भारतमा ब्यूँतिँदै जेट एयरवेज, यो वर्षको अन्त्यदेखि अन्तरराष्ट्रिय उडान भर्ने योजना « Arthapath.com
११ असार २०७८, शुक्रबार

भारतमा ब्यूँतिँदै जेट एयरवेज, यो वर्षको अन्त्यदेखि अन्तरराष्ट्रिय उडान भर्ने योजना



काठमाडौं । एक समय भारतको सबैभन्दा लोकप्रिय एयरलाइन्स मानिएको एयरवेजले पुनः उडान सुरु गर्ने भएको छ । भारतको ‘नेशनल कम्पनी कानून ट्राइब्युनल (एनसीएलटी)’ ले गत मंगलबार जेट एयरवेलाई पुनः सुरु गर्ने कलरक-जालान कन्सोर्टियमको योजनालाई अनुमोदन गरेको छ ।

ट्राइब्युनलको मुम्बई बेञ्चले नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) र नागरिक उड्डयन मन्त्रालयलाई जेट एयरवेजलाई जून २२ देखि ९० दिनका लागि ‘टाइम स्लट’ दिन आग्रह गरेको थियो । अब नागरिक उड्डयन नियामकले उडान भर्ने ‘टाइम स्लट’ दिने छन् । जेटले प्रारम्भिक चरणमा ३० वटाति विमानस्थलमा उडान भर्नेगरी अनुमति पाउने अपेक्षा गरिएको छ ।

करीब ६०० आन्तरिक र ३८० अन्तरराष्ट्रिय गन्तब्यमा उडान भर्दै आएको जेट एयरवेजले अर्बैं ऋणमा डुबेपछि दुई वर्षअघि सम्पूणर् उडान स्थगित गरेको थियो । जेटको जहाज यसअघि ४ वैशाख २०७६ को रात अन्तिम पटक उडेको थियो ।

छोटो समयको त्यो शान

सन् १९९२ मा गैरआवासीय भारतीय व्यवसायी नरेश गोयलले जेट एयरवेजको स्थापना गरेका थिए । सन् १९९५ देखि आन्तरिक उडानहरू शुरू गरेको यो कम्पनीले २००४ बाट अन्तरराष्ट्रिय उडान भर्न थालेको थियो । कम्पनीले यसरी प्रगति गर्यो की, एक समय एयर इण्डियाबाहेक भारतमा अन्तरराष्ट्रिय उडानभर्ने यो मात्र एक कम्पनी थियो ।

सन् २०१६ को फेब्रुअरीमा भारतका २१.२ प्रतिशत हवाइ यात्रीले जेटको जहाजमा सयर गर्थे । उसले हरेक दिन विश्वभरका ५५ भन्दा बढी गन्तव्यमा ३०० उडानहरू भर्दै आएको थियो । जेट एयरवेजको राम्रा दिनहरू लामो समयसम्म टिक्न सकेन । विस्तारै बैंकको ऋण बढ्दै जाने र व्यापार खस्कँदै जाने अवस्थाले कम्पनी टाटपल्टिने बाटोमा अघि बढ्दै गयो । अन्ततः मार्च २०१९ मा नरेश गोयल र उनकी श्रीमती अनीता गोयलले एयरलाइन्सको सञ्चालक समितिबाट राजीनामा गरे ।

अप्रिल २०१९ मा कम्पनीले सबै उडान बन्द गरेपछि त्यसको डेढमहिना पछि ऋणदाताहरुको एउटा समूहले कम्पनी दामासाहीको प्रक्रिया शुरू गराए । यहीबीच २०२० अक्टोबरमा जेट एयरवेजको ऋणदाताहरुले नयाँ लगानीकर्ता भित्र्याउने प्रक्रीया स्वरुप कम्पनी लिलामीमा राखेका थिए । यही बेला कालरक क्यापिटल एलायन्स र मुरारीलाल जालानले जेट एयरवेज किनेका थिए ।

कालरक-जालान कन्सोर्टियम के हो ?

जेट एयरवेजका नयाँ साहू कालरक क्यापिटल र मुरारीलाल जालानको साझेदारीलाई ‘कालरक जालान कन्सोर्टियम’ भनिएको हो । कालरक क्यापिटल एक लन्डनमा आधारित भएर विश्वब्यापी वित्तीय परामर्श प्रदान गर्ने फर्म हो । उसले करीब २० बर्षदेखि घर जग्गाबाहेकका कम्पनीहरूमा प्रमुख वा सहलगानीकर्ताको रूपमा अलग अलग शेयर स्वामित्व किन्दै पनि आएको छ । अर्का साझेदार जालान भने दुबईका व्यापारी हुन् ।

घर जग्गा व्यवसायि जालानको युएई, रुस, उज्बेकिस्तान र भारतमा व्यवसाय छ । यद्यपि, जालानले जेट एयरवेजको सञ्चालक समितिमा कस्तो भूमिका पाउँछन् भन्ने अझै स्पष्ट छैन । धेरैले जालानलाई सामान्य साझदारका रुपमा कालरकले भित्र्याएको बताएका छन् । कालरकले जेट एयरवेजको बहानामा भारतको उड्डयन बजारमा प्रवेश गर्ने लक्ष्य राखेको र यसमा जालानलाई जोडिएको खबर छापिएका छन् ।

