निजी क्षेत्रकै सबैभन्दा ठूलो ‘सोलुखोला दुधकोशी’ जलविद्युत आयोजना संचालनमा, व्यावसायिक उत्पादन सुरु
काठमाडौं । साहस ऊर्जा लिमिटेडको ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा नै सञ्चालनमा आएको छ । गत फागुन १७ गतेबाट आयोजनाले व्यवसायीक रुपमा विद्युत उत्पादन गर्न सुरु गरेको हो ।
आयोजनाबाट गत माघ २७ गतेदेखि परिक्षण उत्पादन भएको थियो । परिक्षण सफल भएपछि आयोजनाबाट व्यवसायीक रुपमा नै विद्युत उत्पादन शुरु भएको हो ।
सोही अवसरमा प्रवद्र्धक कम्पनी साहस ऊर्जा लिमिटेडले मंगलबार काठमाडौंमा बिशेष समारोह गर्दै आयोजनाको उद्घाटन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको उद्घाटन गरेका हुन् । यो आयोजना निजी क्षेत्रबाट सञ्चालनमा आएको हालसम्मकै सबैभन्दा ठुलो आयोजना हो । साथै, सञ्चालनमा रहेका जलविद्युत आयोजनामा भने यो तेस्रो ठुलो आयोजना हो । २०७४ माघदेखि आयोजनाको निर्माण शुरु भएको थियो ।
आयोजनाको निर्माण भने २०७८ चैतमै सम्पन्न गर्ने भनिएको थियो । तर, कोरोनाका कारण आयोजनाको निर्माणमा एक बर्ष ढिलाई भएको हो । यो आयोजना बनाउन झण्डै १२ अर्ब रुपैयाँ लगानी भएको छ । यस आयोजनामा तत्कालित नेपाल इन्भेष्टमेन्ट बैंक (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) को अगुवाईमा १० बैंक तथा वित्तिय संस्थाले ८ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । अन्य रकम भने कम्पनीले स्वपूँजीको रुपमा लगानी गरेको छ । कम्पनीको चुक्तापुँजी साढे ३ अर्ब रुपैयाँ रहेको छ। प्रधानमन्त्री दाहालले सोलुखोला दुधकोशी जलविद्युत आयोजना सञ्चालनमा आउँदा निजी क्षेत्रलाई थप प्रोत्साहन मिलेको विश्वास व्यक्त गरे । साथै, उनले अब विद्युत उत्पादनमा मात्रै नभएर विद्युत खपतमा जोड दिनुपर्ने बताए ।
यस्तै, उनले अब नेपाल ग्रिन हाइड्रोजन उत्पादनमा अग्रसर हुनुपर्ने बताए । पछिल्लो समय विश्वन ग्रिन हाइड्रोजन तर्फ अग्रसर भएको बताउँदै उनले यस्तो बताएका हुन् । उनले भने,-‘ अब डिजेल र पेट्रोलबाट होइन, हाइड्रोजनबाट चल्ने गाउ चढने तयारीमा छु।’ नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रस्तावमा प्रधानमन्त्री दाहालले अब हाइड्रोजन गाडी चढ्ने तयारी रहेको बताए ।
यसैगरि प्रधानमन्त्री प्रचण्डले जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई एकद्धार बनाउन सरकार सकरात्मक भएको समेत बताए । यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) अध्यक्ष सोलु खोला दुधकोशी जलविद्युत आयोजना सञ्चालनमा आउँदा समग्र निजी क्षेत्र उत्साहित भएको बताए । कम्पनीका अध्यक्ष हिम पाठकले पनि आयोजना सञ्चालनमा आउँदा स्वदेशी लगानीमै ठुला आयोजना बनाउन सकिन्छ भन्ने प्रमाणित भएको बताए । साथै, कम्पनीका प्रवन्ध निर्देशक शुसिल थापाले यो आयोजनाले कुल ग्राहस्थ उत्पादनमा ०.३ प्रतिशतसम्म योगदान दिने बताए ।













