‘म्युचुअल फन्डमा लगानी गर्ने नै बजार घटेको बेलामा हो, ढुक्क भएर लगानी गर्नुस्’ « Arthapath.com
१७ कार्तिक २०७९, बिहीबार

‘म्युचुअल फन्डमा लगानी गर्ने नै बजार घटेको बेलामा हो, ढुक्क भएर लगानी गर्नुस्’



भीष्मराज चालिसे, सीईओ, सानिमा क्यापिटल लि.

मर्चेन्ट बैङ्किङ बजारमा करिब तीन दशक बिताएका भीष्मराज चालिसे हाल सानिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । दुई वर्ष अघि सिटी एक्सप्रेस फाइनान्स नेपाल इन्भेस्टमेन्ट बैङ्कमा गाभिएपछि उनी सानिमा क्यापिटलको नेतृत्व गर्न पुगेका हुन् । एस डेभलपमेन्ट बैङ्कबाट बैङ्किङ करियर सुरु गरेका चालिसे त्यहाँ १३ वर्ष बिताएर सिभिल क्यापिटल खोल्न पुगे । सिभिलमा सीईओ भएर ९ वर्ष काम गरेपछि काठमाडौं क्यापिटल खोले । काठमाडौं क्यापिटल हाल विओके क्यापिटल भएको छ । त्यहाँ साँढे २ वर्ष काम गरेका उनले सिटी एक्सप्रेस फाइनान्समा पनि अढाई वर्ष नै नेतृत्व सम्हाले । सानिमा क्यापिटलले अहिले ‘सानिमा ग्रोथ फन्ड’ नामक बन्द मुखी सामूहिक लगानी योजना बुधवारदेखि सर्वसाधारणको लागी खुला गरेको छ । १२ करोड इकाईको यो योजना निर्धारित चार दिनमै विक्री हुने विश्वास चालिसेको छ । 

पछिल्लो समय म्युचुअल फन्डको इकाई बिक्री नै हुन छोड्यो । आम मानिसको विश्वास उठ्दै गएको हो की तरलता समस्याको असर हो ?

त्यस्तो होइन, । यसअघि आइरहने आइपिओ पनि बिक्री भइरहेका छन् । म्युचुअल फन्ड शेयरको दोस्रो बजारमा आधारित हुने भएकाले त्यस्तो लागेको मात्रै हो । तर, बिक्री भइरहेको छ । सबैको राम्रै बिक्री भएको तथ्याङ्क छन् । बरु केही वर्ष अघि चाहिँ गाह्रै भएको होला तर, अहिले छैन । गत वर्षदेखि त झनै बढेको छ । 

अहिले धेरै फन्डहरू घाटामा छन् नि, किन ?

यो शेयरको दोस्रो बजारमा निर्भर हुन्छ । हामीले म्युचुअल फन्डमा उठेको अधिकांश पैसा सेकेन्डरी मार्केटकै सेयरमा लगानी गर्ने हो । सेकेन्डरी मार्केट नै तलमाथि हुँदा म्युचुअल फन्डको पैसा पनि थपघट भइहाल्छ नि । त्यो स्वाभाविक नै हो । 

सानिमा क्यापिटलले फन्ड ल्याउन धेरै अघिदेखि नै तयारी गरेको थियो तर, किन ढिला ?

यो बिचमा प्राविधिक समस्याले ढिलाइ भएको हो । हामी तयार नै थियौँ । तर नेपाल धितो पत्र बोर्ड लगायतका समस्याले नै केही ढिलाइ भएको हो । यो बिचको आठ महिनामा सेक्युरिटी मार्केट नै ठप्प थियो । हामी मात्रै होइनौँ अरूले पनि बोर्डको स्वीकृति पाएका थिएनन् । रोल क्रमानुसार पाउँदा अलि ढिलाइ भयो । 

अब यो पछिका अरू स्किमहरू कहिले आउँछ ?

अब निरन्तर आउँछ । अरू तीन वटा स्किमको पनि प्रतिक्रिया लिइसकेका छौँ । यसबिचमा दसैँ, तिहार लगायतको लामो बिदा भएकाले पनि ढिलाइ भएको छ । अब पुससम्म धेरै म्युचुअल फन्डहरू आइसक्छन् । अहिलेको सेकेन्डरी मार्केटलाई बचाउने भनेकै म्युचुअल फन्ड नै हो । जति धेरै म्युचुअल फन्डहरू आउँछन्, त्यति नै दोस्रो बजारमा पनि फाइदा छ । 

म्युचुअल फन्डहरूले दोस्रो बजारमा कारोबार गर्दा राम्रो कमिसन लिने र हिसाबमा देखाउदैनन् भन्ने छ नि ?

