नयाँ बजेटमा सरकारले घटाउला आय कर ? यी हुन् संसारमा बढी कर तिर्नुपर्ने मुलुक « Arthapath.com
२९ बैशाख २०७८, बुधबार

नयाँ बजेटमा सरकारले घटाउला आय कर ? यी हुन् संसारमा बढी कर तिर्नुपर्ने मुलुक



काठमाडौं । नेपाल सरकारले आगामी १५ वैशाखमा नयाँ बजेट प्रस्तुत गर्दै छ । अहिले अर्थ मन्त्रालय पूर्ण रुपमा बजेट निर्माणमा जुटेको छ । यही बेला नेपालका व्यवसायिक प्रतिनिधी र अन्य कयौं संगठीत संघसंस्थाले समेत आय करको दर घटाउन वा आय कर तिर्नु नपर्ने अधिकतम सीमा अहिलेभन्दा बढाउन आग्रह गरिरहेका छन् ।

सरकारको बजेटसँग जनताको सीधा सम्बन्ध विनियोजन अर्थात् विकास निर्माणमा हुने खर्च भन्दा पनि कर राजश्वसँग बढी हुन्छ । अहिले सरकारले सबै औपचारिक अर्थतन्त्रमा निर्भर नागरिकसँग आयकर लिने गरेको छ । नेपालमा आयकरको उच्चतम सीमा ३६ प्रतिशत तोकिएको छ । वर्षमा ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने व्यक्रिले यो महँगो दरमा कर तिर्नुपर्ने हुन्छ ।

नेपालमा यो वर्षका लागि ४ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्नेले आयकर तिर्नु पर्दैन । तर कुल कमाइको १ प्रतिशत सामाजिक सुरक्षा कर भने तिर्नुपर्छ । त्यसभन्दा बढी आम्दानी गर्नेले उक्त बढी आम्दानीमा भने आयकर तिर्नुपर्छ । यस अनुसार ५ लाख कमाइ गर्नेले पछिल्लो १ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १० हजार रुपैयाँ कर तिर्नुपर्छ ।

त्यसपछिको २ लाखसम्म आक्दानीमा २० प्रतिशत र १३ लाख रुपैयाँसम्म आम्दानीमा ३० प्रतिशत कर लाग्छ । त्यसपछिको २० लाखभन्दा बढी अर्थात् कुल ४० लाखभन्दा बढी कमाइ गर्नेले थप कमाइको ३६ प्रतिशत कर तिर्नुपर्छ । छिमेकी भारतमा वार्षिक साढे २ लाख भारुभन्दा कम कमाउनेले कर तिर्नु पर्दैन ।

साढे २ देखि ५ लाख भारु कमाउनेले ५ प्रतिशत, त्यभन्दा बढी साढे ७ लाखसम्म कमाउनेले १० प्रतिशत, १० लाखसम्म कमाउनेले १५ प्रतिशत, साढे १२ लाखसम्म कमाउनेले २० प्रतिशत, १५ लाखसम्म कमाउनेले २५ प्रतिशत र त्यसभन्दा बढी कमाउनेले ३० प्रतिशत कर तिर्नुपर्छ । वार्षिक २ देखि ५ करोड भारु कमाउनेले ३९ प्रतिशत र भारु ५ करोडभन्दा बढी कमाइ गर्नेले सर्वाधिक ४२.७४ प्रतिशत कर तिर्नु पर्ने व्यवस्था छ ।

गरिब मुलुकमा आयकर घटाउन सरकारलाई करदाताले सधैं दबाब दिइरहेका हुन्छन् । नेपाल वा भारतमा सरकारमाथि यस्तो दबाब परिरहन्छ । भारतले गत वर्षमात्रै करको दरमा भारी कटौति गरेको थियो । तर विकसित मुलुकहरुमा भने करको दर निकै उच्च छ । यहाँ संसारमा सर्वाधिक कर तिर्नुपर्ने मुलुकहरुको छोटकरी चर्चा गरिएको छ ।

१०. जर्मनी

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी उच्चतम कर अशुल्ने शीर्ष १० मुलुकको सूचीमा पर्छ । मेसिनरी, उड्डयन उद्योग र इञ्जिनियरिङमा बलियो अर्थतन्त्र भएको देशमा १२ देखि ४२ प्रतिशत आयकर तिर्नुपर्छ ।

९. फ्रान्स

अटोमोबाइल्स, हतियार र टेक्सटायलको ठूलो कमाइ गर्ने फ्रान्समा १४ देखि ४५ प्रतिशत आयकर तिर्नुपर्छ । तर यहाँ आधाआधी जनसंख्याले कुनै पनि किसिमको कर तिर्दैनन् । १४ प्रतिशतजति मान्छेले आफ्नो कमाइको ३० प्रतिशत हाराहारी कर तिर्छन् । ४५ प्रतिशत कर तिर्ने जनसंख्या लगभग १ प्रतिशतजति मात्रै छ ।

