पुनर्बीमा कम्पनी १ अर्ब भन्दा बढी गुमाउँदै, सुन्निएको कि वास्तविक ? « Arthapath.com
१३ पुष २०७७, सोमबार

पुनर्बीमा कम्पनी १ अर्ब भन्दा बढी गुमाउँदै, सुन्निएको कि वास्तविक ?



काठमाडौं । सेयर बजारमा हाल ‘हट केक’का रूपमा उदाएको नेपाल पुनर्बीमा कम्पनी करिब १ अर्ब गुमाउँदैछ । कोरोना बीमाको भुक्तानीका लागि कम्पनीलाई १ अर्बको दायित्व सिर्जना हुने भएको हो । बीमा प्रिमियम लाखको हाराहारीमा नआए पनि कोरोना बीमाबापत पुनर्बीमा कम्पनीले १ अर्ब तिर्नुपर्ने भएपछि कम्पनीको लागि यो ठूलो घाटा हुने भएको छ ।

८ महिना अघि प्राथमिक सेयर निष्काशन गरेको कम्पनी टेलिकमपछि बढी शक्तिशाली छ, धेरै पुँजीकरण भएको कम्पनीमा यो दोस्रोमा पर्छ । कम्पनीको कूल पुँजीकरण डेढ खर्ब पुगेको छ । यो कम्पनीमा ४४ प्रतिशत सरकारी, ३९.९ प्रतिशत विभिन्न जीवन, निर्जीवन कम्पनी लगायत संस्थाहरूको र १६ प्रतिशत सर्वसाधारणको स्वामित्व छ ।

कम्पनीको प्राथमिक सेयर भर्ने सबैले ४० देखि ५० कित्तासम्म पाएका थिए । गत चैतमा ५ हजार रुपैयाँको ५० कित्ता सेयर पाएकाहरूले सोमबार बजारमा प्रतिकित्ता १३४० सम्म खरिद बिक्री भएको थियो । ५० कित्ता बेच्दा ८० हजार रुपैयाँको हाराहारीमा अर्थात् ५ हजारको लगानीले ७५ हजार नाफा कमाए । तर, ठूलो रकममा हिजोआज सो सेयर खरिद गर्नेहरूलाई भने जोखिम बढेको छ । अर्कोतर्फ बजारले नयाँ रेकर्ड बनाएको छ । यतिबेला बजारमा नयाँ लगानीकर्ता धेरै थपिएका छन् । जसले गर्दा नयाँ लगानीकर्ता जुनसुकै बेला बुल ट्रयापमा फस्न सक्ने जोखिमसमेत त्यत्तिकै छ ।

नेपाल पुनर्बीमा कम्पनीको मूल्य वृद्धिलाई भने धेरैले अस्वाभाविक लिएका छन् । धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले समेत पुनर्बीमा कम्पनीको सेयर मूल्यमा आएको अकस्मातको बढाइलाई लिएर अध्ययन गरेका छन् । सोही कारण राष्ट्र बैंकले मौद्रित नीतिमा नै सो कम्पनीको सेयर धितोमा कर्जा नदिने गरी बैंकहरूलाई सर्कुलर जारी गरिसकेको बुझिएको छ ।

वित्तीय विवरण आएन
कम्पनीले यस आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । कोरोनाको असर र बीमा कम्पनीहरूले समयमै विवरण नदिँदा आफूहरूको वित्तीय विवरण प्रकाशनमा ढिलाई भएको कम्पनीका सीईओ शंकरकुमार रायमाझी बताउँछन् । ‘म आफैँ पनि कोरोना संक्रमित भएँ, समयमै बीमा कम्पनीहरूले विवरण पनि दिएका छैनन्,’ रायमाझीले भने ।

सुन्निएको कि वास्तविक ?
कतिपयले सेयर बजारमा यो कम्पनी ‘सुन्निएको’ टिप्पणी गर्छन् । लगानी गर्दा जुनसुकै कम्पनीको व्यावसायिक अवस्था, मुनाफा, लाभांश क्षमता र प्रतिफल हेर्नै पर्ने हुन्छ । तर, यस वर्ष लाभांश नदिने भनेर कम्पनीले पुस २९ मा साधारण सभाको आव्हान नै गरेको छ । तर लगानीकर्ताहरू हौसिएर यस कम्पनीको शेयरमा लगानी गरिरहेका छन् । ‘किन्ने र बेच्नेहरूले सामाजिक सञ्जालमा यस कम्पनीका अनेक प्रचार गरिरहेका हुन्छन्, एकाथरि राम्रो र अर्काथरि नराम्रो प्रचार गरिरहेका कारणले पनि यस कम्पनीबारे अन्योल छ’, एक लगानीकर्ताले भने ।

