अझै साढे २ करोड बढी नोक्सानीमा मध्ये भोटेकोशी, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी अझै साढे २ करोड रुपैयाँ बढी नोक्सानीमा देखिएको छ । कम्पनीले बिहीवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत वर्षको पुस मसान्तसम्ममा ७७ लाख २ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी २ करोड ६३ लाख ६३ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।
सो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । कम्पनीको संचालन नाफा पनि २ करोड ६४ लाख २५ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८८ पैसा ऋणात्मक देखिएको छ भने प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ७८ पैसा कायम रहेको छ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका (तत्कालिन मार्मिङ र गाती गा. वि. स.) भएर भोटेकोशी नदीको जलसम्पदा प्रयोग गरी १०२ मे.वा. क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको कार्य अगाडि बढाएको छ ।
उक्त आयोजनाका कामहरूलाई मुख्यतः तीन भागमा विभाजन गरी निर्माणको चरणमा लगिएको र सोही अनुसार कार्य अगाडी बढाइएको कम्पनीले जनाएको छ । कम्पनी अन्तर्गत एउटा मात्र आयोजना रहेको र उक्त आयोजना निर्माणको चरणमा रहेको हुनाले खास आम्दानी भएको छैन ।
सेयर जारी गर्दा आएको रकमलाई छोटो अवधिका लागि विभिन्न बैंकहरूमा मुद्दति खाता खोली राखिएकोले सो वापत प्राप्त रकमलाई व्याज आम्दानी र टेण्डर फर्म बिक्री र यस्तै प्रकृतिबाट प्राप्त हुन आएको रकमलाई अन्य आम्दानी अन्तर्गत राखिएको कम्पनीले जनाएको छ ।













