श्री एयरले थप्यो दुई जहाज, क्यानडामा बनेर अमेरिकामा चलेका विमान आइपुगे नेपाल « Arthapath.com
१३ चैत्र २०८०, मंगलवार

श्री एयरले थप्यो दुई जहाज, क्यानडामा बनेर अमेरिकामा चलेका विमान आइपुगे नेपाल



श्री एयरलाइन्सले ८० सीट क्षमताका दुई वटा जहाज थपेको छ । उसले क्यानडाको बम्बार्डियर कम्पनी (हालको डि हाभिल्याण्ड अफ क्यानडा)ले निर्माण गरेको ‘ड्यास ८’ जहाज नेपाल भित्र्याएको हो ।

यी जहाजहरु यसअघि अमेरिकामा चलिरहेका थिए । त्यहाँको होराइजन एयर र अलास्का एयरले सञ्चालन गरिरहेका दुई जाहज श्री एयरले किनेको हो । यी जहाजहरु ‘आरामदायी, सुरक्षित र कम ध्वनि उत्पन्न गर्ने’ खालका भएको कम्पनीले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

यी जहाजमा जडित इञ्जिन पनि त्यस्तै खालका अरु जहाजको तुलनामा दोब्बर शक्तिशाली भएको कम्पनीले जनाएको छ । यी जहाजमा ५४०० साफ्ट हर्षपावर क्षमताका इञ्जिन जडान भएको विज्ञप्तीमा उल्लेख छ । यी इञ्जिनहरु क्यानडाकै प्राट्ट एण्ड ह्विट्नी कम्पनीले निर्माण गरेका हुन् ।

उक्त जहाजहरु श्री एयरलाइन्सका पाइलटहरुले अमेरिकाको पोर्टल्याण्डबाट क्यानडा, आइसल्याण्ड, जर्मनी, इजिप्ट, दुबई र भारतहुँदै १० हजार माइलको दुरी पार गरेर त्रिभुवन विमानस्थलमा अवतरण गरिएको छ । तीन रात बाटोमा बिसाएर कुल २५ घण्टाको उडानपछि जहाज नेपाल ल्याइएको कम्पनीले जनाएको छ ।

मंगलबार त्रिभुवन विमानस्थलमा अवतरण गरिएका यी जहाजहरु तुरुन्तै उड्न थाल्ने भने होइनन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पुरा गरेर जहाज उडाउन थाल्ने कम्पनीले जनाएको छ । यो कम्पनीले सन् २०१७ बाटमात्रै प्लेन उडाउन थालेको थियो ।

त्यसबेला ५० सीट क्षमताका दुई वटा ‘सीआरजे २००’ र ७० सीट क्षमताका दुई वटा ‘आरजे ७००’ जेट विमानहरुबाट आन्तरिक हवाइ सेवा सुरु गरेको हो । त्यसपछि सन् २०१९ मा २ वटा र २०२२ मा अर्को २ वटा विमान थपेको थियो । ती चारवटै विमानहरु अहिले ल्याइएजस्तै क्यानडाको ‘क्यू४०० ड्यास ८’ विमान हुन् ।

अहिले पुनः सेही किसिमका २ विमान थपेपछि अब ऊसँग ‘ड्यास ८’ विमानको संख्या ६ वटा भएको छ । यी सबै विमान ८० सीट क्षमताका हुन् । ५० सीटे दुईटा र ७० सीटे दुईटा जेट विमान पनि सञ्चालनमै छन् ।

उद्योगपति स्व. बनवारीलाल मित्तलले २०५५ सालमा ‘एयर अनन्या’ नामक कम्पनी खोलेर हेलिकप्टर सेवा सञ्चालनमा ल्याएका थिए । मित्तलले ६३ वर्षको उमेरमा सुरु गरेको यो कम्पनीले पछि नाम परिवर्तन गरेर श्री एयरलाइन्स बनाएको थियो ।

उक्त कम्पनीसँग अहिले पनि २४ सीट क्षकताका ६ वटा डबल इञ्जिन र ५ सीट क्षमताका २ वटा सिंगल इञ्जिन हेलिकप्टर पनि सञ्चालनमा छन् । उसले अब जहाजको संख्या पनि १० पुर्याएको छ । नयाँ थपिएका जहाजहरुको कल साइन ‘९एन–एओएल’ र ‘९एन–एओके’ दिइएको छ ।

कम्पनीले तुम्लिङटार र भरतपुर विमानस्थलमा समेत गन्तव्य थप गर्न लागेको कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्