पुनर्बीमा कम्पनीको शतप्रतिशत हकप्रद आउने, अर्को वर्ष राम्रो लाभांश दिनेजस्ता अनेक हल्ला सामाजिक सञ्जालमा चल्ने गरेका छन् । हल्लाका भरमा लगानी गर्नेहरूका कारण पनि यसको मूल्य बढिरहेको धेरैको अनुमान छ । लगानी गर्दा कम्तीमा ईपीएस, पीई, नेटवर्थ, बूकभ्यालु, ग्रोथरेट र सुशासन हेरेर निर्णय गर्नुपर्छ । तर, यस कम्पनीको हकमा त्यस्तो देखिएको छैन ।

१ अर्ब सिधैँ नोक्सानी
गत आर्थिक वर्षको नाफाबाट लाभांश दिन नसक्ने घोषणा गरिसकेको यस कम्पनीले आगामी वर्ष पनि लाभांश दिन नसक्ने निश्चित छ । विभिन्न बीमा कम्पनीहरूमा झन्डै ४० हजारले कोरोना बीमाको दाबी गर्दै आवेदन दिएकोमा करिब ११ हजारलाई १ अर्ब बढी रकम भुक्तानी भइसकेको छ । अहिले भुक्तानी हुन बाँकी रहेको दाबीलाई मात्रै हेर्दा पनि थप साढे २ अर्ब खर्च हुने देखिन्छ । कोरोना बीमाको भुक्तानी मापदण्डअनुसार सुरूको १ अर्ब रुपैयाँसम्म निर्जीवन बीमा कम्पनीहरूले, त्यसपछिको १ अर्ब रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले ब्यहोर्नुपर्नेछ ।

कम्पनीका सीईओ रायमाझीले कोरोना बीमामा १ अर्ब रुपैयाँको दायित्व स्पष्ट भइसकेको उल्लेख गरे । ‘१ देखि २ अर्ब रुपैयाँसम्म पुनर्बीमाले ब्यहोर्ने भनेर मापदण्डमा स्पष्ट उल्लेख छ, यसले हाम्रो नाफामा ठूलो असर पार्नेछ’ उनले भने । २ अर्बभन्दा बढी भुक्तानी गर्नुपरेमा बीमा समितिमा दायित्व जानेछ । यदि २ अर्ब नै भुक्तानी गर्नुपरेमा पुनर्बीमा कम्पनीको वित्तीय अवस्था नै निकै कमजोर हुने देखिन्छ । रिभर्ज कोषबाट सबै रकम तिर्नुपर्ने हुन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले जीवन बीमा व्यवसायबाट १७ करोड र निर्जीवनबाट १ अर्ब ६ करोड रुपैयाँ गरी १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी जम्मा १२ रुपैयाँ ३७ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ । बजारमा दीर्घकालीन लगानीकर्ताभन्दा पनि कारोबारी हावी छन् । छोटो समयमै सेयर बेच्नका लागि मूल्य बढिरहेका कम्पनीमा कारोबारीहरू लाग्छन्, जसले गर्दा धेरै माग सिर्जना हुन्छ, मूल्य बढ्छ ।

यसरी अत्याधिक मूल्य बढ्दै गएका कम्पनीको सेयर कुनै बेला बेच्न खोज्दा खरिदकर्ता नपाउने अवस्था आउन सक्नेतर्फ लगानीकर्ता सजग रहनुपर्ने हुन्छ । अहिले अत्यधिक महंगो देखिएको युनिलिभर, बोटलर्स नेपाल र बिशाल बजार कम्पनीको सेयर बेच्न खोज्दा क्रेता भेटिन्न । यदि अत्यावश्यक परेर बेच्न खोजेमा १० प्रतिशत घटेर बेचे मात्र सेयर बेच्न सकिने अवस्था छ ।

कसरी हुन्छ आम्दानी ?
जीवन र निर्जीवन बीमा कम्पनीले सम्भावित जोखिम बाँडफाँटका लागि विभिन्न ‘पोलिसी’को पुनर्बीमा गरेका हुन्छन् । पुनर्बीमाको शुल्क र सोको लगानीबाट आर्जित प्रतिफल नै पुनर्बीमा कम्पनीको आम्दानी हो । यो स्वदेशको एकमात्र पुनर्बीमा कम्पनी हो । अर्थात् उस्तै प्रकृतिको अरू कम्पनी छैनन् । हरेक बीमा कम्पनीहरूले पुनर्बीमा गर्दा २० प्रतिशत रकम स्वदेशी पुनर्बीमा कम्पनीमा नै गर्नुपर्ने व्यवस्था छ ।

