सौम्य सानिमा : बैंकिङमा ‘न आत्तिने र नमात्तिने’ शैलीले कसरी मजबूत बनाइरहेको छ ? « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

सौम्य सानिमा : बैंकिङमा ‘न आत्तिने र नमात्तिने’ शैलीले कसरी मजबूत बनाइरहेको छ ?



काठमाडौं । यही देशमा कयौं बैंकहरु ‘ऊ भन्दा ऊ ठूलो’ बन्ने होडबाजीमा छन् । कसैलाई निक्षेपको बजार ‘कब्जा’ गर्नु छ । कसैलाई कर्पोरेटको ऋणमा आफ्नै ‘ठेक्का’ लगाउनु छ । कसैलाई सम्पत्ती बढाउनु छ । हरेक सूचकांकमा ‘नम्बर १’ बनेर ‘देखाउनू’ छ ।

घरि स्वस्थ र घरि अस्वस्थ प्रतिस्पर्धाको त्यो ‘तँछाड–मछाड’भन्दा अलग्गै पनि केही बैंक छन् । तीनैमध्येको एक हो सानिमा बैंक । गैह्रआवासीय नेपालीहरुले प्रबद्र्धन गरेको यो बैंक ‘गुमनाम’ त छैन, तर खासै चर्चामा पनि सुनिँदैन । शान्त सागरजस्तै भएर आफ्नो आकार बढाइरहेको छ ।

खहरे गडगडाउँछ । तर विशाल नदीहरु बहन्छन् । सानिमा पनि एक विशाल नदीकै भाँती छ । ऊ अफैँसँगको प्रतिस्पर्धामा छ । ‘मर्जर नै नगरे पनि हामी १६ औँ ठूलो बैंक छौँ । हामीलाई आक्रामक नभएकोमा कुनै पश्चात्ताप छैन’ बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे भन्छन् । ‘विदेशमा बाणिज्य बैंकहरुको सम्पत्तीको आकार सयौँ गुणासम्म फरक पर्छ’, उनले थपे, ‘तर नेपालमा सबैभन्दा ठूलो बैंक र हाम्रो सम्पत्तीको आकार २ गुणा हाराहारीमात्रै छ ।’

हुन पनि सम्पत्तीको हिसाबमा सबैभन्दा ठूलो बनेको ग्लोबल आईएमईसँग सनिमाको तुलनामा २.४ गुणा बढी सम्पत्ती छ । चुक्ता पूँजीमा त ग्लोबल २.७ गुणा ठूलो छ । नेपाल इन्भेष्टमेन्ट मेगा र नबिल बैंकसँग पनि दोब्बरभन्दा बढी चुक्ता पूँजी छ ।

तर जब प्रतिफल दरको कुरा आउँछ, त्यसपछि स्याण्डर्डचार्टर्ड, एभरेस्ट, प्राइम, नबिल र एनएमबीपछि ‘रिटर्न अन इक्वीटी’ सर्वाधिक हुनेमा सानिमा नै पर्छ । यस सूचकमा उसले अरु १४ बैंकलाई जितेको छ । सेयर धनिमात्रै होइन, कर्मचारीलाई खुसी पार्नमा पनि सानिमा अगाडी छ ।

सम्पत्तीमा १६ औँ स्थानमा भएको यो बैंक आफ्ना कर्मचारीलाई बोनस दिनमा ७ औँ स्थानमा छ । उसले कुल कर्मचारी खर्चको करीब १९ प्रतिशत बोनस दिएको छ । ऋणीको रोजाइमा पनि सानिमा अगाडी नै छ । खासै धेरै कर्जा प्रवाह नगर्ने स्याण्डर्ड चार्टर्डलाई छाड्ने हो भने सबैभन्दा कम आधार दर भएका ५ बैंकमा यो यो बैंक पर्छ ।