८. अस्ट्रेलिया

नेपाली विद्यार्थीका लागि निकै प्रिय गन्तव्य बनेको अस्ट्रेलियामा न्यूनतम १९ देखि ४५ प्रतिशतसम्म आयकर तिर्नुपर्छ । यो देशमा वार्षिक १८ हजार २०० डलरसम्म कमाई गर्नेले १९ प्रतिशत, ४५ हजार डलरसम्म कमाउनेले ३२ प्रतिशत, १ लाख २० हजार डलर कमाउनेले ३७ प्रतिशत र १ लाख ८० हजार डलरभन्दा धेरै कमाउनेले ४५ प्रतिशत कर तिर्नुपर्छ । यो देशको अर्थतन्त्र कन्स्ट्रक्सन, स्वास्थ्य सेवा र खानी उत्खननमा आधारित छ ।

७. चीन

नेपालको उत्तरी छिमेकी चीन पनि उच्च आयकर भएको मुलुकमा पर्छ । यो एउटा त्यस्तो देश हो, जहाँ करदाताले व्यक्तिगत आयकर समेत हरेक महिना सरकारी खातामा बुझाउनु पर्छ । चीनमा १५ सय रेन्मिन्पीसम्म कमाउनेले ३ प्रतिशत कर तिर्नुपर्छ । त्यहाँ ८० हजार रेन्मिन्पीभन्दा बढी कमाउनेले ४५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ ।

६. आयरल्याण्ड

युरोपको सम्पन्न टापु आयरल्याण्डमा २० देखि ४८ प्रतिशतसम्म कर निर्धारण गरिएको छ । औषधि, कम्प्युटरका हार्डवयर र सफ्टवयर बनाउनमा यो देश विश्वकै उत्कृष्ठमध्येमा पर्छ ।

५. बेल्जियम

अर्को युरोपेली मुलुक बेल्जियममा २५ देखि ५० प्रतिशतसम्म आयकर तोकिएको छ । १३ हजार ५४० युरोभन्दा कम कमाइ गर्नेले २५ प्रतिशत कर तिरे पुग्छ । योभन्दा बढी कमाइ गर्नेले ४० प्रतिशत कर तिर्नुपर्छ । २३ हजार ९ सय युरोभन्दा बढी कमाउनेले ४५ प्रतिशत र ४१ हजार ३६० युरोभन्दा बढी हुनेले ५० प्रतिशत अर्थात् आधा कमाइ सरकारलाई करको रुपमा बुझाउनु पर्छ । स्टील, टेक्सटायल, केमिकल र सिसाको उत्पादनमा यो मुलुक अग्रणी छ ।

४. नेदरल्याण्ड्स

नेदरल्याण्ड्समा त कम्तिमा २६.९ र बढीमा ५२ प्रतिशत आयकर तोकिएको छ । तर यसको बदलामा सरकारले स्तरीय शिक्षा र विस्वसनीय स्वास्थ्य सेवा निःशुल्क दिन्छ । प्राकृतिक तेल, ग्यास, केमिकल र विद्युतीय सामाग्रीबाट यो देशले ठूलो मुनाफा आर्जन गर्छ ।

३. अस्ट्रिया

पहिलो विश्वयुद्धमा एक पक्षको नेतृत्व गरेको युरोपेली देश अस्ट्रियामा ३६.५ देखि ५५ प्रतिशतसम्म आयकर तोकिएको छ । त्यहाँ ११ हजार युरोभन्दा बढी कमाइ गर्नेले साढे ३६ प्रतिशत, २५ हजार युरोभन्दा बढी कमाइ गर्नेले ४३.२ प्रतिशत र ६० हजार युरोभन्दा बढी कमाइ गर्नेले ५५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । मेकानिकल इञ्जिनियरिङ र विलासी वस्तुमा अस्ट्रिया प्रख्यात छ ।

२. जापान

प्रविधीको मामिलामा संसारकै उत्कृष्ठमध्येको एक ‘एसियाली बाघ’ जापानमा हरेक नागरिकले कर तिर्नुपर्छ । यो देशमा कम्तिमा ५ प्रतिशत र बढीमा ५५.९७ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ ।
वार्षिक १९ लाख ५० हजार येनसम्म कमाइ गर्नेले ५ प्रतिशत कर तिरे पुग्छ । त्योभन्दा बढी ३३ लाख येनसम्म कमाइ गर्नेले १० प्रतिशत, ६९ लाख ५० हजार येनसम्म कमाउनेले २० प्रतिशत, ९० लाख येनसम्म कमाउनेले २३ प्रतिशत, १ करोड ८० लाख येनसम्म कमाउनेले ३३ प्रतिशत, ४ करोड येनसम्म कमाउनेले ४० प्रतिशत र त्योभन्दा पनि बढी कमाइ हुनेले ५५.९७ प्रतिशत कर तिर्नुपर्छ ।

१. स्वेडेन

उत्तरी युरोपको सम्पन्न मुलुक स्वेडेन संसारकै सबैभन्दा ज्यादा कर अशुल्ने राष्ट्र हो । यो देशमा ७ देखि ६१.८५ प्रतिशतसम्म कर तिर्नुपर्छ । २० हजार क्रोनाभन्दा बढी कमाउनेले ७ प्रतिशत आयकर तोकिएको यो मुलुकमा वार्षिक ६ लाख ७५ हजार ७ सय क्रोनाभन्दा बढी कमाउनेले ६१.८५ प्रतिशतसम्म कर तिर्नुपर्छ । यो देशले उच्च करका बाबजुद आफ्ना नागरिकलाई उत्कृष्ट शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्