यद्यपि, कतिपय कम्पनीले सोभन्दा बढी रकम स्वदेशमै पुनर्बीमा गर्न थालेका छन् । हाल १९ जीवन बीमा कम्पनी र २० निर्जीवन गरी ३९ कम्पनी सञ्चालनमा छन् ।

त्यतिमात्रै होइन, कम्पनीले भारतलगायत अन्य एसियाली मुलुकबाट समेत व्यवसाय ल्याउन सक्छ । ‘भारतका प्रधानमन्त्रीको फसल बीमा योजनालगायतको पुनर्बीमा भएको छ, भारतमात्रै नभई एसियाली अन्य मुलुकबाट पनि व्यवसाय आउन थालेको छ,’ सीईओ रायमाझीले भने ।

हरेक वर्ष करिब ८ अर्ब रुपैयाँ पुनर्बीमाका लागि बाहिरिने गरेको छ । सोको २० प्रतिशत अर्थात करिब १ अर्ब ४० करोड रुपैयाँ रकम स्वदेशी बीमाका कारण बाहिरिनबाट जोगिन्छ । तर, नेपाल पुनर्बीमा कम्पनीको एकलौटी व्यापार देखेर डा. उपेन्द्र महतोको नेतृत्वमा बीमा कम्पनीहरूसमेत मिलेर अर्को पुनर्बीमा कम्पनीको स्थापनाको काम सुरु भैसकेको छ । यदी अर्को कम्पनी खुलेमा सरकारी हस्तक्षेपका कारण चुस्त व्यवस्थापन हुन नसकेको आरोप खेपिरहेको यो कम्पनीलाई अर्को नयाँ कम्पनीले विजनेसमा जित्न धेरै समय नलाग्ने बताइन्छ । तर पनि राम्रो नेपाल पुनर्बीमा कम्पनीका विषयमा अत्यधिक आशंका र आलोचना हुने गरे पनि यसका राम्रा पक्षहरू पनि छन् । लगातार बढेर प्रतिकित्ता १८०० हाराहारी पुगेको यसको सेयर मूल्य अहिले १३४० हाराहारी छ । अझै केही घट्ने अवस्थामा देखिन्छ । तर, लामो समयदेखि ठूलो परिमाणमा कारोवार भएकाले अधिकांश सेयरधनीले किनेको मूल्य नै महंगो परिसकेको अवस्था छ ।
यो कम्पनिको चुक्ता पुँजी १० अर्ब छ भने जगेडा कोषमा ४ अर्ब ८० करोड छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब भए पनि आईपीओमार्फत साधारण सेयर निष्काशन भएको जम्मा १ अर्ब ६० करोडको (१ करोड ६० लाख कित्तामात्र हो । बजारमा कारोवार हुने सेयर सबैजसो पटक–पटक किनबेच हुँदा महंगो मूल्य परिसकेको छ । सप्लाई पनि निरन्तर घट्दो अवस्थामा छ किनकि एउटा ८/९ अर्बको कमर्शियल बैंकको साधारण सेयर नै ४९ प्रतिशत बजारमा सप्लाई हुँदा ४ अर्बको (४ करोड कित्ता) हुन्छ । यस हिसाबले यो सानो देखिछ ।

पुनर्बीमा कम्पनीको सञ्चालन खर्च ज्यादै कम हुन्छ किनकि यसले हरेक जिल्ला सदरमुकाम र राजधानीमा मात्र दर्जनौँ शाखा खोलिरहनु पर्दैन । मुख्य कार्यालयका सीमित कर्मचारी र एजेन्टबाट नै सबै काम हुन्छ । यसैले नाफा बढ्दो हुन्छ । यसबाहेक यसले ढिलो–चाँडो पुँजी नबढाई हुँदैन किनकि यसको सञ्चालनको दायरा अन्तर्राष्ट्रिय (करिब ३० देशमा) भएकोले यो पुँजी ज्यादै कम हुन्छ । नेपालमै पनि योभन्दा धेरै पुँजी भएका लाइफ इन्स्योरेन्स कम्पनीहरू भएको अवस्थामा यसले पुँजी बृद्धिको बाध्यता भने छ ।


प्रतिक्रिया दिनुहोस्