देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बुझाउन खोज्दा आतंक सृजना गरियो : अर्थमन्त्री शर्मा « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बुझाउन खोज्दा आतंक सृजना गरियो : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतंक सृजना भएको बताएका छन ।राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुसहित अर्थविदहरुसँगको छलफलमा बोल्दै मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको स्पष्ट पारेका थिए ।


“श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु । मैले यसो गर्छु र उसो गर्छु भनेर घमण्ड देखाउने पनि हैन । जिम्मेवारी लिँदाको वास्तविक चित्र मात्र देखाउन खोजेको हुँ । ” उहाँले भन्नुभयो “यसैलाई लिएर बजारमा आतंक सृजना भएको देखियो । आतंकित नहुन अनुरोध गर्छु । ”मन्त्री शर्माले पुँजीगत खर्च बढाउन अर्थविदहरुको सुझावबमोजिम नै तालिका बनाएर अघि बढ्ने योजना रहेको जानकारी दिए । मन्त्री शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्राव्धानहरु बाधक रहको टिप्पणी गर्दै त्यसलाई समयानुकुल बनाउन प्रयत्न गर्ने बताएका छन ।


विकास निर्माणको काममा जनपरिचालनको मोडालिटी अपनाउनुपर्ने आवश्यकता समेत औंल्य । जनसहभागिता र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढर्रामा परिवर्तन आउने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले भन्नुभयो “जनताले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन सक्दैन, त्यसैले जनपरिचालनको मोडालिटी बनाउन आवश्यक देखेको छु ।”
छलफल कार्यक्रममा अर्थविदहरुले दिएका सुझावहरुमध्येबाट केही न केही परिणाममुखी काम गरिने जानकारी दिए । पारदर्शिताको मामिलामा कसैसँग सम्झौता नगर्ने अठोट व्यक्त गर्दै उहाँले जिम्मेवारीमा रहँदासम्म दृढ इच्छाशक्तिका साथ काम गर्ने बताएका छन ।

कार्यक्रममा डा विश्वम्भर प्याकुरेलले विकासका आयोजनाहरुमा वित्तीय लागत घटाउने गरी काम गर्न सुझाव दिए । पुँजीगत खर्च नहुनु र विकासले गति लिन नसक्नुमा संरचनागत समस्याले जिम्मेवार रहेको बताए । नवनियुक्त अर्थमन्त्रीहरुले श्वेतपत्र सार्वजनिक गर्ने चलन पुरानै रहेको भन्दैे त्यसमा आपत्ति जनाउनु बेइमानी हुने धारणा राखेका छन ।निजी क्षेत्रलाई राज्यले निरन्तर रुपमा सुविधा र सहुलियत दिएपनि रोजगारी सृजना र आर्थिक बृद्धिमा अपेक्षित योगदान गर्न नसकेको टिप्पणी गरे ।

डा. खिमलाल देवकोटाले संघीयता कार्यान्वयनमा संघीय सरकारको चासो कम रहेको आरोप लगाउदै व्यूरोक्रेसीको संरचना परिवर्तन गरी प्रदेश र स्थानीय तहमा शक्ति विन्यास गर्नुपर्नेमा जोड दिएिका छन । केन्द्रमा कर्मचारी काम नपाएर बस्ने र स्थानीय तहमा निमित्तको भरमा काम चलाउनुपर्ने अवस्था रहेसम्म संघीयता स्थापित हुन नसक्ने बताए ।

कार्यक्रमा अर्थ सचिव शिशिर कुमार ढुंगानाले अर्थतन्त्रको वर्तमान अवस्था बारे प्रस्तुति गरेका थिए । गत आर्थिक वर्षको लागि ४ दशमलब १ प्रतिशतको आर्थिक बृद्धि दर अनुमान गरिएको तर कोभिडको दोस्रो लहरका कारण त्यो लक्ष प्राप्त हुन नसक्ने अवस्था रहेको बताए । सचिव ढुंगानाले कोभिड महामारीका बीच राजश्व संकलनको लक्ष ९२ प्रतिशत हासिल भएको जानकारी दिएका छन ।

उनले गत आर्थिक वर्षको चालु खर्च ८९.६८ प्रतिशत र पुँजीगत खर्च ६४.७१ प्रतिशत भएको जानकारी दिएका छन । अर्थतन्त्रका मुख्य चुनौतीहरुबारे चर्चा गर्दै सचिव ढुंगानाले गुणात्मक पुँजीगत खर्च बढाउनुपर्ने, राजश्व संकलनमा २२ प्रतिशतले बृद्धि गर्नुपर्ने, वित्तीय अनुशासन कायम गर्नुपर्ने, व्यापारमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रमा रुपान्तरण गर्ने,बढ्दो व्यापार घाटा घटाउनुपर्ने स्थिति रहेको बताए ।

Tags :

प्रतिक्रिया दिनुहोस्