रोकिएन कृत्रिम निक्षेप, विदेशी मुद्राको आधाभन्दा बढी निक्षेप ‘नक्कलि’ « Arthapath.com
१२ आश्विन २०७८, मंगलवार

रोकिएन कृत्रिम निक्षेप, विदेशी मुद्राको आधाभन्दा बढी निक्षेप ‘नक्कलि’



काठमाडौं । बैंकहरुले विदेशी मुद्राको नक्कलि निक्षेप राख्न थालेको बारे गत महिनादेखि नै चर्चा भए पनि यो क्रम भने अझै जारी नै रहेको देखिएको छ । वितेको एक महिनामा पनि बैंकहरुले थप ३६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको निक्षेप यसरी नै बढाएको बैंकरले बताएका छन् ।

नेपालमा विदेशी मुद्राको निक्षेप नागरिकले पनि राख्न त पाउँछन्, तर व्यक्तिगत खाताहरुमा यस्तो निक्षेप रकम भने ज्यादै कम हुन्छ । खासगरी विदेशी दूताबास र नियोगहरुले विदेशी मु्रद्रामा निक्षेप राख्ने गरेका छन् । यसबाहेक ठूला अन्तरराष्ट्रिय गैह्रसरकारी संस्था (आईएनजीओ)हरुले पनि विदेशी मुद्रामा निक्षेप राखेका हुन्छन् ।

नेपाल सरकारले स्थापना गरेको विदेशी सहायता कोष एवम् विदेशी मुद्रामै ऋण तथा अनुदान दिने विदेशी मुलुक एवम् बहुपक्षीय साझेदार संस्थाहरुले पनि नेपालमा विदेशी मुद्रामा खाता खोलेर निक्षेप राख्ने गरेका छन् । नेपालबाट विदेशमा वस्तु निर्यात गर्ने ब्यापारीले पनि नेपाली बैंकमा विदेशी मुद्राको निक्षेप राख्ने गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार गएका ७ असोजमा बाणिज्य बैंकहरुसँग विदेशी मुद्राको निक्षेप १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको छ । पछिल्ला दुई सातामा बैंकहरुले १३–१३ अर्बका दरले विदेशी मुद्राको निक्षेप बढाएको तथ्यांक प्रकाशित गरेका छन् ।

जबकी, अहिले बैंकहरुसँग विदेशी मुद्राको अभाव चर्किएको छ । ‘अहिले आयात निकै बढेको छ, फर्वार्ड कन्ट्रयाकको माग असाध्यै चुलिएको छ,’ एक बैंकर भन्छन्, ‘बजारमा डलरको अभाव हुन थालेको छ ।’ आयातकर्ताहरुले विदेशबाट सामान आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नुपर्छ ।

आयातकर्ताले विदेशमा कुनै पनि वस्तु किन्नका लागि प्रतिपत्र (एलसी) खोल्छन् । सामान्य भाषामा एलसी खोल्नु भनेको ‘मलाई यति सामान चाहियो’ भनेर ‘अर्डर गर्नु’ हो । यसरी एलसी खोलेको ३ महिनामा सामान आउँछ । आयातकर्ताले पनि अहिले एलसी खोलेपछि ३ महिनापछि पैसा तिर्नुपर्ने हुन्छ ।

तर तीन महिनामा अमेरिकी डलरको भाउ कति पुग्छ भन्ने निश्चय हुँदैन । यस्तो अवस्थमा तीन महिनापछि कुनै बैंकसँग आयातकर्ताले डलर किन्ने भाउ पहिले नै तय गरिन्छ । यसरी ‘तीन महिनापछि बैंकले कति मूल्य (विनमिय दर)मा डलर बेच्ने’ भन्ने सम्झौता गर्छ । जसलाई प्राविधिक भाषामा ‘फरवार्ड कन्ट्रयाक’ भनिन्छ । अहिले निर्यात ब्यापार र विदेशी दाताहरुको सहायता परिचालन समेत घटेका बेला नेपालमा विदेशी मुद्रा भित्रिने क्रम कम भएको छ । तर आयात चुलिँदै जाँदा विदेशी मुद्राको अभाव हुने गर्छ ।

