कृषि विकास र एनएमबी बाहेक अधिकांश बैङ्कको ब्याजदर अन्तर राष्ट्र बैङ्कले दिएको सीमा बाहिर, यी हुन् ग्राहकलाई माया गर्ने बैङ्क « Arthapath.com
२८ कार्तिक २०७९, सोमबार

कृषि विकास र एनएमबी बाहेक अधिकांश बैङ्कको ब्याजदर अन्तर राष्ट्र बैङ्कले दिएको सीमा बाहिर, यी हुन् ग्राहकलाई माया गर्ने बैङ्क



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लिने र दिने ब्याजदर ४.४ प्रतिशतमा सीमित गर्न भने पनि अधिकांश बैङ्कले यसको पालना नगरेको पाइएको छ । ब्याजदर अन्तरको हिसाब गर्ने सूत्र राष्ट्र बैङ्कले तोकिदिए पनि सर्सरति हिसाबमा कृषि विकास बैङ्क र एनएमबी बैङ्कबाहेक कुनै पनि वाणिज्य बैङ्कले यो सीमाभित्र ब्याजदर अन्तर राख्न नसकेको देखिएको हो । बैङ्कहरूले जारी गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश बैङ्कको ब्याजदर अन्तर भारी मात्रामा देखिएको छ ।

यस तथ्यले पछिल्लो समय व्यवसायीहरूले बैङ्कको नाफाखोरीका विषयमा उठाएका कतिपय सवाललाई सत्य साबित गर्न सघाउ पुराउँछन् । भलै, ब्याजदर र यस्तो ब्याजदर अन्तर (स्प्रेड) पनि बजारमा तरलताको अवस्थाका कारण कम–बढी हुनु स्वाभाविक हुन्छ । तर केन्द्रीय बैङ्कले सबै वित्तीय संस्थाको औसत नाफा सुरक्षित गर्ने गरी दिएको अधिकतम सीमालाई पार गर्नु भने जायज नहुने राष्ट्र बैङ्कका अधिकारी बताउँछन् ।

पहिलो त्रैमासको वित्तीय विवरणलाई केलाउने हो भने नेपालमा सेटलमेण्ट बैङ्कको रूपमा रहेर कयौँ नियामकीय छुट पाइरहेको स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले सबैभन्दा धेरै मार्जिन राख्ने गरेको पाइएको छ । यो बैङ्कले पहिलो ३ महिनामा निक्षेपकर्तालाई औसत ५.६५ प्रतिशत मात्रै ब्याज दिएको छ । तर ऋणीसँग औसतमै १२.५९ प्रतिशत ब्याज असुलेको छ । यसरी ६.९४ प्रतिशत मार्जिन अर्थात् ब्याज नाफा आर्जन गरेको देखिन्छ ।

त्यसपछि राष्ट्रिय वाणिज्य बैङ्क र एनआईसी एसियाले पनि ६ प्रतिशतभन्दा बढीको मार्जिन राखेर कर्जा दिएका छन् । सेन्चुरी, प्रभु, सिभिल, एभरेस्ट, कुमारी, नेपाल इन्भेस्टमेन्ट, नेपाल बैङ्क र सिटिजन्स बैङ्कले पनि औसत मार्जिन (५.२२ प्रतिशत) भन्दा बढी ब्याज नाफा असुलिरहेका छन् । ४.४ प्रतिशतको सीमाभित्र कृषि विकास र एनएमबी मात्रै भए पनि सानिमा, एनसीसी, लक्ष्मी, मेगा, माछापुच्छ्रे, सिद्धार्थ, सनराइज र ग्लोबल आईएमईले यस्तो ब्याज नाफाको दर ५ प्रतिशतभन्दा कम नै राखेका छन् ।

निक्षेपकर्तालाई बढी माया गर्ने बैङ्कमा सिद्धार्थ सबैभन्दा अघि देखिएको छ । सिद्धार्थले निक्षेपकर्तालाई औसत ९.८१ प्रतिशत ब्याज दिएको छ । मेगाले पनि हाराहारी नै ब्याज दिएको छ । सिभिल, सनराइज र प्राइमले पनि साढे ९ प्रतिशतभन्दा बढी ब्याज दिएका छन् । सबैभन्दा धेरै नाफा लिने स्ट्याण्डर्ड चार्टर्डले निक्षेपकर्तालाई सबैभन्दा कम ५.६५ प्रतिशत ब्याज दिएको छ । त्यसपछि राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क र नबिल बैङ्कले थोरै ब्याजमा निक्षेप लिएका छन् ।

केही वर्षअघि सम्म सबैभन्दा बढी ब्याज असुल्दै आएको कृषि विकास बैङ्क अहिले ऋणीसँग सबैभन्दा कम ब्याज लिने बैङ्कमा देखिएको छ । उसले कुल कर्जाको १२.३५ प्रतिशत मात्रै ब्याज आम्दानी देखाएको छ । नेपाल बैङ्क, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र नबिल बैङ्कले पनि तुलनात्मक रूपमा सस्तो ब्याजमा ऋण दिएका छन् । कर्जामा सबैभन्दा धेरै ब्याज आम्दानी गर्ने बैङ्क चाहिँ सिभिल हो । 

सिभिलले कुल कर्जाको १५.४६ प्रतिशत ब्याज असुलेको छ । सेन्चुरी, प्राइम, सिद्धार्थ र सिटिजन्सले पनि बढी ब्याज प्राप्त गरेको तथ्याङ्क वित्तीय विवरणमा सार्वजनिक गरेका छन् ।

बैङ्कको हिसाबले यसरी ब्याजदर अन्तर धेरै बनाएर बढी नाफा आर्जन गर्नु राम्रो हो । यसले बैङ्कको नाफा बढाउन सघाउँछ । तर आवश्यकताभन्दा बढी ब्याजदर अन्तर राख्नु आफ्नो ग्राहकप्रतिको दोहन पनि हो । बढी मार्जिन राख्ने बैङ्कले कि निक्षेपकर्तालाई ठगिरहेका हुन्छन्, कि ऋणीलाई । यस्तो प्रवृत्तिले ब्याजदरमा प्रतिस्पर्धा पनि कमजोर पारिरहेको हुन्छ ।

बाणिज्य बैंकहरुको ब्याज खर्च र ब्याज आम्दानीबीचको तुलना ।

Tags :

प्रतिक्रिया दिनुहोस्