गुगलको पहिलो स्मार्टवाच सार्वजनिक, नेपाली बजारमा मूल्य कति ? « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

गुगलको पहिलो स्मार्टवाच सार्वजनिक, नेपाली बजारमा मूल्य कति ?



काठमाडौं । अमेरिकी सूचना–प्रविधि कम्पनी ’गुगल’ ले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा आफ्नो पहिलो स्मार्टवाचका रूपमा ’गुगल पिक्सल वाच’ सार्वजनिक गरेको हो ।

कम्पनीले हाल यो घडी म्याट ब्ल्याक (कालो), पोलिस्ड सिल्भर (चाँदी) र स्याम्पेन गोल्ड (सुनौलो) गरी तीन रङमा ल्याएको छ । यसका फित्ताहरू भने २० प्रकारका छन् । पिक्सल वाच ब्लुटुथ र वाइफाइ भएको मोडलको मूल्य ३४९.९९ अमेरिकी डलर (आजका दिनमा नेपाली बजारमा करिब ४६ हजार रूपैयाँ) तोकिएको छ ।

त्यस्तै फोर–जी र ब्लुटुथ वाइफाइ भएको मोडलको भने ३९९.९९ (करिब ५३ हजार रूपैयाँ) डलर पर्छ । गोलाकार डिजाइन भएको गुगलको स्मार्टवाचका लम्बाइ–चौडाइ ४१ मिमी र मोटाइ १२.३ मिमी छ । यो घडीले गुगलको ’एन्ड्रोइड वेयर ओएस– ३.५ (अपरेटिङ सिस्टम)’ मा काम गर्छ ।


९४ एमएएचको लिथियम आयन ब्याट्री भएको यो घडी एकपटकको पूरा चार्जमा एक दिनसम्म चल्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्याट्री एकदमै कम भएको छ भने यसले संकेत दिन्छ । आधा घन्टामा यो ५० प्रतिशत चार्ज भइसक्छ भने पूरा चार्ज हुन ८० मिनेट लाग्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्