बाह्य पर्यटन खुल्यो बढ्न थाल्यो चासो, बहराइनका राजकुमार सफल आरोहण गरेर काठमाडौँ पुगे « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

बाह्य पर्यटन खुल्यो बढ्न थाल्यो चासो, बहराइनका राजकुमार सफल आरोहण गरेर काठमाडौँ पुगे



काठमाडौँ । लामो समयपछि बाह्य पर्यटकका लागि नेपाल खुला भएकै दिन एउटा हाइप्रोफाइल टोली हिमाल आरोहण गरी काठमाडौं फर्केको छ । बहराइनका राजकुमार मोहमेद हमाद मोहमेद अल खालिफाले नेतृत्व गर्नुभएको १८ सदस्यीय टोलीले सोलुखुम्बुस्थित छ हजार ११९ मिटर अग्लो लोबुच्चे र गोरखाको मनास्लु (आठ हजार १६३ मि.) को सफल आरोहण गरेर काठमाडौँ आइपुगेको हो । कोेरोनाको प्रतिकूल अवस्थामा पनि पर्वतारोहणमा टोलीका कुनै पनि सदस्यलाई कुनै समस्या नभई सहज तरिकाले पर्वतारोहण सम्पन्न भएको टोलीको पर्वतारोहण नेतृत्व गर्नुभएको तासी शेर्पाले बताउनुभयो । उहाँले यसले नेपालमा आगामी सिजनमा पर्वतारोहण गर्न सकिने सन्देश पनि दिएको बताउनुभयो ।

चासो बढ्यो

सरकारले शनिबारदेखि विदेशीका लागि नेपाल भ्रमण खुला गर्ने घोषणा यसअघि नै गरिसकेको छ । सोहीअनुसार विशेष गरी आगामी सिजनमा पर्वतारोहण गर्न चाहनेले सोधपुछ गर्न थालेका छन् । सेभन समिटका तासी लाक्पा शेर्पाका अनुसार करिब दुई सय पर्वतारोहीले पर्वतारोहणको चासो देखाएर प्रक्रिया अगाडि बढाएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशीका लागि आजदेखि नेपाल आउन खुला भए पनि अत्यन्तै थोरै सङ्ख्यामा मात्र आउन चाहने देखिएका छन् । कोभिड–१९ का कारण सरकारले तय गरेको प्रोटोकल अत्यन्तै झन्झटिलो भएकाले पनि पर्यटक निरुत्साहित भएको उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका अनुसार पदयात्राका लागि नेपाल आउने विदेशीका लागि भिसा सिफारिस गर्दा विभिन्न नौ बुँदे सर्त पूरा गर्नुपर्ने छ । यसमा पदयात्रीको पासपोर्ट प्रतिलिपि, नेपाल आगमन हुने मिति, पदयात्राको तालिका, नेपालमा सात दिनका लागि होटल बुकिङ गरेको कागजात, पदयात्रीको कम्तीमा पाँच हजार डलर बराबरको कोरोना बीमा गरेको कागजात, पर्यटकका लागि टिम्स कार्ड र नम्बर सेवामा संलग्न हुने नेपाली सहयोगीको नामावली, पथप्रदर्शक, भरिया वा भान्से र अन्य सहायकको कम्तीमा एक लाख रुपियाँ बराबरको कोरोना बीमालगायतको प्रोटोकल तय गरिएको छ । यसमा व्यवसायीले भने केही आपत्ति जनाउँदै संशोधन गर्नुपर्ने सुझाव सरकारलाई दिँदै आएका छन् ।

अध्यक्ष सुवेदी ७२ घण्टाअघिको पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आएपछि फेरि सात दिनका क्वारेन्टाइन व्यावहारिक नभएको बताउनुहुन्छ । पर्यटक सात÷दस दिनको बिदा मनाउन नेपाल
आउँदा क्वा्ेन्टाइनमा नै समय बिताउ भन्नु उचित हुँदैन ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्