सेयर बजारका ५० लाखभन्दा धेरै लगानीकर्ताको व्यक्तिगत विवरणमा आईएमई समूहको ‘वाइको’ले व्यापार गर्दै छ ? « Arthapath.com
३० आश्विन २०८०, मंगलवार

सेयर बजारका ५० लाखभन्दा धेरै लगानीकर्ताको व्यक्तिगत विवरणमा आईएमई समूहको ‘वाइको’ले व्यापार गर्दै छ ?



काठमाडौं ।

घटना १.

२०७९ असार २० ब्रोकर नम्बर ५ बाट कारोबार गर्ने एक लगानीकर्ताले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १ हजार ९२ कित्ता सेयर बेच्न खोज्दा २ हजार २२ कित्ता विक्री भएको थियो ।

घटना २.

२०७७ फागुन १२ सेयर कारोबार सुरु भएको २ मिनेटमै नेप्से परिसूचक ८६ अङ्क घट्यो । त्यस दिने पूर्वाधार विकास बैंक (निफ्रा)को सेयर मूल्य एक घण्टाभित्रै १० प्रतिशत घट्यो । केही बेरमा निफ्राको सेयर मूल्य शून्य देखियो । अघिल्लो दिन ७२६ रुपैयाँमा बन्द भएको निफ्राको सेयर बेच्न लगानीकर्ताको चाप बढेपछि नेप्सेको ‘सिस्टम क्र्यास’ भयो र कारोबार नै स्थगित गर्नु पर्‍यो ।

+++

भिन्न समयका यी दुई घटना हाम्रो सेयर बजारका प्रतिनिधि उदाहरण हुन् । नेप्सेको प्रणाली नचल्ने, कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा अनेकौँ समस्या आउने त पुरानै कुरा हो । कहिले सेयर किन्न मात्रै मिल्ने, बेच्न नमिल्ने समस्या हुन्छ । कहिले बेच्न मिल्छ, किन्न मिल्दैन । जुन दिनसम्म सेयर बजारले उकालो रफ्तार थियो, यस्ता समस्या दिनहुँ प्राय: देखिन्थे ।

जसलाई लिएर प्रविधि र दक्षताको अभाव मात्रै होइन, नियतमा पनि प्रश्न उठ्न थालेपछि नेपाल धितोपत्र बोर्डले २०७९ वैशाखमा धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गर्‍यो । त्यसमा कारोबारको म्याचिङ मेसिन स्वयम् स्टक एक्सचेन्जले सञ्चालन गर्नुपर्ने, व्यापार व्यवस्थापन प्रणाली अन्य कम्पनीले चलाउनु पर्ने भनिएको छ ।

यी दुवै काम कुनै एक व्यक्ति वा समूहका कम्पनीबाट गरिन नहुने कानुनी व्यवस्था गरिएको छ । तर नेप्सेले उक्त विनियमावली संशोधन भएको डेढ वर्षसम्म पनि यस्तो व्यवस्थाको कार्यान्वयन गरेको छैन ।

‘वाइको सोलुसन’ नामक कम्पनीले गोप्य सूचनाहरू चुहाउन र केही निकटवर्ति ठुला लगानीकर्तालाई गोप्य रूपमा ‘सर्ट सेलिङ’ (आफ्नो खातामै नभएको सेयर पनि बेच्न पाउने) सुविधा दिँदै आएको भनेर आलोचना हुने गरेको छ ।

कानुनी रूपमा हरेक लगानीकर्ताको विवरणहरू सुरक्षित रहने र खातामा नभएको सेयर बेच्न नपाइने स्पष्ट । तर नेपालको कार्यशैलीले पूर्णत: यी कानुनहरूको कार्यान्वयन भएको छ की छैन भनेर निर्क्योल गर्न कठिन भएको नेप्सेका अधिकारीहरू नै बताउँछन् । वाइकोले नेप्सेको स्वचालित कारोबार प्रणाली बनाएको थियो ।

त्यसपछि चन्द्र ढकाल नेतृत्वको आईएमई समूहले उक्त कम्पनी खरिद गर्‍यो । ढकाल धितोपत्र बोर्डको सदस्य नै रहेर काम गरेका थिए । ढकालको आईएमई ग्रुप र अशोक अग्रवालहरूको विशाल ग्रुप (एनआईसी एसिया बैङ्कको मालिक) मिलेर खोलेको एउटा लगानी कम्पनी ‘इमर्जिङ नेपाल’लाई प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्न ठुलै दबाब आएको धितोपत्र बोर्डका अधिकारीहरू बताउँछन् ।

