नागरिक एप प्रयोग गर्न सबैलाई निःशुल्क मोबाइल डेटा « Arthapath.com
११ माघ २०७७, आईतवार

नागरिक एप प्रयोग गर्न सबैलाई निःशुल्क मोबाइल डेटा



काठमाडौं । सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एपका लागि आवश्यक डेटा निःशुल्क रुपमा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाएको हो । यसका लागि नेपाल टेलिकमलाई सर्भरको डिटेल समेत उपलब्ध गराइसकिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

साथै एनसेलको सिस्टम समेत नागरिक एपमा यस अघि नै आवद्ध भइसकेकाले डेटा निःशुल्क गराउन प्राविधिक रुपमा खासै समस्या नरहेको बताइएको छ । नागरिक एप चलाउँदा मोबाइल डेटाको शुल्क नलाग्ने व्यवस्था गर्न सेवाप्रदायकसँग छलफल समेत अगाडि बढिसकेको छ ।

यो सुविधा सुरु भएको खण्डमा नागरिक एपमा उपलब्ध सेवा प्रयोग गर्न आवश्यक मोबाइल डेटा निःशुल्क रुपमा प्राप्त हुनेछ । यद्यपी एप डाउनलोड गर्न गुगल तथा एप्पलको सिस्टममा जानुपर्ने भएकाले त्यसमा भने शुल्क लाग्नेछ ।

नेपाल टेलिकमले यसका लागि आवश्यक गृहकार्य सुरु गरिसकेको छ । प्राविधिक रुपमा आवश्यक तयारी पुरा गरेर अर्को सातासम्म टेलिकमले नागरिक एपका लागि निःशुल्क डेटा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

एनसेलले भने एपका लागि निश्चित महिनासम्म मात्र डेटा फ्री उपलब्ध गराउन सकिने प्रतिक्रिया दिएको छ । जसका कारण एनसेलसँगको छलफल अझै निश्कर्षमा पुगिनसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

तेस्रो ठूलो मोबाइल सेवाप्रदायक स्मार्ट सेलसँग भने यस विषयमा कुरा नै अगाडि नबढाइएको बताइएको छ । नागरिक एपमा समेत आवद्ध हुन नसकेको स्मार्ट टेलिकमलाई प्रयोगकर्ताको संख्या समेत थोरै भएकाले प्राथमिकतामा नराखिएको हो ।

नागरिक एपमा सबै नागरिकको सहज पहुँच स्थापित गर्ने उद्देश्यका साथ यस्तो प्रयास अगाडि बढाइएको हो । त्यसो त नेपाल टेलिकमले डट जीओभी डट एनपी जोडिएका सरकारी वेबसाइटहरु प्रयोग गर्दा मोबाइलमा डेटा शुल्क लाग्दैन ।

तर हाल सरकारी एपका लागि भने कम्पनीले नियमित दररेटमै डेटा शुल्क लगाउँदै आएको छ । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा यही एपबाट उपलब्ध गराउने लक्ष्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस्