सामाजिक दूरीको बेवास्ता गरेर चुम्बन गरेपछि बेलायती स्वास्थ्य मन्त्रीद्वारा राजिनामा « Arthapath.com
१३ असार २०७८, आईतवार

सामाजिक दूरीको बेवास्ता गरेर चुम्बन गरेपछि बेलायती स्वास्थ्य मन्त्रीद्वारा राजिनामा



काठमाडौं । नेपालमा राजीतिक कार्यक्रमहरुमा हुने सामाजिक दूरीको ‘अतिक्रमण’बारे सामाजिक सञ्जाल र आम सञ्चार माध्ययमा समेत चर्चा भइरहेका बेला बेलायतमा यस्तै मुद्दामा स्वास्थ्य मन्त्रीले राजिनामा दिएका छन् । सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन्।

उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनेका छन्, ‘जनताले यो महामारीमा गरेका ठूलो त्यागका लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने छ ।’ प्रधानमन्त्री बोरिस जोनसनले ह्यानककको राजीनामा पत्र पाएर आफू दुःखी भएको बताएका छन् । पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।

द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ । कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन् ।

ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्, ’म स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ।’ ’यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ।’

स्वास्थ्यमन्त्रीका रूपमा तीन वर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा नियम तोडेकोमा बारम्बार माफी मागेका छन्। त्यस्तो अवस्थाका लागि उनले आफ्नो परिवार र प्रियजनसँग समेत माफी मागेका छन्।


प्रतिक्रिया दिनुहोस्