त्यो सत्य होइन । म्युचुअल फन्डको दोस्रो बजारमा कारोबार गर्दा कमिसन लिने कुरा गलत हो । हामीले अहिलेसम्म त्यस्तो गरेका छैनौँ, गर्दैनौँ पनि । हामी एकदम पारदर्शी तरिकाले लगानी गरिरहेका छौँ । त्यस्तो छलकपट हुँदैन । 

करोडौँको कारोबार गर्दा छुट नदिने पनि हुन्छ र ? दिनुपर्ने होइन ?

अहिले सेबोनले ब्रोकरहरूको कमिसन घटाउँदा घटाउँदै निकै कम बनाइसकेको छ । पहिले पहिले के गरे थाहा छैन । तर, हामी आइसकेपछि अटोमेटिक ब्रोकरको कमिसन पनि घटेकै हो । त्यसमा पनि कसैले छुट दिन्छ भन्ने लाग्दैन । अहिलेको अवस्थामा ब्रोकरले छुट दिने र कसैले त्यो कुरा लुकाउँछ भन्ने आरोप केवल मनगणन्ते कुरा हो । अरू के गर्छन् थाहा छैन, हामीले त्यस्तो गर्दैनौँ । 

फन्डहरूले पनि दोस्रो बजारको सुधारका लागि खासै पहल गरेनन् भन्ने आरोप छ नि ?

अहिले बजारमा जति म्युचुअल फन्ड छन्, ती नआएको भए बजार कहाँ पुग्थ्यो ? अहिले पनि १८०० मा फर्किँदैनथ्यो । भन्ने कुराहरू एकातिर छ तर, यथार्थ अर्कोतिर छ । यदि अहिलेसम्म १५ वटा म्युचुअल फन्ड नआउने हो भने मार्केट कहाँबाट कहाँ पुगिसक्थ्यो । २०६७ सालमा जसरी नै बजार घट्थ्यो होला नि । आज मार्केट अड्किएको (घट्न रोकिएको) छ भने त्यो म्युचुअल फन्डका कारणले हो । 

फन्डहरूले लगानीको दायरा बढाएनन् भनेर नियामकले नै गुनासो गर्नुपर्ने अवस्था किन आयो त ?

नियामकले कुन सेन्सरमा भन्यो, उसले दिएको मार्गदर्शनभन्दा बाहिर जान सक्दैनौँ । त्यो मार्गदर्शनभित्र बसेर हामीले लगानी गर्छौँ । लगानीको क्षेत्र अझै फराकिलो बनाउन पर्‍यो भन्ने नियामकलाई लाग्छ भने उसले मार्गदर्शन नै त्यसै गरी ल्याउनु पर्छ । 

नेपालमा म्युचुअल फन्डहरूको आकार सानो भएको हो ?

त्यो त सानो भन्दा पनि म्युचुल फन्डहरू बिस्तारै ओपन इण्डेडमा जानुपर्ने हो । नेपालमा म्युचुअल फन्डको अभ्यास भएकै १० वर्ष हाराहारी मात्रै भयो । म्युचुल फन्ड ल्याउने भनेको सर्वसाधारणका लागि हो । तर, पब्लिक त्यहाँ भित्र छिर्न नसकेको अवस्था छ । अहिले पनि संस्थागत लगानीकर्तालाई नै बढी लक्षित गरेर इकाई बेच्नुपर्ने बाध्यता छ । पछिल्लो समय सर्वसाधारणले चासो दिएर लगानी बढाएको पाइन्छ । पछिल्लो समय डेढ लाखसम्म आवेदन दिएका छन् । यो त एकदमै राम्रो कुरा हो । 

म्युचुअल फन्डलाई ठुलो आकारमा सञ्चालन गरेर ठुलै परियोजनामा लगानी गर्न सकिँदैन ?

नेपालमा कुनै पनि ठुला परियोजनाहरू समयमा सम्पन्न भएका छैनन् । तर बन्धमुखी म्युचुअल फन्डलाई हामीले समयमै लिक्वीटेशनमा लानुपर्ने हुन्छ । ७ वर्षका लागि भनेर पैसा उठाएपछि सातै वर्षमा बन्द गर्नुपर्छ । तर ५ वर्षमा सक्ने भनेर सुरु गरेको परियोजना बन्न १०–१२ वर्ष लाग्यो भने त हामीले कसरी पैसा तिर्ने ? त्यो गाह्रो हुन्छ । त्यसको लागि खुलामुनि योजनाहरूबाट लगानी गर्न सकिन्छ । त्यसो हुन पनि सुरुमा सेबोनले कार्यविधि बनाउनुपर्‍यो । 

म्युचुअल फन्डले सेयरभन्दा बाहेकमा लगानीको सम्भावना खोज्न किन नसकेका हुन् ?

