सेयरमा साउनदेखि बढ्दै छ कर, सीडीएसी भन्छः परिक्षण शुरू भइसक्याे « Arthapath.com
२७ असार २०७८, आईतवार

सेयरमा साउनदेखि बढ्दै छ कर, सीडीएसी भन्छः परिक्षण शुरू भइसक्याे



काठमाडौं । साउनदेखि सेयर बजारका लगानीकर्ताले सरकारलाई बढी कर तिर्नु पर्ने छ । सरकारले दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरेकाे छ । यस्ताे व्यवस्था कार्यान्वयन गर्न सिडिएससीले प्रणालीकाे परिक्षण शुरू गरिसकेकाे बताएको छ । सरकारले सेयर बजारका अल्पकालीन र दीर्घकालीन लगानी छुट्याइ कर निर्धारण गर्ने ब्यवस्था गरेको थियो । सोही अनुरूप सिडिएससीले काम गरिरहेको हो । 

साउन १ गतेदेखि सेयर बजारका दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने छ । सिडिएससी एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुर्ण प्रसाद आचार्यले यो व्यवस्था लागू गर्न सिस्टममा ठूलो परिवर्तन गर्नु परेको बताएका छन् । सीईओ आचार्य भन्छन्, ‘५ प्रतिशत र साढे ७ प्रतिशत करले गर्दा हाम्रो सिस्टम (काराेबार प्रणाली) मा ठूलो परिर्तन गर्नुपर्ने देखिएको छ ।’

उनले सामान्यतया ६ महिना लाग्ने काम डेढ महिनामै सक्काइएकाे बताए । ‘कोही लगानीकर्तासँग सबै कम्पनीको सेयर हुनसक्छ,’ उनले भने, ‘कोही लगानीकर्ता हरेक दिन काराेबार गर्ने खालका पनि हुन्छन् ।’ त्यस्ताे अवस्थामा २ वटा स्ल्याबमा छुट्याएर ५ र ७.५ प्रतिशत कर लगाउन सीडीएससीकाे प्रणालीमा ठूलाे परिवर्तन गर्नुपर्ने उनले बताए ।

सीईओ आचार्यले अहिले परिक्षण भैरहेकाले साउन १ गतेदेखि लागू गरिने बताए । सरकारले आर्थिक अध्यादेशमार्फत संसोधन गरी अल्पकालीन लगानीकर्ताले पूँजीगत लाभकरबापत धेरै र दीर्घकालीनले थोरै लाभकर तिर्नुपर्ने व्यवस्था गरेको हो । 

अहिले सबै सेयर लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्दै आएका छन् । साउन १ गतेदेखि लागुभएपछि धितोपत्र बोर्डमा सूचीकरण भएको ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निसर्गबाट प्राप्त लाभको हकमा ५ प्रतिशतको दरले कर लाग्ने छ । योसँगै कुनै पनि कम्पनीको सेयरमा ३६५ दिनभन्दा बढी अवधिका लागि लगानी गर्नेहरूलाई दीर्घकालीन लगानीकर्ता भन्नुपर्ने भएको छ । 

यस्तै, ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको निसर्गबाट प्राप्त लाभको हकमा ७.५ प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेको छ । यसको अर्थ ३६५ दिनभन्दा कम अवधिका लागि लगानी गर्ने लगानीकर्ताले अब ७.५ प्रतिशतको दरले लाभकर तिर्नुपर्ने हुन्छ । जसलाई अल्पकालीन लगानीकर्ता भन्नुपर्ने हुन्छ । 


प्रतिक्रिया दिनुहोस्