तरलता संकट भएपछि डलरको निक्षेप देखाएर ऋण बढाउन थाले बैंक « Arthapath.com
३० भाद्र २०७८, बुधबार

तरलता संकट भएपछि डलरको निक्षेप देखाएर ऋण बढाउन थाले बैंक



काठमाडौं । बैंकहरुसँग कर्जा लगानी गर्ने पैसाको अभाव हुन थालेपछि कृत्रिम निक्षेप देखाएर ऋण बढाउन थालेका छन् । ‘५–६ वटा बैंकले यसरी कृत्रिम निक्षेप देखाउँदै ऋण बढाउन थालेका छन्,’ एक बैंकरले भने, ‘राष्ट्र बैंकले सीडी रेसियो (कर्जा निक्षेप अनुपात) गणना गर्ने विधी फेरिदिएपछि अहिले बैंकहरुले चोरबाटोबाट ऋण बढाएका छन् ।’

बैंकरका अनुसार एउटा बैंकमा अमेरिकी डलर लगायतका विदेशी मुद्रा निक्षेप राखेर त्यसैका आधारमा ऋण दिने र त्यो निक्षेप निकालेर अर्को बैंकमा राख्ने परिपाटी बढेको छ । यसो गर्दा एउटै पैसा विभिन्न बैंकमा राख्ने र झिक्ने गरेर घुमाइराख्ने गिरोह सक्रीय भएको छ । जसका कारण त्यही पैसा देखाएर धेरै बैंकले ऋण लगानी गरिरहेको बैंकर बताउँछन् ।

अर्कातिर एउटा बैंकबाट विदेशी मुद्रामा ऋण लिने र अर्को बैंकमा त्यही पैसा निक्षेप राख्ने परिपाटी पनि बढेको छ । यसरी पनि निक्षेप र कर्जाको चक्रमा एउटै पैसा घुमाएको घुमाई गरेर बैंकहरुले ऋण विस्तार गरिरहेका छन् । चार वर्षअघि पनि वित्तीय प्रणालीमा तरलता अभाव हुँदा बैंकहरुले यस्तै अभ्यास गरेका थिए । त्यसबेला नेपाली मुद्राकै निक्षेपमा यस्तो अभ्यास भए पछि राष्ट्र बैंकले यसरी कृत्रिम निक्षेप सिर्जना गर्ने कामलाई प्रतिबन्ध गरेको थियो ।

उक्त प्रतिबन्धपछि बैंकहरुले अहिले विदेशी मुद्राको निक्षेपमा यस्तै अभ्यास थालेका हुन् । तरलता अभाव भएपछि कर्जा बढाएर बढी नाफा आर्जन गर्न बैंकहरुले सकसम्म बढी निक्षेप देखाउने गर्छन् । एक बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन्, ‘सबै बैंकमा विदेशी मुद्राको निक्षेप थोरबहुत हुन्छ, त्यस्तो निक्षेप बेलाबखत एउटा बैंकबाट अर्को बैंकमा सार्ने परिपाटी चल्दै आएको छ ।’ तर यसो गर्दा सधैंभरी कृत्रिम निक्षेपको सिर्जना नहुने उनले बताए ।

नेपाल बैंकर्स संघका अनुसार गएको १८ भदौसम्म बाणिज्य बैंकहरुले ४१ खर्ब २९ अर्ब निक्षेप संकलन गरेका छन् । यसमध्ये १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप विदेशी मुद्रामा प्राप्त गरेका छन् । तर यही अवधीमा बैंकहरुले १ खर्ब ५० अर्ब रुपैयाँजति विदेशी मुद्रामा ऋण लगानी गरेका छन् ।

यसअघि विदेशी मुद्राको निक्षेपभन्दा बढी कर्जा लगानी गर्न पाउने सुविधा राष्ट्र बैंकले गरेपछि धेरैले अमेरिकी डलर लगायतका विदेशी मुद्रामा लगानी गरेका छन् । पुस २०७७ पछि बैंकहरुले विदेशी मुद्रामा निक्षेपभन्दा कर्जा बढी दिन थालेका थिए । गत साउनको पहिलो साता विदेशी मुद्राको निक्षेप १ खर्ब ५६ अर्ब रुपैयाँ बराबर पुगेको थियो ।

गत साउन मसान्तको तथ्यांक हेर्ने हो भने नेपालमा स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, नबील बैंकले सबैभन्दा बढी विदेशी मुद्रामा निक्षेप स्वीकार गरेकाे छ । त्यसपछि नेपाल इन्भेष्टमेण्ट र एनआईसी एसिया बैंकले सर्वाधिक विदेशी मुद्राको निक्षेप लिएका छन् । सानिमा, मेगा र कुमारी बैंकसँग पनि ठूलो आकारमा विदेशी मुद्राको निक्षेप लिएका छन् ।

तर बैंकको कुल निक्षेपमा विदेशी मुद्राको अनुपात हेर्ने हो भने चाहीँ स्ट्याण्डर्ड चार्टर्डसँग सर्वाधिक निक्षेप देखिन्छ । यो बैंकको कुल निक्षेपमध्ये झण्डै २१ प्रतिशत विदेशी मुद्राको निक्षेप छ । त्यसपछि हिमालयन, नबील, नेपाल इन्भेष्टमेण्ट, सानिमा, मेगा, कुमारी र माछापुच्छ्रे बैंकले कुल निक्षेपको तुलनामा विदेशी मुद्राको निक्षेप बढी लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्