विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट, साढे १७ लाख आवेदकको हात खाली « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट, साढे १७ लाख आवेदकको हात खाली



काठमाडौं। विकास हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आज, आइतबार (असार २९ गते) बाँडफाँट गरिएको छ। बाँडफाँटको प्रक्रिया बिहान साढे ९ बजे धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता शेयर निष्काशन गरेको थियो।

यसमध्ये ७० हजार ९१० कित्ता कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित राखिएको थियो।

सर्वसाधारणका लागि खुला गरिएको यो आईपीओमा २१ लाख ५० हजार ६७२ जना आवेदकबाट कुल २ करोड ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये २० लाख ४३ हजार ६८६ जनाको आवेदन स्वीकृत भई २ करोड ३४ लाख ८३ हजार ९० कित्ता शेयर सदर भएको छ, भने बाँकी १ लाख ६ हजार ९८६ जनाको २६ लाख ६५ हजार २६० कित्ताको आवेदन विभिन्न कारणले रद्द गरिएको हो।

मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँट गोलाप्रथाबाट गरिएको हो। जसअनुसार, १० कित्ताका दरले २ लाख ९४ हजार २७६ जना आवेदकले शेयर पाएका छन्। बाँकी १७ लाख ४९ हजार ४१० जना आवेदक भने शेयरबाट वञ्चित भएका छन्।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सीडीएससीको मेरो शेयर पोर्टल तथा iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्