ । तर निर्यात बजारको हिसाबले यो देश ८६ औं स्थानमा पर्छ । त्यही देशमा अहिले नवनिर्वाचित राष्ट्रपति ह्याभियर मिलेई ‘आश्चर्यजनक’ निर्णयहरु लिन थालेका छन् ।

चुनावअघि आफ्नो राष्ट्रिय मुद्रा खारेज गरेर अमेरिकी डलरलाई नै बैधानिक भुक्तानीको माध्यम मुद्रा (टेण्डर करेन्सी) बनाउने घोषणा गरेका उनले केही दिनअघि डलरको तुलनामा आफ्नो मुद्रा पेसोको भाउ ५० प्रतिशतभन्दा धेरै अवमूल्यन गराइदिए । अघिल्लो दिनसम्म १ डलरको विनिमय दर ३९१ पेसो रहेकोमा भोलिपल्ट त्यही १ डलरको भाउ ८०० पेसो हुन पुग्यो ।

दुई साताअघि सत्तामा आएका राष्ट्रपतिले कार्यकाल संहालेको पहिलो दिन नै संघीय मन्त्रालयको संख्या १८ बाट ९ वटामा झार्ने निर्णय गरेका थिए । उनले निर्यातमा लगाइएको सीमा (कोटा) अन्त्य गर्ने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन् । उनले अर्थतन्त्र उकास्न ३०० उपायहरुको लामो फेहरिस्त रेडियो र टेलिभिजनमार्फत् जनतालाई सुनाएका छन् । यसमा राज्यका कम्पनीहरुको निजीकरण गर्नेदेखि सम्पत्ति भाडा नियमन गर्ने कानुनको खारेजीसम्म छन् ।

नवनिर्वाचित राष्ट्रपति ह्याभियर मिलेई ।

एकपछि अर्को यस्ता ‘अत्यासलाग्दा’ कदमहरु चाल्न थालेपछि त्यहाँको बामपन्थी समूहले बेरोजगार युवाहरुलाई समेटेर सडक आन्दोलनमा निस्किएको छ । ‘इतिहासकै खराब’ आर्थिक संकटको सामना गरिरहेको अर्जेन्टिनामा अहिले ४० प्रतिशतभन्दा धेरै नागरिक निरपेक्ष गरिबीको रेखामुनि धकेलिएका छन्, यो भनेको नेपालभन्दा निकै खराब अवस्था हो ।

त्यहाँको बजारमा पोहोरको तुलनामा यस वर्ष १५० प्रतिशतले महँगी बढेको छ । यो भनेको पोहोर १०० पेसोमा पाइने सामानको भाउ अहिले २५० पेसो पुगेको छ । अर्जेन्टिना लामो समयदेखि ‘हाइपर इन्फ्लेसन’ भनिने अनियन्त्रित महँगीको सिकार रहँदै आएको थियो ।

यसअघिको सरकारले सन् साढे ४ वर्ष अघिदेखि नै मूलयबृद्धि नियन्त्रण गर्न भनेर जबरजस्ति आफ्नो मुद्राको भाउ बढाउन डलर बेचिरहेको थियो । तर अब अर्जेन्टिनासँग न त विदेशी सामान किन्न र वैदेशिक ऋण तिर्न डलरब बचेको छ, न त कर्मचारीको तलवभक्ता र विकास निर्माणको भुक्तानी दिन सरकारी ढुकुटीमा पैसा नै छ ।

टाट पल्टिने बाटोमा धेरै अघि बढिसकेको यस मुलुकमा ‘कडा दक्षिणपन्थी’ भनेर चिनिएका मिलेई करीब दुई साताअघि राष्ट्रपतिको कुर्सिमा आइपुगेका छन् । उनले देशको खराब हालतबाट बाहिर निकाल्न ज्यादै छोटो समयमा यस्ता ‘आश्चर्यजनक’ निर्णयहरु गरेका छन् । जसको परिणाम के आउँछ भनेर मूल्यांकन गर्ने बेला भएको छैन ।

नवनियुक्त राष्टपति मिलेईले पदभार ग्रहण लगत्तै ‘आश्चर्यजनक समायोजनको विकल्प छैन’ भनेका थिए । ‘हामीसँग अहिले पैसा छैन । यो स्थिति अझै खराब हुन्छ भन्ने हामीलाई थाहा छ । तर हामी छिट्टै नै ठोस एवम् टिकाउयुक्त विकासको जग हालेर आफ्ना कोसिसहरुको परिणाम देख्ने छौं’ मिलेईलाई उद्र्धृत गर्दै बीबीसीले लेखेको छ ।

सरकारी खर्च घटाउन र बढ्दो मुद्रास्फीति दर नियन्त्रण गर्न यस्ता ‘रुपान्तरणकारी’ कदमहरु चालिरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)जस्ता संस्थाले पनि नयाँ राष्ट्रपति उनको सरकारका कदमलाई स्वागत गरेको छन् । ‘म निर्णायक कामको स्वागत गर्छु’ आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभालाई उद्र्धृत गर्दै बीबीसीले लेखेको छ, ‘यो देशमा स्थिरता कायम गर्न तथा देशको आर्थिक क्षमताको पुनःनिर्माण गर्ने दिसामा एक महत्वपूर्ण कदम हो ।’

आईएमएफले अर्जेन्टिनामा निजी क्षेत्रको विकासका लागि माहोल बनाउन आफूले सहयोग गर्ने बताएको छ । जबकी अर्जेण्टिनाले आईएमएफलाई अहिले नै ४४ अर्ब अमेरिकी डलर ऋण तिर्न बाँकी छ । आगामी जनवरीको अन्त्यसम्ममा अर्जेन्टिनाले आईएमएफ र निजी क्षेत्रका ऋणदाताहरुलाई ४ अर्ब डलरभन्दा बढी कर्जा तिर्नुपर्ने अवस्था छ ।

एजेन्सीहरुको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्