अन्तर्राष्ट्रिय व्यापारका २९ मध्ये एक दर्जन नाकाबाट शून्य निर्यात, कुन नाकाबाट कति ? « Arthapath.com
१२ चैत्र २०८०, सोमबार

अन्तर्राष्ट्रिय व्यापारका २९ मध्ये एक दर्जन नाकाबाट शून्य निर्यात, कुन नाकाबाट कति ?



काठमाडौं । हाल संचालनमा रहेकामध्ये एक दर्जन भन्सार नाकाबाट निर्यात शून्य छ । हाल नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि २९ वटा नाका खुला गरेको छ । तर, यीमध्ये १२ वटा भन्सार बिन्दुबाट शून्य निर्यात भएको हो । तर, आयात भने सबै नाकाबाट निर्वाध रुपमा भइरहेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार भद्रपुर, चोभार, गौतम बुद्ध एयरपोर्ट, महेश्वर, पोखरा, राजविराज, सिराह, सुन्सरी, सथौली, ठाडी र त्रिवेणी भन्सार नाकाबाट शून्य निर्यात भएको हो । यद्यपि, यी नाका मार्फत आयात चाँहि भएको छ ।

चालु आवको आठ महिनामा नेपालले कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेका छ । तर, १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

अन्तर्राष्ट्रिय व्यापारका लागि खुला गरिएका २९ वटै भन्सार नाकाबाट आयात भएपनि १२ वटाबाट भने एक रुपैयाँको पनि पठाउन सकिएको छैन् । भारतसँग द्धिपक्षीय रुपमा सम्झौता भएका नाकाहरुबाट मात्रै निर्यात भएका छन् । तर, त्यसबाहेकका तेस्रो मुलुकसँगको निकासी भने शून्य नै छ । विशेषगरि भारतपछिका तेस्रो मुलुकसँग जोडिने नाका व्यवस्थित नहुँदा नै निकासी हुन नसकेको विभागले जनाएको छ । विभागका अनुसार आवश्यक पूर्वाधार नहुँदा पनि निकासीमा समस्या भएको हो । यद्यपि, तेस्रो मुलुकसँगको सहज रुट नहुादा पनि निकासी हुन नसकेको विभागका एक अधिकारीले बताए

वीरजञ्ज नाकाबाट हुन्छ सबैभन्दा ठुलो वैदेशिक व्यापार

हाल संचालनमा रहेकामध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार भने विरगञ्ज नाका मार्फत हुने गरेको छ । विभागका अनुसार सो कार्यालय मार्फत ८ महिनामा ३ खर्ब ५३ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको आयात भएका छन् । कुल आयातमा यो नाकाको हिस्सा ३४.२७ प्रतिशत छ । समिक्षा अवधिमा सो नाका मार्फत नेपालले १९ अर्ब ५८ करोड २ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । कुल निर्यातमो विरगञ्ज नाकाको हिस्सा १९.४६ प्रतिशत छ ।

विरगञ्जपछि भैरहवा नाकाबाट धेरै निकासी हुने गरेको छ। चालु आवको साउनदेखि फागुनसम्ममा सो कार्यालय मार्फत १ खर्ब ५७ अर्ब १३ करोड ६२ लाख रुपैयाँ बराबरको माल वस्तु आयात गरिएको छ । कुल आयातमा यसको हिस्सा भने १५.२५ प्रतिशत हो । सोही नाका मार्फत भने ९ अर्ब १ करोड ९७ लाख रुपैयाँ ( ८.९६ प्रतिशत हिस्सा) बराबरको निर्यात भएको छ।

यस्तै, ड्राइपोर्ट नाका मार्फत पनि १ खर्ब ३८ अर्ब ३१ करोड ९४ लाख रुपैयाँ र विराटनगर मार्फत १ खर्ब १२ अर्ब ४५ करोड २१ लाख रुपैयाँ बराबरको आयात भएको छ । यी दुई नाकाको आयातमा हिस्सा क्रमशः १३.४३ प्रतिशत र १०.९२ प्रतिशत छ । यता, निर्यात भने ड्राइपोर्ट मार्फत ३ अर्ब ४ करोड ७८ लाख र विराटनगर मार्फत २० अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको छ ।

निर्यातको व्यापारमा ठुलो हिस्सा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो सूचीमा रहेको छ । सो नाका मार्फत ८ महिनामा २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । कुल निर्यातमा सो नाकाको हिस्सा पनि २२.७५ प्रतिशत छ ।


प्रतिक्रिया दिनुहोस्