कति होला आर्थिक बृद्धि ? पुर्वानुमान गर्न पनि हच्किँदै सरकार « Arthapath.com
१४ जेष्ठ २०७८, शुक्रबार

कति होला आर्थिक बृद्धि ? पुर्वानुमान गर्न पनि हच्किँदै सरकार



काठमाडौं । तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले एक वर्षअघि बजेट ल्याउँदा यो साल ७ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य राखेका थिए । उक्त लक्ष्यप्रति त्यतिबेलै कोही पनि अर्थशास्त्री विस्वस्थ हुन सकेका थिएनन् । विश्व बैंक र यसअन्तरगतका निकायहरुले पनि नेपालले अझै तीन वर्ष त्यो स्तरको आर्थिक बृद्धि हासिल गर्न नसक्ने प्रतिवेदन सार्वजनिक गरेर सरकारको लक्ष्यलाई ‘अस्वीकार’ गरेका थिए ।

गत फागुनमा अर्थ मन्त्रालयले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्यो । त्यसबेला अर्थतन्त्रको विस्तार ४ प्रतिशतभन्दा माथि हुने अनुमान सार्वजनिक गरियो । केन्द्रिय तथ्यांक विभागले ३.९८ प्रतिशतले अर्थतन्त्र बढ्नसक्ने भने पनि अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले ‘औसत आर्थिक बृद्धि हुने’ बताएका थियो । त्यो औसत भनेको कति हो ? उनले आज यो आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा भने, ‘औसत भनेको ५ प्रतिशतजतिको आर्थिक बृद्धि हुनसक्छ भन्ने मेरो अनुमान थियो ।’

तथ्यांक विभागभन्दा धेरथोर बढ्तै आशावादी रहेका ढुंगानाले यो वर्षको आर्थिक बृद्धि ‘गत सालजस्तो ऋणात्मक नहुने’ बताएका छन् । गत वर्ष अर्थतन्त्र २.१२ प्रतिशत संकुचित भएको तथ्यांक विभागको संशोधित अनुमान छ । यसको अर्थ मुलुकको अर्थतन्त्र तीन वर्षअघिको अवस्थामा फर्किनमात्रै पनि यो वर्ष ३ प्रतिशतजतिको आर्थिक बृद्धि हुनु जरुरी हुन्छ ।

नेपाल राष्ट्र बैंकले पनि केही दिनअघि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सरकारको संशोधित लक्ष्यसमेत भेट्टाउन कठीन रहेको उल्लेख गरेको थियो । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण अर्थतन्त्रमा चूनौति थपिएको अर्थमन्त्री विष्णु पौडेलले पनि बताएका छन् । यो वर्षमो आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै उनले ‘महामारीपछि भी आकारको बृद्धि हासिल गर्ने अपेक्षा गरे पनि महामारीको दोस्रो लहरले चूनौतिपूणर् बनाइदिएको’ बताएका छन् ।

अर्थतन्त्रको विस्तृत तथ्यांक राख्ने निकाय केन्द्रिय तथ्यांक विभागले महामारीको दोस्रो लहरपछि अर्थतन्त्रको अवस्था के हुन्छ भनेर कुनै औपचारिक जानकारी दिएको छैन । यद्यपि, अर्थ मन्त्रालय र केन्द्रिय बैंकका पछिल्ला प्रतिवेदनले आउँदो असारसम्म पनि तीन वर्षअघिको अवस्थामा फर्कन नसक्ने संकेत गरेका छन् ।

आर्थिक-सर्वेक्षण-२०७७_७८-1

Tags :

प्रतिक्रिया दिनुहोस्