सानिमाको आधार दर अहिले ८.३५ प्रतिशत छ । जबकी, अरु १४ बैंकको आधार दर यो भन्दा बढी छ । यस्तो दर १० प्रतिशतको नजिकसम्म पुगेका छन् । सानिमालाई ऋणीले बढी विस्वास गर्छन् भन्ने तथ्य उसको तरलता अनुपातले पनि देखाउँछ । अहिले बैंकहरुमा कर्जाको माग घट्ने र निक्षेप थुप्रिने परिपाटीले धेरैलाई समस्या हुन थालेको बेला सानमा भने सबैभन्दा कम तरलता बोकेर बस्नेमध्ये दोस्रो बैंक बनेको छ ।

८० प्रतिशत सीडी रेसियो भएको यो बैंक कर्जा र निक्षेपको सन्तुलन मिलाउनमा अरु बैंकको दाँजोमा सबैभन्दा राम्रो हालतमा छ । अन्य बैंकहरु अहिले पनि ७० देखि ८६ प्रतिशतको सीडी रेसियोमा बसेका छन् । यसले सम्पत्ती र दायित्व व्यवस्थापनमा सानिमाको चुस्त ‘परफरमेन्स’ देखिन्छ ।

यति हुँदा हुँदै पनि उसले ब्याजदर अन्तर (स्प्रेड)लाई राष्ट्र बैंकले दिएको माथिल्लो सीमा अर्थात् ४ प्रतिशतमा राखेको छ । २० मध्ये केवल ६ वटा बैंकहरुमात्रै यसरी ठीक ४ प्रतिशतमा स्प्रेड कायम राख्न सफल भएका छन् । कर्जाको गुणस्तरमा सानिमा सधैँभरी अब्बल रहँदै आएको छ ।

निष्कृय कर्जा बढेको भनेर सबैभन्दा खराब परिस्थितिमध्ये एक समयको सामना गरिरहेको यो बेलामा पनि एभरेस्ट पछाडी सर्वाधिक कम निष्कृय कर्जा सानिमाकै छ । बाँकी १८ बैंकहरुको हालत उसको भन्दा कमजोर देखिन्छ ।

अहिलेको अर्को समस्या हो, बैंकहरुको पूँजी पर्याप्तता । ठूला भनिएका बैंकहरुलाई राहत दिन राष्ट्र बैंकले मौद्रिक नीतिको संशोधन गरेर ‘रिटेल पोर्टफोलियो’को सीमा दोब्बर बनाइदिएको छ । यसका बाबजुद १२ वटा बैंकहरुको पूँजी पर्याप्तता अनुपात १३ प्रतिशतभन्दा कम भइसकेको छ । ५ वटा बैंक त समस्याको डीलमै पुगेका छन् । अर्थात् उनीहरुको यस्तो अनुपात ११ प्रतिशतमा झरिसकेको छ ।

तर सानिमा बैंक स्ट्याण्डर्ड चार्टर्डलाई छाड्ने हो भने ‘इन्डस्ट्री’कै सबैभन्दा सहज हालतमा देखिन्छ । सर्वाधिक पूँजी पर्याप्तता भएको दोस्रो बैंक सानिमासँग गत चैत मसान्तमा पनि १३.५१ प्रतिशत पूँजी थियो । यसले अहिलेको अवस्थामा वास्तवमै सहज र सन्तुलित हालतमा यो बैंक छ भन्ने देखाउँछ ।

कारोबार नै सानो भएकाले नाफा कम हुनु त स्वाभाविक थियो । तर १६ औं स्थानको बैंक भएर पनि वितरणयोग्य मुनाफाका दृष्टिले सानिमा अहिले पनि छैटौँ ठूलो बैंक हो । कम सेयर भएकाले उसका सेयर धनिले अरु बैंकका तुलनामा अझ बढी लाभांश पाउने संभावना त छँदै छ ।

यस्ता विवरणहरुले भन्छ, सानिमाले अपनाएको शान्त र व्यावसायिक दिगो विकासको बाटोले वास्तवमै उसलाई सही र सुरक्षित गन्तव्यमा पुर्याउने छ ।


प्रतिक्रिया दिनुहोस्