परम्परा तोड्दै आफै नेप्से पुगे अध्यक्ष हमाल, लाखौं लगानीकर्ताको डेटाको सुरक्षामा चासो « Arthapath.com
८ फाल्गुन २०७८, आईतवार

परम्परा तोड्दै आफै नेप्से पुगे अध्यक्ष हमाल, लाखौं लगानीकर्ताको डेटाको सुरक्षामा चासो



काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमाल विगतको परम्परा तोड्दै आफैं नेपाल स्टक एक्चेन्ज (नेप्से) पुगेका छन् । आइतबार बोर्डको कार्यालयमा १० बजेनै कार्यभार सम्हालेका अध्यक्ष हमाल १२ बजेतिर आफै नेप्सेको कार्यालय शिंहदरवार प्लाजा पुगेका थिए ।

विगतमा समन्वय हुन नसकेको बोर्ड र नेप्सेबीचको दुरी घटाउन मात्र नभई हमाल केही गरेर देखाउन नेप्से पुगेको बताउँछन् । आइतबार अर्थपथसंगको भेटमा हमालले भने ‘विगतकाे परम्परा ताेड्दै म नेप्से पुगेर त्यहाँको बस्तुस्थितीको बारेमा जानकारी लिएँ ।’ अध्यक्ष हमालले भने ‘मैले प्रोटोकल खोजेर बस्ने होइन, २२ महिनाको अवधीमा धेरै काम गरेर देखाउनु छ ।’

लाखौं लगानीकर्ताको डेटा बोकेर बसेको नेप्सेको ‘फायरप्रुप’ डेटा सेन्टर नभएको भन्दै तत्काल सुधार गर्न हमालले नेप्सेलाई निर्देशन दिएका छन् । ‘एउटा सामान्य होटलको आईटी रुम फाइरप्रुफ (आगाे प्रतिराेधी) हुन्छ लाखौं लगानीकर्ताको विवरण रहेको नेप्सेको आईटी रुममा सुधार जरुरी छ’ हमालले अर्थपथसंग भने । उनले आफु काम गरेर देखाउन आएकोले प्रोटोकल हेरेर नबस्ने बताए ।

नेप्सेको कार्यालय सफा चिटिक्क रहेको तर अनलाइन र डेटाकै भरमा रहेको लाखौं लगानीकर्ताको विवरण कुनै बेला उड्यो भने धेरैले आत्महत्या गर्नुपर्ने अवस्था आउँछ । हामीले सुधार ल्याउनु जरुरी रहेको उनले बताए ।

बजारमा धेरै समस्या रहेको बेला छोटो अवधीको लागि नियुक्त अध्यक्ष हमालले आफ्ना बारेमा रहेका भ्रमहरु चिर्ने बताए । साना लगानीकर्ताको हितको लागी काम गर्ने बताएका उनी आफ्नो कार्यकालमा धितोपत्र बोर्डले परिवर्तनको महशुस गर्ने बताउँछन् । सरकारले हमाललाई बिहीबारको मन्त्रीपरिषद बैठकले नियुक्त गरेको थियो । अर्थमन्त्रीबाट शुक्रबार पद तथा गोपनियताको सपथ लिएका हमालले आइतबार कार्यभार सम्हालेका हुन् ।


प्रतिक्रिया दिनुहोस्