२० वटा आयोजनाको थप ३५१ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
काठमाडौं । चालु आर्थिक वर्षमा २० वटा आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कले यस्तो देखाएको हो ।
ती आयोजनाबाट थप ३५१.२४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । योसँगै नेपालको प्रसारण प्रणालीमा विद्युतको कुल जडित क्षमता २ हजार ६१९.२४ मेगावाट पुगेको छ ।
प्राधिकरणले चालु आवमा कुल ८११ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने अनुमान गरेको छ । प्राधिकरणका अनुसार पछिल्लो समय राष्ट्रिय प्रणालीमा जोडिने आयोजनाहरुको संख्या बढ्दै गएको जनाएको छ ।
चालु आवमा पहिलो अर्थात साउनमा १ मेगावाटको सिमरा सोलार प्रोजेक्ट, भदौमा ५ मेगावटाको ग्रिड अनेक्टेड सोलार राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । यस्तै, गत असोज महिनामा तीन वटा आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् । सो महिनामा २७ मेगावाटको दोर्दीखोला, ८.६३ मेगावाटको चेपेखोला, र १२ मेगावाटको दोर्दी खोला–१ राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको प्राधिरकणले जनाएको छ ।
प्राधिकरणका अनुसार गत कात्तिकमा तीन आयोजना क्रमशः सैती खोला (०.९९ मेगावाट), सोम राधाकृष्ण सोलार (४ मेगावाट) र तल्लो लिखू ( २८.१ मेगावाट) राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् ।
यस्तै, चालु आवको मंसिरमा पनि थप तीन वटा आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो महिनामा ३६ मेगावाटको अपर बलेफी ए, ४.९६ मेगावाटको पुवा–२ र २५ मेगावाटको अपर दोर्दी–१ राष्ट्रिय प्रसारण प्रणालमा थपिएको छ । गत माघमा भने मध्ये मोदी (१५.१ मेगावाट) र मध्यसोलु खोला (९.५ मेगावाट) राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् ।
पछिल्लो समय अर्थात गत फागुन १७ गतेदेखि सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाले पनि व्यवसायिक उत्पादन सुरु गरेको छ । हालसम्म सबैभन्दा ठुलो अर्थात ८६ मेगावाटको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाले पनि व्यापरिक उत्पादन सुरु गरेको हो । साहस उर्जा लिमिटेडले बनाएको सोलुखोला जलविद्युत आयोजना निजी क्षेत्रबाट संचालनमा आएको सबैभन्दा ठुलो आयोजना हो ।
नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठुलो जलविद्युत आयोजना अपर तामाकोशी हो, जसको क्षमता ४५६ मेगावाट रहेको छ । दोस्रो ठुलो आयोजना कालीगण्डकी जलविद्युत ए को क्षमता भने १४४ मेगावाट रहेको छ । तर, यी दुवै आयोजना सरकारी स्वामित्वका आयोजना हुन् ।













