अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । अपि पावरले कम्पनीको लाभांश सुरक्षित गर्ने आज (फागुन ३ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले बिहीबार फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, बुधबार फागुन ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सभामा कम्पनीले ७।५० प्रतिशत बोनस सेयर र कर तिर्न ०।३९५ नगद गरी कुल ७।८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन १४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको गत माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा बानेश्वर ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
साथै, सभाले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४० प्रतिशत का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।













