प्रकाशशरणलाई ‘बलिको बोको’ बनाइयोः अर्थमन्त्री पुन « Arthapath.com
४ चैत्र २०८०, आईतवार

प्रकाशशरणलाई ‘बलिको बोको’ बनाइयोः अर्थमन्त्री पुन



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्ना पूर्ववर्ती डा. प्रकाशशरण महतलाई ‘बलिको बोको’ बनाइएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।

‘एक डेढ वर्ष अघि श्रीलंका हुन्छ भनिएको अर्थतन्त्र अहिले त्यही कुरा गलत साबित भएको छ’, उनले भने, ‘यसो हुनुमा सरकारले गरेका प्रयासहरुको महत्वपूर्ण भूमिका छ ।’

उनले एक वर्ष अघि अर्थतन्त्रका विषयमा हुने टिकाटिप्पणी र बहसहरु अहिले नसुनिने अवस्था आएको बताए । ‘पोहोर जुन कुरामा बहस हुन्थ्यो, अहिले हामी बिल्कुल नयाँ कुरामा बहस गरिरहेका छौं । हाम्रा समस्या र चुनौती फेरिएका छन्’, उनले थपे ।

निवर्तमान अर्थमन्त्री महतले चालेका कयौं राम्रा प्रयासहरुबाट नै यो अवस्था आएको उनको तर्क थियो । उनले राजनीतिक समीकरण फेरिनु र गठबन्धन बदलिनुमा वास्तविक कारणहरु अलग्गै भए पनि अर्थमन्त्रीलाई ‘बलिको बोको’ बनाइएको बताए ।

अर्थमन्त्री पुनले आर्थक अनुशासन पालना गर्न, भुक्तानी सन्तुलन मजबूत पार्न र बाह्य क्षेत्रमा देखिएको खाडल पुर्न एवम् गहिरिँदो आर्थिक समस्यालाई सुरक्षित रुपमा समस्याको चंगुलबाट बाहिर ल्याउन डा. महतले गरेको प्रयासको सह्राहना गरे ।

यसअघि अर्थमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै गर्दा पनि पुनले निवर्तमान मन्त्री महतको प्रशंशा गरेका थिए । ‘कतिपय राम्रा कामहरु भएका छन्’, उनले भनेका थिए, ‘तर भएकै कामको पनि उचित रुपमा बताउन नसक्दा समस्या भएको हो ।’

योजना आयोगको संरचनामाथि प्रश्न

अर्थमन्त्री पुनले राष्ट्रिय योजना आयोगको संरचनामाथि प्रश्न उठाएका छन् । ‘विश्व विद्यालयहरुमा पनि प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने व्यवस्था छ । तर योजना आयोगमा अर्थमन्त्रीको प्रतिनिधित्व नै नहुने व्यवस्था गरिएको रहेछ’, उनले भने ।

स्रोतको जोहो गर्ने अर्थ मन्त्रालयको प्रतिनिधित्व नहुँदा योजना निर्माण र कार्यान्वयनमा समस्या आएको उनले बताए । ‘पोहोर साल सरकारको नीति तथा कार्यक्रम एउटा पार्टीको, बजेट अर्को पार्टीको र मौद्रिक नीति अर्कै पार्टीको जस्तो भयो’, उनले भने, ‘यस पालि त्यसो नहोस्, हामी सबै मिलेर जानुपर्छ भनेर मैले गभर्नरलाई पनि भनेको छु ।’

निजी क्षेत्रको नेतृत्वमा अर्थतन्त्र

अर्थमन्त्री पुनले आफ्नो राजनीतिक एवम् बैचारिक आस्था अर्कैतिर भए पनि नेपालको वास्तविकतालाई हेरेर निजी क्षेत्रले अग्रसरता लिएको अर्थतन्त्रलाई नै अघि बढाउनु पर्ने बताए । ‘हामीले सार्वजनिक, निजी र सहकारी तीनैवटा खम्बालाई अघि बढाउँला’, उनले भने, ‘तर तीनै वटा खम्बा सँगसँगै वा बराबर हुनु पर्छ भन्ने छैन ।’

उनले सार्वजनिक संस्थानहरुलाई पनि निश्चित प्रतिफल दिन नसक्ने हो भने निजीकरणको बोटोमा अघि बढाउनु पर्ने विचार राखे । गत साल नै सरकारले कतिपय संस्था र संरचना खारेज गर्ने, गाभ्ने जस्ता प्रयास अघि बढाएको भन्दै उनले यसलाई थप रफ्तार दिनुपर्ने आवस्यकता रहेको समेत उनले बताए ।

कर्मचारीलाई धेरै नचलाउने संकेत

मन्त्रीको सचिवालयका कर्मचारीहरुले नयाँ बजेट तर्जुमा गर्न कर्मचारीको ‘सेट नै बदल्नसक्ने’ बताइरहेका बेला मन्त्री पुनले भने त्यसो नहुने संकेत गरेका छन् । ‘१२ वर्षअघि भेटेका मान्छेहरु पनि यहीँ घुमिरहेका छन् । यिनै मान्छेलाई कहिले कता, कहिले कता बनाउनुको विकल्प छैन’, उनले भने, ‘कार्यसम्पादनमा अत्यन्तै समस्या परेको अवस्थामा बाहेक सामान्यतया २ वर्ष नपुगेका कर्मचारी सरुवा नगर्ने भनेको छु ।’


प्रतिक्रिया दिनुहोस्