नेपाल पूर्वाधार विकास बैंक खोल्न थोरै काम गरेको यो कम्पनीसँग अहिले पनि केही कम्पनीमा भएको सेयर लगानी बाहेक कुनै पनि सम्पत्ति छैन । दुई वटा टेबल र केही कुर्सी राखेर सञ्चालन गरिएको यो कम्पनीले नागरिकलाई साढे ५ करोडभन्दा धेरैको सेयर बेचेको छ ।

सेबोनकै अधिकारीहरूका अनुसार अहिले पनि ‘आईपीओको अनुमति दिनै नमिल्ने’ उक्त कम्पनीको सेयर मूल्य ११०० रुपैयाँ नजिक पुर्‍याइएको थियो । यस्तै स्वार्थपूर्ण काम गर्नका लागि ‘वाइको’लाई पनि प्रयोग गरेको हुनसक्ने भनेर सेबोनले म्याचिङ इन्जिन र कारोबार प्रणालीलाई अलग्गै सञ्चालन र व्यवस्थापन गर्नुपर्ने भनेको थियो ।

तर, नेप्सेको सेटलमेण्ट बैङ्कको रूपमा ग्लोबल आईएमईलाई नै अघि बढाएको ढकाल समूहले वाइको किने पछि त्यसो हुन सकेको छैन । अहिले वाइकोसँग ५० लाखभन्दा धेरै (मेरो सेयरमा खाता खोलिएको अनुसार) सेयर लगानीकर्ताको सम्पूर्ण कारोबार विवरण ‘रियल टाइम’मा उपलब्ध हुन्छ ।

को व्यक्ति वा कम्पनीले, कुन बेलामा, कुन ब्रोकरबाट, कुन कम्पनीको, कति कित्ता सेयर, कुन मूल्यमा किनिरहेको छ भनेर उनीहरूले पुरै विवरण हेर्न सक्छन् । यसो हुँदा वाइकोका मालिकहरू र उच्चपदस्थ कर्मचारीले सेयर कारोबारको प्रवृत्ति हेरेर बिचैमा आफूले कारोबार गरिदिन सक्छन् । अनलाइन कारोबार प्रणाली लागू नहुँदा कुनै सेयरको भाउ घट्दा वा बढ्दा ब्रोकर (दलाल)हरुले आफ्नै सेयर किनबेच गरिदिने र लगानीकर्ताले भनेको मूल्य नपाउने अवस्था थियो । अहिले यस्तो अधिकार ब्रोकरभन्दा धेरै नै बढी वाइकोको हातमा पुगेको छ ।

नेप्सेको स्वचालित कारोबार प्रणाली बनाउने कम्पनी वाइको सोलुसनले नै अहिले म्याचिङ इन्जिन र टीएमएस सञ्चालन गर्छ । नेप्सेमा पर्याप्त दक्षता भएका कर्मचारी नहुँदा वाइकोले नै नेप्सेको म्याचिङ इन्जिनको सञ्चालन गरिरहेको छ । कहिले ह्याङ हुने, कहिले चल्दै नचल्ने त कहिले किन्न वा बेच्न मात्रै मिल्ने वा कहिले बजार घट्न थालेपछि सिस्टम नै नचल्ने जस्ता समस्याहरू प्रणालीको कमजोरीका साथै नियतवश पनि हुन सक्ने आशङ्का धेरैको छ ।

धितोपत्र बोर्डले पनि यसलाई शङ्कास्पद देखेरै म्याचिङ इन्जिन र कारोबार प्रणाली सञ्चालन गर्ने कम्पनीहरू भिन्न स्वामित्वको हुनुपर्ने भनेको छ । उसले त ब्रोकरहरूलाई एकल वा सामूहिक रूपमा आफ्नै टीएमएस प्रणाली तयार पारेर काम गर्न पनि सुविधा दिएको छ ।

तर वाइकाले नेप्सेको स्वचालित कारोबार प्रणालीमा यस्ता ‘बाहिरिया’ टीएमएस प्रणालीलाई जोड्दै नजोड्दिने र अनेक लफडा गर्ने गरिरहेको ब्रोकरहरू बताउँछन् । कहिले काहीँ त कतिपय ब्रोकरको लिङ्क नै हट्ने र सीमित ब्रोकरले मात्रै कारोबार गर्न पाउने अवस्था पनि सिर्जना भएको छ । यस्ता कारणले ब्रोकरहरू पनि आफ्नै टीएमएस लागू गर्न सकिरहेका छैनन् ।

नेप्सेको भेण्डरको रूपमा पुरै सेयर बजारको कारोबार प्रणाली सञ्चालन गरिरहेको ठुलो व्यापारिक समूहसँग जोरी खोज्दा कोही पनि ब्रोकर तयार देखिँदैन ।


प्रतिक्रिया दिनुहोस्