अर्को वर्षसम्म महँगि दोब्बरभन्दा बढी बढ्नसक्ने राष्ट्र बैंकको प्रतिवेदन, के हो मुद्रास्फीति ? « Arthapath.com
३ श्रावण २०७८, आईतवार

अर्को वर्षसम्म महँगि दोब्बरभन्दा बढी बढ्नसक्ने राष्ट्र बैंकको प्रतिवेदन, के हो मुद्रास्फीति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक ‘मुद्रा स्फीति अपेक्षा सर्वेक्षण’ गरेको छ । उपभोक्ताहरुले आउँदा दिनमा बजारभाउ के कति महँगिन्छ होला, भनेर अनुमान गर्ने सर्वेक्षणलाई ‘अपेक्षा सर्वेक्षण’ भन्ने गरिन्छ । यस्तो सर्वेक्षण गर्ने अभ्यास अन्य मुलुकमा पहिलेदेखि नै भए पनि नेपालमा भर्खरै सुरु भएको हो ।

गत आर्थिक वर्षबाट राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका तत्कालिन कार्यकारी निर्देशक डा. गुणाकर भट्टले यस्तो सर्वेक्षण सुरु गरेका हुन् । अब उक्त सर्वेक्षणलाई त्रैमासिक रुपमा गर्ने राष्ट्र बैंकले जनाएको छ । पहिलो सर्वेक्षणले भने मानिसहरु मूल्यबृद्धि निकै तीव्र दरमा बढ्छ भन्ने सोचिरहेको देखाउँछ ।

मुद्रा स्फीति भनेको पैसामा मूल्य (महत्व) घट्नु हो । मानिसहरुले आवस्यक वस्तु वा सेवाका लागि पहिलेभन्दा बढी पैसा तिर्न तयार भए भने त्यसलाई मुद्रास्फीति भनिन्छ । उदाहरणका लागि अस्पतालमा छातिको एक्सरे गरेको शुल्क होस् वा विजुलीको महशुल, पेट्रोलको भाउ वा चाउचाउको मूल्य ।

गाडी भाडा होस् वा मसाज गरेको शुल्क वा विद्यालयमा बच्चा पढाएको पैसा । यी सबै वस्तु वा सेवा किन्दा पहिलेभन्दा बढी पैसा तिर्न उपभोक्ता राजि हुने अवस्था कत्तिको छ भनेर यस्तो ‘अपेक्षा सर्वेक्षण’ मापन गर्छ । मान्छेहरु बढी पैसा तिर्न तयार हुनुको अर्थ बजारभाउ पनि त्यसरी नै बढ्छ भन्ने हो । हामीसँग पैसा बढी छ भने सामान्य कुराका लागि पनि केही महँगि मूल्य तिर्छौं ।

राष्ट्र बैंकले यसरी पैसाको महत्व कम भएको कुरालाई मुद्रास्फीतिमा मापन गर्छ । मुद्रा स्फीति हुनुका कारण भने अनेक हुन सक्छन् । खासगरी हामीले खोजेको वस्तु वा सेवा बजारमा पर्याप्त उपलब्ध छैन भने त्यस्तो बेला महँगि बढ्छ । गतसाल कोरोना भाइरस महामारीको त्रास बढ्न थालेपछि १२ देखि १५ सय रुपैयाँ पर्ने अक्सिमिटर भनिने एउटा उपकरण (जसले शरीरमा अक्सिजनको मात्रा जाँच गर्छ)को भाउ एकै पटक ७ हजारभन्दा महँगो बनाइदिएको थियो ।

कोरोना महामारीका बेला ५ रुपैयाँमा पाइने मास्कको भाउ ५० रुपैयाँसम्म पुगेको समाचारहरु आएका थिए । पोहोरसम्म १४० रुपैयाँ हाराहारीमा पाइने १ लिटर खाने तेलको भाउ अहिले दोब्बर पुगिसकेको छ । यसरी भाउ बढ्नुको पछाडि मान्छेहरुले जति महँगो परे पनि पैसा तिरेर किनेकाले हो । यी घटनामा उपभोक्ताका लागि १ लिटर तेलभन्दा २५० रुपैयाँ पैसाको महत्व कम पर्न गएको देखिन्छ । यसैलाई ‘मुद्रास्फीति’ भनिन्छ ।

राष्ट्र बैंकको पछिल्लो अध्ययनले आगामी एक वर्षमा मुद्रास्फीति १० प्रतिशत बढ्ने कुरामा उपभोक्ताहरु अहिले नै तयार रहेको देखाएको छ । राष्ट्र बैंकको तथ्यांकले वितेको एक वर्षमा मुद्रा स्फीति ४.१९ प्रतिशतमात्रै बढेको देखाएको छ । यो दर १० प्रतिशत पुग्ने हो भने हामीहरुको जीवनयापन खर्च निकै महँगो पर्ने छ ।

उच्च मुद्रास्फीतिले मानिसहरुलाई गरिबीको चपेटामा धकेल्नेमात्र होइन, राज्यलाई नै टाट पल्टिने अवस्थामा पुर्याइदिन पनि सक्छ । ल्याटिनअमेरिकी मुलुक भेनेजुयला र उत्तर कोरिया अहिले यसको खराब अनुभव लिइरहेका छन् । तर राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदनकै आधारमा मूल्यबृद्धि नहुन पनि सक्छ ।

किन भने, राष्ट्र बैंकले देशभरका करीब ३ करोड मानिसमध्ये जम्मा ४८२ जनासँग अन्तरवार्ता गरेर यो प्रतिवेदन बनाएको छ । सातै प्रदेशबाट तथ्यांक लिएको भने पनि त्यहाँका प्रमुख शहरहरुमा मात्र कुराकानी गरिएको छ । विराटनगर, वीरगञ्ज, काठमाडौं, पोखरा, नेपालगंज, वीरेन्द्रनगर र धनगढीका केही मानिससँग अन्तरवार्ता गरेकाले यस प्रतिवेदनको विस्वसनीयता तुलनात्मक रुपले कमजोर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्