अहिले पनि बैंकहरुसँग विदेशी मुद्रा कम भइसकेको छ । यही कारण १.२५ देखि १.५० प्रतिशत हाराहारी हुने विदेशी मुद्राको अन्तरबैंक ब्याजदर अहिले २ प्रतिशत नाघिसकेको बैंकर बताउँछन् ।

नेपाली बैंकले आफूसँग भएको डलर विदेशी बैंकमा पनि निक्षेप राख्दै आएका थिए । तर अहिले विदेशी बैंकभन्दा नेपालकै बैंकमा बढी ब्याज पाइने भएपछि स्वदेशी बैंकहरुलाई नै दिन थालेका हुन् । यसले पनि अहिले डलरको निक्षेप बढ्न पुगेको बैंकर बताउँछन् ।

अर्कातिर राष्ट्र बैंकले हालैमात्र विदेशि मुद्राको निक्षेपलाई पनि कर्जा निक्षेप अनुपात (सीडी रेसियो)मा गणना गर्न पाउने सुविधा सदिएको छ । यसको अर्थ हुन्छ, बैंकहरुले स्वदेशी वा विदेशी दुबै मुद्रामा निक्षेप लिएर त्यो पैसा जुनसुकै मुद्रामा कर्जा दिन पाउँछन् । यसो गर्दा अहिले स्वदेशी मुद्राको निक्षेपमा ५ प्रतिशतभन्दा बढी ब्याज तिर्नुपर्ने भइसकेको छ ।

पैसा अभाव हुँदा अहिले नै बैंकहरुले उच्चतम ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्याइसकेका छन् । तर विदेशी मुद्राको निक्षेप अहिले पनि ३ प्रतिशत हाराहारीमा पाइन्छ । यसो हुँदा स्वदेशी मुद्रामै ऋण बढाउन पनि बैंकहरुलाई विदेशी मुद्राको निक्षेप लिँदा सस्तो पर्न जान्छ । यही कारण पनि बैंकहरु अहिले विदेशी मुद्राको निक्षेपमा ‘मरिहत्ते’ गरेर लागेका छन् ।

राष्ट्र बैंकलाई पनि यसरी गलत गतिविधी भइरहेको बारे जानकारी नभएको होइन । तर अहिले पुरै वित्तीय प्रणाली तरलताको अभावमा जकडिँदै गएको अवस्था छ । आयात ब्यापार चुलिएको छ । आयात रोक्न सक्ने अवस्था छैन । सरकार राजश्व बढाउने ध्यानमा लागेको छ । उच्च आर्थिक बृद्धिको लक्ष्य भेट्टाउन भारी मात्रामा आयात बढाउनुपर्ने छ ।

यस्तो बेला वित्तीय स्थायित्वमै समस्या आउने भएपछि यो विकृतिलाई एकै पटक रोक्ने भन्दा केही समय आँखा चिम्लिने रणनीतिमा रहेको हुनसक्ने बैंकर बताउँछन् ।

गत वर्ष नेपालले १५ खर्ब ४० अर्ब रुपैयाँ आयातमा खर्चिएको थियो । यो वर्ष उक्त आंकडा निकै बढ्ने आँकलन गरिएको छ । यस्तो बेला १० महिनाको वस्तु आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति भए पनि बैंकहरुसँग विदेशी मुद्रा निकै कम भइसकेको छ ।

बैंकरहरुका अनुमानमा अहिले बैंकहरुसँग भएको भनिएको विदेशी मुद्राको १ खर्ब ५८ अर्बमध्ये मुस्किलले ६० अर्ब रुपैयाँ वास्तविक निक्षेप हो । बाँकी निक्षेप यसरी नै एउटा बैंकले अर्कोमा, अर्कोले अर्कोमा त्यही पैसालाई निक्षेप राख्दै लगेर बढेको आँकडा हो ।


प्रतिक्रिया दिनुहोस्