शेयर बजारमा स्पेसएक्सको धमका, ओपनएआई र एन्थ्रोपिकका लागि बन्यो नयाँ बाटो « Arthapath.com
१ असार २०८३, सोमबार

शेयर बजारमा स्पेसएक्सको धमका, ओपनएआई र एन्थ्रोपिकका लागि बन्यो नयाँ बाटो



अमेरिकी शेयर बजारको इतिहासमै सबैभन्दा ठूलो मानिएको स्पेसएक्सको प्राथमिक शेयर (आईपीओ) निष्कासन बिनाकुनै प्राविधिक अवरोध सहज रूपमा सम्पन्न भएपछि वाल स्ट्रिटले राहतको सास फेरेको छ।

काठमाडौँ । स्पेसएक्सको ऐतिहासिक शेयर निष्कासनसँगै अमेरिकी शेयर बजार (वाल स्ट्रिट) ले राहतको सास फेरेको छ। नास्डाक बजारमा कम्पनीको शेयर कारोबार निकै सहज रूपमा सुरु भएको हो। यसले यसै वर्षको उत्तरार्धमा आउन लागेका ओपनएआई र एन्थ्रोपिक जस्ता प्रविधि क्षेत्रका दिग्गज कम्पनीका ठूला आईपीओका लागि एउटा नयाँ र बलियो मार्गचित्र तयार गरिदिएको छ।

गत शुक्रबार बजारमा आएको स्पेसएक्सको यो ऐतिहासिक सुरुवातले अमेरिकाका पुराना सबै रेकर्डहरू भङ्ग गरिदिएको छ।

यसअघि अमेरिकी बजारमा आएको सबैभन्दा ठूलो वित्तीय निष्कासनभन्दा यो आईपीओ झन्डै तीन गुणा ठूलो हो। यो आईपीओको आकार यति विशाल थियो कि, बजारका सहभागीहरू सुरुमा निकै चिन्तित थिए। उनीहरूलाई सन् २०१२ मा फेसबुकको शेयर बजार प्रवेशका क्रममा भएको भद्रगोल र खराब खराब हालतको स्मरण भइरहेको थियो।

तर, यस पटक त्यस्तो भएन। यो आईपीओ व्यवस्थापन गर्ने बैंकहरू, स्टक एक्सचेन्ज, मार्केट मेकर्स, क्लियरिङ हाउस र बजारका अन्य पूर्वाधार कम्पनीहरूका ट्रेडिङ प्रणालीहरू करोडौँ ग्राहकका अर्डरहरू व्यवस्थापन गर्न पूर्ण रूपमा सफल भए।

क्यानेडेली लगानीकर्ता कम्पनी ‘स्ट्याक क्यापिटल ग्रुप’ का प्रमुख कार्यकारी अधिकृत जेफ पार्क्सले फेसबुकको पुराना दिनहरू सम्झिँदै धेरै मानिसहरूमा स्पेसएक्स पनि कतै त्यस्तै असफल हुने त होइन भन्ने डर रहेको बताए।

तर अमेरिकी बैंकहरू र स्पेसएक्सको टोलीले बजार प्रवर्द्धनका क्रममा उत्कृष्ट काम गरेको र सबै प्रक्रिया निकै सहज रूपमा सम्पन्न भएको उनले उल्लेख गरे। स्ट्याक क्यापिटलले सन् २०२१ देखि नै स्पेसएक्समा लगानी गर्न थालेको हो र अहिले यसको कुल लगानीको झन्डै एक तिहाइ हिस्सा स्पेसएक्समा मात्रै छ।

फेसबुकको त्यो पाठ

सन् २०१२ मा फेसबुकको आईपीओ आउँदा ठूलो प्राविधिक गडबडी भएको थियो। जसका कारण वाल स्ट्रिटको इतिहासमै त्यो घटना एउटा कुख्यात व्यापारिक असफलताका रूपमा दर्ज हुन पुग्यो। त्यस बेला लगानीकर्ता र ब्रोकरहरू घण्टौँसम्म अन्योलमा परेका थिए भने बजार सञ्चालकहरूले करोडौँ डलरको नोक्सानी ब्यहोर्नु परेको थियो।

अमेरिकाको सबैभन्दा ठूलो रिटेल मार्केट मेकर ‘सिटाडेल सेक्युरिटिज’ का अनुसार स्पेसएक्सको आगमनले आईपीओको इतिहासमै अहिलेसम्मकै सबैभन्दा बढी खुद्रा लगानीकर्ताहरूको अर्डर आकर्षित गर्‍यो। सिटाडेलका प्रवक्ताले स्पेसएक्सका लागि आएका अधिकांश खुद्रा अर्डरहरू आफ्नो कम्पनीले सफलतापूर्वक व्यवस्थापन गरेको जानकारी दिए।