अहिले पनि भारत घरेलु उड्डयनको लागि विश्वकै तेस्रो ठूलो बजार हो । भारतमात्र होइन, उसका अधिकांश गन्तव्यमा समेत राम्रो छाप र उत्कृष्ट पुर्वाधार जेट एयरवेजसँग छ । यस्तो कम्पनीमा प्रवेश गर्न सके कालरकले भारतीय उड्डयन बजारमा उपस्थिति अझै बढाउन सक्ने छ ।

जेट एयरवेजले आफ्नो उडान बन्द गर्दाको बखत १२ वटा विमानहरू उडिरहेका थिए भने ८५०० भन्दा बढी कर्मचारीहरू कार्यरत नै थिए । जबकी, केहीअघिसम्म कम्पनीमा २३ हजार कर्मचारी रहेको भनिएको छ । तथापि, उसँग कति विमानहरू र कति कर्मचारीहरू छन् भन्ने बारे सही जानकारी कतै पनि उपलब्ध छैन ।

कम्पनीका नयाँ प्रबद्र्धकहरू ‘जेट एयरवेज’ ब्राण्डलाई जस्ताकोत्यस्तै प्रयोग गर्न चाहन्छन् । उनीहरले यो वर्षको अन्त्यसम्म २५ विमानको साथ फेरि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने योजना अघि सारेको छन् ।

ऋणबाट मुक्तिको मार्ग

दुई वर्षअघि कम्पनीले उडान स्थगित गर्दाको बखत भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इण्डिया सहित धेरै सरकारी कम्पनीहरूको करीब भारु ८० अर्ब ऋण बाँकी थियो । अहिले कम्पनीका मालिकहरू परिवर्तन भए पनि कम्पनी अझै कर्जामै डुबेको छ । समाचारहरुमा जनाइए अनुसार नयाँ साझेदारहरुले गत अक्टोबरमा प्रस्तुत गरेको योजनाले कम्पनीलाई ऋणमुक्त पार्ने प्रस्ताव गरेको थियो ।

यसअन्तर्गत यसले पहिलो दुई वर्षमा प्रबद्र्धकहरुले भारु ६ अर्ब ऋण तिर्ने उल्लेख छ । यति पैसा तिरेर कम्पनीको ८९ प्रतिशत हिस्सेदारी उनीहरुले लिनेछन् । यस बाहेक, पहिलो वर्षमा घर जग्गा र लक्जरी कारहरू बेच्ने योजना छ । तेस्रो वर्षमा १ अर्ब ३१ करोड, चौथो वर्षमा १ अर्ब ९३ करोड र पाँचौं वर्षमा २ अर्ब ५९ करोड दिने योजना कन्सोर्टियमले अघि सारेको छ ।

यसका साथै, एयरलाइन्सबाट त्यसबीचमा हुने कमाइ पनि ऋण तिर्नमै लगाउने प्रस्ताव गरिएको छ । यसरी पूरा ५ बर्षमा भारु ११ अर्ब ८३ करोड कर्जा चुक्ता गर्ने योजना अघि सारिएको छ । एयरलाइन्सलाई पुनः सञ्चालनमा ल्याउन कलरक क्यापिटलले भारु ९ देखि १० अर्ब दिने भनेको छ । यसका अतिरिक्त ऋणदाताहरुले जेट एयरवेजमा १० प्रतिशत शेयर स्वामित्व (इक्वीटि) पनि पाउने छन् ।

यसपछि पनि जेटको पुनरोदय चूनौतिरहित भने छैन । विगतमा जेटले निकै चल्तिका गन्तव्यमा रोजाइको समयमा विमान उडाउने अनुमति पाएको थियो । नयाँ प्रबद्र्धकहरुले पुरानै ‘टाइम स्लट’ पाउनुपर्ने माग गरे पनि भारतीय उड्डयन नियामकले अब त्यस्तो सम्भव नभएको बताइसकेको छ । ती ‘टाइम स्लट’हरु अन्य कम्पनीलाई दिइसकेको छ ।

अर्कातिर कोरोना महामारीका कारण चल्तिका कम्पनीहरुले पनि गत साल ठूलो घाटा व्यहोर्नु परेको छ । इण्डिगो एयरलाइन्सले सन् २०२० को पहिलो त्रैमासमा भारु २८ अर्ब ८४ करोड र दोस्रो त्रैमासमा ११ अर्ब ९४ करोड घाटा व्यहोरेको थियो । पछिल्लो समय भारतीय बजारमा हवाइ सेवाको प्रतिस्पर्धा पनि बढेको छ ।

अब एयर इण्डिया, इण्डिगो, गो एयरवेज, स्पाइसजेटबाहेक विस्ताराजस्ता कम्पनीसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । जेटलाई अब पुनः शून्यबाट सुरु गर्नुपर्ने भएकाले यस्ता थुप्रै चूनौतिको सामना गर्नुपर्ने छ । यद्यपि, भारतीय उड्डयन विज्ञहरु नयाँ प्रबद्र्धकको योजना निकै उत्कृष्ट रहेको र उनीहरुले त्यसरी नै बजारिकरण गर्दा प्रतिस्पर्धामा खरो उत्रन सक्ने संभावना देख्छन् ।

बीबीसी हिन्दीबाट ।


प्रतिक्रिया दिनुहोस्