म्युचुअल फन्ड भनेकै वास्तवमा साना–साना लगानीकर्ताको हितका लागि बनाएको टुल्स हो । यसमा अहिले हामीले अरू सम्भावना खोज्न जानुभन्दा पनि सेकेन्डरी मार्केटमा भइरहेको सेयरमा खेलेर लगानीकर्ताको आत्मबल बढाउनु पर्छ । यसका लागि पहिले सर्वसाधारण नै कन्फिडेन्स हुनुपर्छ । त्यसपछि बजार त स्वाभाविक रूपमा नयाँ नयाँ टुल्समा गइहाल्छ । यो बिस्तारै हुने कुरा हो ।   

दोस्रो बजार घटिरहेको अवस्थामा फन्ड ल्याउनु कत्तिको चुनौतीपूर्ण छ ?

म्युचुअल फन्ड ल्याउने उत्तम समय नै यही हो । बढिरहेको बजारमा ल्याएर लगानी गर्दा भोलि बजार घटेपछि सर्वसाधारण लगानीकर्ता आत्तिन्छन् । अहिले घटेको मार्केटमा ल्याएर लगानी गर्न पाइयो भने भोलि बढेको बेलामा त तुरुन्तै राम्रो प्रतिफल पाउँछन् । त्यसरी सोच्नु पर्छ । 

बजार विश्लेषकहरूले शेयर बजार अझै घट्छ भनिरहेका छन् । तपाईँको बुझाइ के हो ?

हाम्रो विश्लेषणमा बजार तल जानुपर्ने केही कारण छैन । हुन त हिजो बढेर त्यहाँ पुग्नुपर्ने कारण पनि थिएन, आज घटेर विश्लेषकले भनेकै आधारमा तल जानुपर्छ भन्ने कारण पनि केही छैन । बैङ्क तथा वित्तीय संस्थाहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यति बेला त बजार माथि नै आउनुपर्ने हो, आएको छैन । त्यो केवल लगानीको मनोबल बलियो नभएकाले हो ।

सानिमा ग्रोथ फन्डमा किन लगानी गर्ने ? 

यसभन्दा अघि पनि हामीले घट्दो बजारमै एकाइ बेचेका थियौँ । तर, बजार जहाँ पुगे पनि हामीले लगानीकर्तालाई उनीहरूको आशा बमोजिम नै प्रतिफल दिन सफल भएका छौँ । सानिमा ग्रोथ फन्ड पनि त्यही कन्सेप्टमा ल्याउन लागिएको हो । जसरी हामीलाई इक्विटीफण्डमा विश्वास गरेर लगानी हाल्नुभयो त्यसरी नै प्रतिफल दिएका छौँ । यसमा हामीले चार वर्षमा ७० प्रतिशत प्रतिफल दिइसक्यौँ । अझै त्यसको तीन वर्ष बाँकी छ । यो स्किमले पनि त्यसरी नै उच्च प्रतिफल दिन सक्छ । ढुक्क भएर लगानी गर्दा राम्रो हुन्छ । 

११ वर्षको प्रतिफलको प्रक्षेपण के हो ?

यो ११ वर्षे योजना हो । घट्दो बजारको अनिश्चयका कारण हामीले १ वर्ष ग्रेस पिरियड राखेका छौँ । गत वर्षको अनुभवका आधारमा एक वर्ष ग्रेस राखेर यो योजना ११ वर्षको बनाइएको हो । हामीले सानिमा ग्रोथ फन्ड १० वर्षपछि परिपक्व हुँदा प्रत्येक वर्ष ७० प्रतिशत प्रतिफल दिने अपेक्षा राखेका छौँ । 

१२ करोड इकाई सबै चार दिनमै बिक्छ ? 

सामान्यतया चार दिनमा बिक्छ नै भन्ने हाम्रो अनुमान छ । तर, भर्खरै नेपालीहरूको महान् चार्ड सकिएको छ । चुनाव नजिकै छ । यो बिचमा पब्लिकले कसरी समय दिन्छन्, त्यसमै भर पर्छ । तोकिएकै समयमा बिकेन भने पनि समय थप गर्ने वा पर्खनुको विकल्प छैन । 

यसमा मार्केटको प्रारम्भिक प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

अहिलेसम्म हामीले नकारात्मक त्यस्तो केही पाएका छैनौँ । निरन्तर बजारमा गरिरहेका छौँ । तर पैसा नआउन्जेलसम्म कसले के भन्न सक्छ र ? तथापि, पहिले नै लगभग ५० प्रतिशत  हाराहारीको बुकिङ पाइसकेका छौँ ।

Tags :

प्रतिक्रिया दिनुहोस्