यस चमकधमकपूर्ण बजार प्रवेशका लागि ‘स्टेबिलाइजेसन एजेन्ट’ (बजार सन्तुलनकर्ता) को रूपमा मोर्गन स्ट्यान्ली बैंकले मुख्य भूमिका निर्वाह गरेको थियो। लगानीकर्ताहरूको अभूतपूर्व मागलाई सम्बोधन गर्दै बजारमा शेयरको सहज उपलब्धता सुनिश्चित गर्ने जिम्मेवारी यस बैंकको थियो। सामान्यतया बजार सन्तुलनकर्ताले शेयरको मूल्य पहिलो दिनमै तीव्र रूपमा ओरालो नलागोस् भन्नका लागि खुला बजारबाट आफैँ शेयर खरिद गरेर मूल्यलाई थामिराख्ने काम गर्छन्।

स्पेसएक्सलाई सल्लाह दिने मुख्य वित्तीय व्यवस्थापकहरूमध्येका एकले यो आईपीओ बैंक र एक्सचेन्जहरूका लागि एउटा ऐतिहासिक र संवेदनशील अवसर भएको बताए। विषयको गोपनीयताका कारण उनले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन्।

अर्को प्रमुख ट्रेडिङ प्लेटफर्म ‘चार्ल्स श्वाब’ का प्रवक्ताका अनुसार कारोबार सुरु भएको पहिलो केही घण्टामै स्पेसएक्सका लागि १० लाखभन्दा बढी अर्डरहरू प्राप्त भएका थिए, जुन विगतका आईपीओहरूको तुलनामा निकै ठूलो संख्या हो।

रोयटर्स समाचार संस्थाले बिहीबार नै प्रकाशन गरेको प्रतिवेदन अनुसार वाल स्ट्रिटका व्यापारी, ब्रोकर र एक्सचेन्जहरूले यो ठूलो आईपीओ आउनु अगाडि नै धेरै हप्तासम्म आफ्नो ट्रेडिङ प्रणालीको कडा परीक्षण गरेका थिए।

‘होरिजोन इन्भेस्टमेन्ट्स’ का अनुसन्धान तथा रणनीति प्रमुख माइक डिक्सनले स्पेसएक्सको शेयर मूल्य एकदमै ठूलो उछालका साथ नभई बिस्तारै माथि गइरहेको बताए। धेरै मानिसहरूले सोचेभन्दा बजार अलि शान्त र सुस्त रूपमा खुलेकाले यस्तो भएको उनको भनाइ छ। माग अत्यधिक हुँदा पनि बजारमा धेरै उतारचढाव नदेखिनु अलि अचम्मको कुरा भएको उनले थपे।

सहज सुरुवात

विगतमा ठूला कम्पनीका आईपीओहरू आउँदा एक्सचेन्जहरूलाई प्रारम्भिक मूल्य निर्धारण गर्नका लागि खरिद र बिक्रीको ठूलो चाप मिलाउनुपर्ने हुँदा कारोबार सुरु हुन अक्सर ढिलाइ हुने गर्थ्यो। तर स्पेसएक्सको शेयर कारोबार गत शुक्रबार मध्यान्ह हुनुभन्दा केही समय अघि नै सुरु भयो। हालै बजारमा आएका ‘सेरेब्रास सिस्टम्स’ र ‘क्वान्टिनम’ जस्ता कम्पनीहरूको तुलनामा स्पेसएक्सको कारोबार निकै चाँडो सुरु भएको हो। ती कम्पनीहरूको कारोबार भने ढिलो दिउँसो मात्र सुरु भएको थियो।

शुक्रबारको प्रारम्भिक कारोबारका क्रममा ‘रबिनहुड’ प्लेटफर्ममा केही साना समस्याहरू देखिए पनि वाल स्ट्रिटले सन् २०१२ मा फेसबुकको समयमा जस्तो ठूलो प्राविधिक त्रुटि भोग्नु परेन। यसले नास्डाक, बजार सञ्चालक र लगानीकर्ता सबैलाई ठूलो राहत मिलेको छ।

नास्डाककी मुख्य कार्यकारी अधिकृत एडेना फरिडम्यानले सीएनबीसीसँगको अन्तर्वार्तामा आफूहरूले बैंकिङ साझेदारहरूसँग मिलेर लामो तयारी गरेको बताइन्। उनले तयारीका क्रममा सबै सरोकारवाला कम्पनीहरूसँग निरन्तर संवाद गरिएकाले नै यो प्रक्रिया पूर्ण रूपमा सफल र त्रुटिरहित भएको दाबी गरिन्।


प्रतिक्रिया दिनुहोस्