सेयर किन्न आरविवि र एभरेष्ट बैंकले दिन्छन् सस्तो ब्याजमा ऋण, लगानीकर्ताले कुन-कुन बैंक रोज्ने ? « Arthapath.com
६ चैत्र २०८०, मंगलवार

सेयर किन्न आरविवि र एभरेष्ट बैंकले दिन्छन् सस्तो ब्याजमा ऋण, लगानीकर्ताले कुन-कुन बैंक रोज्ने ?



काठमाडौं । सेयर धितो कर्जाको ब्याजदर पनि घट्न थालेको छ । ब्याजदर घटेसँगै बैङ्क तथा वित्तीय सस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जामा पनि बढोत्तरी देखिएको छ । 

पछिल्लो समय बैङ्कहरूले ब्याजदर निरन्तर घटाएका छन् । बैङ्कहरूमा पनि लगानीयोग्य रकम थुप्रिएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्दै गएको हो ।  निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो । हाल बैङ्कहरूको आधार दर औसतमा १० प्रतिशत तल नै छ । अहिले बैङ्कहरूको आधार दर नै ७ प्रतिशतको लाइनमा झरिसकेको छ । 

बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । यद्यपि, बैङ्कहरूको आधार दर अनुसार फरक–फरक हुनसक्छ । 

तीन महिनाको औसत आधार दर अनुसार सबैभन्दा सस्तो ब्याजदरमा सेयर  कर्जा राष्ट्रिय वाणिज्य बैङ्कले दिन सक्नेछ । हाल बैङ्कको आधार दर ७.५२ प्रतिशत छ । बैङ्कले सेयर धितोमा २.५० प्रतिशतदेखि २.७५ प्रतिशत मात्रै प्रिमियम जोडेर कर्जा उपलब्ध गराउने भएको हो । बैङ्कबाट सेयर धितोमा कर्जा लिँदा न्यूनतम १०.४२ प्रतिशतदेखि १०.६७ प्रतिशतसम्म ब्याज लाग्ने छ । 

यद्यपि, राष्ट्रिय वाणिज्य बैङ्कभन्दा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको आधार दर (७.५२ प्रतिशत) कम छ । तर, सो बैङ्कले भने सेयर धितोमा कर्जा प्रवाह भने गर्दैन । 

एभरेष्ट बैङ्कबाट सेयर धितो राखेर कर्जा लिँदा पनि सस्तो ब्याज पर्ने देखिन्छ । बैङ्कले आधार दरमा शून्य दशमलव ५० प्रतिशतदेखि २.५० प्रतिशत ब्याज लिने छ । हाल बैङ्कको आधार दर ८.७१ प्रतिशत छ । एभरेष्टले न्यूनतम ९.२१ प्रतिशतदेखि ११.२१ प्रतिशतमै सेयर कर्जा दिनेछ । 

यस्तै, सरकारी स्वामित्वमा रहेको कृषि विकास बैङ्कले पनि आधार दरमा ५ प्रतिशत प्रिमियम थप गरेर सेयर धितो कर्जा प्रदान गर्ने भएको छ । हाल बैङ्कको आधार दर ८.५७ प्रतिशत छ । 

यस्तै, नबिल बैङ्कले पनि आधार दरमा  १ देखि ४ प्रतिशतसम्म, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले २ देखि ४ प्रतिशतसम्म, सिद्धार्थले ३.५ प्रतिशतसम्म, सानिमाले १.५० देखि ३.५० प्रतिशतसम्म प्रिमियम थपेर सेयर धितोमा कर्जा प्रवाह गर्ने भएका छन् । हाल यी बैङ्कहरूले आधार दर क्रमशः ८.८६ प्रतिशत, ९.१४ प्रतिशत, ९.२२ प्रतिशत र ९.२७ प्रतिशत छ । 

कुन बैङ्कले कति प्रतिशत ब्याजमा दिन्छन् सेयर कर्जा ?


प्रतिक्रिया दिनुहोस्