बुङ्गल हाइड्रोको आईपीओ बिक्रि खुला, क-कसले दिन पाउँछन् आवेदन ?
बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन प्रक्रिया सुरु गरेको छ।
कम्पनीले ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत हिस्सा, अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न नियामक निकायबाट अनुमति प्राप्त गरिसकेको छ। यस अन्तर्गत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिशेयर १०० रुपैयाँ दरमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर जारी गरिनेछ, जसको कुल मूल्य ८ करोड ३० लाख रुपैयाँ बराबर हुनेछ।
उक्त शेयरमध्ये ६५ प्रतिशत अत्यधिक प्रभावित क्षेत्र सुदूर पश्चिम प्रदेशको बझाङ जिल्ला अन्तर्गत बुङ्गल नगरपालिका–६ (साविक पिपलकोट गाविस वडा नं ४, ५ र ७) र वडा नं ७ (साविक कफलसेरी गाविस वडा नं १०) का बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ३५ प्रतिशत शेयर सामान्य प्रभावित क्षेत्र बुङ्गल नगरपालिका वडा नं १, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दालाई छुट्याइएको छ।
यससँगै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि समेत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरमा २ लाख ७ हजार ५०० कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर हुनेछ। यो हिस्सा सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरको १० प्रतिशत हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदनको अन्तिम म्याद साउन ११ गतेसम्म तोकिएको छ।
यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेड ले लिएको छ।
















