एआईआईबी टोलिसँग गभर्नरको भेटवार्ता, जलविद्युत लगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउन चासो « Arthapath.com
१३ चैत्र २०८०, मंगलवार

एआईआईबी टोलिसँग गभर्नरको भेटवार्ता, जलविद्युत लगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउन चासो



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको बताए ।

नेपाल भ्रमणमा रहेका एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोलीसँगको भेटवार्तामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । राष्ट्र बैंकको प्रभावकारी नियमन र सुपरीवक्षणका लागि नेपालको वित्तीय क्षेत्रको अवस्था सन्तोषजनक रहेको उनको भनाई छ ।

उनले नेपालमा वैदेशिक लगानीको निम्ति वातावरण सहज रहेको उल्लेख गरे । गभर्नर अधिकारीले लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे भ्रमण टोलीलाई जानकारी गराएका थिए । नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइन लगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।

एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र बैंकका अन्य अधिकारीहरूसँग भेटवार्ता गरेको हो ।

भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य क्षेत्रलगायत मुलुकको वर्तमान आर्थिक स्थितिबारे जानकारी गराए थिए । भेटका अवसरमा एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्न सक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदर लगायतका विषयमा चासो राखेका थिए ।

टोलीले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नका निम्ति भएका नीतिगत प्रयासबारे जिज्ञासा राखे र कार्यक्रममा नेपालको विकासका प्राथमिकता, पूर्वाधार विकासमा लगानीका अवसर लगायतका विभिन्न विषयमा दुईपक्षीय छलफल भएको थियो ।

भेटवार्तामा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गि मास्के, डा. गुणाकर भट्ट, डा. प्रकाशकुमार श्रेष्ठ, गुरुप्रसाद पौडेललगायतका अधिकारीको उपस्थिति थियो । मूलतः एसियाली र अन्य सदस्य मुलुकको दिगो र हरित पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१६ मा एआईआईबीको स्थापना भएको हो । यसको मुख्यालय चीनको बेइजिङमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्