एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार, निर्वाचनअघि एमालेले सरकार नछाड्ने « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार, निर्वाचनअघि एमालेले सरकार नछाड्ने



काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने तय भएको छ । शनिवार बिहान बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।

उम्मेदवार तय गरेसँगै एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । शुक्रबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

प्रगतिशील छोडेर दक्षिणपन्थी गठबन्धनतिर प्रचण्ड
त्यसको भोलिपल्ट बसेको शनिबार एमालेले सचिवालयको बैठक बोलाएको थियो । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेको छ । ‘अस्थिर हुुनुभयो, बाहृय दबाब थेग्न सक्नु भएन र प्रगतिशील गठबन्धनलाई छाडेर दक्षिणपन्थी गठबन्धनतिर लाग्नुभयो,’ बैठकको निष्कर्ष सुनाउँदै एमालेका एक पदाधिकारीले भने ।

यद्यपि एमालेले १० पुसमा बनेको गठबन्धन तोडिएको घोषणा गरेन, बरु त्यो सहमतिअनुसार नै अघि बढ्ने भन्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । ‘सुबासजीको उम्मेदवारी पुस १० को निरन्तरता हो,’ एक पदाधिकारी भन्छन्, ‘१० गते प्रचण्डलाई प्रधानमन्त्री नियुक्ति गर्ने हस्ताक्षर गर्नेए दल र मतदानताहरु कायम रहन्छ भन्ने हाम्रो विश्वास छ ।’

१० पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका थिए । त्यो बेला राष्ट्रपति एमालेले लिने सहमति पनि भएको थियो । तर माओवादीसँगै जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी शुक्रबार बसेको ८ दलको गठबन्धनमा छन् । र, कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका छन् ।

एमालेले भने आफ्नो उम्मेदवार नेम्वाङका लागि राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाएको नेपाली कांग्रेस बाहेक सबै दलको समर्थन खोज्ने बताएको छ । बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘हिजोको निर्णयले थोरै तलमाथि भएको छ, तर २५ गतेसम्म धेरै कुरा पाक्छ होला ।’

Tags :

प्रतिक्रिया दिनुहोस्